७ वैशाख २०८१ शुक्रबार
समाज

बोलबमका दर्शनार्थी घटे

हलेसीमा दर्शन गर्न आएका दर्शनार्थी। फाइल तस्बिरः नागरिक

खोटाङ– सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मी–कटारी सडक अवरुद्ध हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा बोलबमका दर्शनार्थीको भीड पातलिएको छ।

पूर्वी सहर तथा दक्षिणका तराईलाई जोड्ने घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक बिगारेका कारण हलेसीमा यसअघिका वर्षजस्तो दर्शनार्थीको भीड नलागेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए।

कटारी हुँदै हलेसी आउने दर्शनार्थी सडककै कारण बोलबमको सुरुका दिन आउन नसकेको जनाइएको छ। सडकको अवस्थाका बारेमा जानकारी नहुँदा कतिपय दर्शनार्थी कटारीसम्म आएर फर्किरहेको सुनिएको उनले बताए। बोलबम मेला अवधिमा हलेसीमा जल चढाउनका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन्।

‘तराई र भारतबाट आउने दर्शनार्थीले प्रयोग गर्ने बाटो बिग्रेकाले सदाजस्तो बोलबममा भीड देखिएको छैन,’ कार्यकारी निर्देशक भुजेलले भने, ‘कतिपय दर्शनार्थी कटारीबाटै फर्किरहेका छन् भन्ने सुनिएको छ। बाटो थाहा पाउने दर्शनार्थी बर्दिवासबाट सिन्धुली हुँदै हलेसी आइरहनु भएको छ।’ वर्षाका कारण अधिकांश सडक बिग्रेको सन्देश गएका कारण पनि बोलबमको पहिलो दिन दर्शनार्थीको अपेक्षित उपस्थिति हुन नसकेको हो।

किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा बोलबमको अवसरमा साउनभर आन्तरिक तथा बाह्य दर्शनार्थीको भीड लाग्ने गरेको छ।

प्रकाशित: ६ श्रावण २०७६ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App