८ वैशाख २०८१ शनिबार
समाज

ऐलानी जग्गाबाट पनि लखेटिए सुकुमबासी

घर टहरा भत्काइएपछि हरैया सुकुमबासी बस्ती। तस्बिरः पुष्पराज/नागरिक

हरैया (कैलाली) - हरैया शिविरमा बसेका सुकुमबासीका टहरा तोडफोड गर्दै आएका भाडाका ‘बाउन्सर’ ले ऐलानी जमिनमा बसेका सुकुमबासीलाई पनि लखेटेका छन्। हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिनमा बनाइएका सुकुमबासीका घर भत्काइएका छन्। आफ्नो लालपुर्जा भएको जमिनमा बसेकालाई हटाउन पाउनुपर्ने बताउँदै आएका पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाएका हुन्।

उद्योगपति रणबहादुर शाहबाट कित्ता नम्बर १६७, १६८, १६९, १७०, १७१, १०, २२, २३, २४, २०३, ३७० र ५०० को २३ बिघा पाँच धुर जमिन हाउजिङ प्रालिले खरिद गरे पनि त्योसँगै सटेको सिट नम्बर ०२७–०४१० को कित्ता नम्बर ३ को एक बिघा सात कट्ठा सवा चार धुर जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाइएको छ। उद्योगपति शाहको जमिनसँगै सटेको ऐलानी जमिनबाट पनि आफूहरुलाई लखेटेको बताउँदै स्थानीय गंगाराम नागरीले भने, ‘हामी १५ वर्षदेखि यही ऐलानी जमिनमा बस्दै आएका थियौं, अहिले आएर यहाँबाट पनि हटाइयो।’ आफूहरुलाई साउन ६ गतेसम्म ऐलानी जमिनबाट घरटहरा हटाउन धम्की दिइएको उनले बताए।

सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाएका छन्।

‘तत्कालीन माओवादीले १५ वर्षअघि यहाँ ल्याएर राखेको हो,’ उनले भने, ‘१५ वर्षदेखि ऐलानी जमिनमा बस्दै आएका हामीहरुलाई अहिले आएर गुण्डाहरुले घरै भत्काउन लागे।’ १० दिनदेखि सुकुमबासी शिविर भत्काउन थालेका उनीहरुले आइतबार ऐलानी जमिनमा सुकुमबासीले बनाएका घरटहरा भत्काएको स्थानीय सरु बलायरले बताइन्। ‘ऐलानी जमिन कसैको निजी त हैन, हामी १५ वर्षदेखि यहाँ बस्दै आएका छौं,’ उनले भनिन्, ‘खाली रहेको जमिनमा अहिले आएर आफूहरुको जमिन हो भन्दै हाम्रा घर भत्काउन थाले।’ रुख बोटविरुवा केही नभएको चौरका रुपमा रहेको ऐलानी जमिनमा बनाएकाघर भत्काएर आफूहरूलाई धपाएको उनले बताइन्। ‘बरु सरकारले नबस्नू भनेको भए चित्त बुझाउँथ्यौं,’ उनले भनिन्, ‘गुन्डाहरु आएर नबस्न भन्दै धम्काउँदै जान्छन्, हामी असुरक्षित भयौं।’ ऐलानी जमिनमा बनाइएका घर भत्काइदिएपछि अहिले सडकमा बस्न बाध्य भएको उनले बताइन्। ‘सडक किनारमा पाल टाँगेर बसेका छौं,’ उनले भनिन्, ‘यो बर्खायाममा हामीहरुको बिजोग भयोे।’
‘ऐलानी जमिनमै सुकुमबासी व्यवस्थापन गर्न सकिन्थ्यो’

सुदूरपश्चिमको स्थायी राजधानी घोषणा गरिएको गोदावरी नगरपालिका–६, पूर्वपश्चिम राजमार्गसँगै जोडिएको हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिन रहेको नापी कार्यालय कैलालीको सिट नम्बर ०२७–४१० को नक्सामा देखिएको नापी अधिकृत सुदर्शनसिंह धामीले बताए। शाहबाट २३ बिघा पाँच धुर खरिद गरेको पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले सँगै रहेको ऐलानी जमिनसमेत कब्जा गर्ने प्रयासस्वरुप वर्षौदेखि बस्दै आएका सुकुमबासीलाई ‘बाउन्सर’ लगाएर लखेटेको मोहन वैद्य निकट किसान संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष टंक कोइरालाले बताए। अत्तरियाबाट करिब पाँच किलोमिटर दूरीमा राजमार्गसँग जोडिएको हरैया जमिनको बजार मूल्य महँगो छ। करिब एक बिघा सात कट्ठा सवा चार धुर जमिनको अहिलेको मूल्य ९ करोड बढी हुन्छ। ‘यति महँगो जमिन कब्जा गर्नका लागि प्रालिले त्यहाँ बसेका सुकुमबासीलाई हटाएको हो,’ उनले भने, ‘ऐलानी जमिनबाट सुकुमबासी हटाइनु हुन्न।’ उनका अनुसार ऐलानी जमिनमा मात्रै एक सय बढी परिवार व्यवस्थापन गर्न सकिन्थ्यो। ऐलानी जमिनमा बसेका सुकुमबासीका झुप्रा भत्काएर कानुनको धज्जी उडाउँदै ब्रह्मलुट गरिएको उनी बताउँछन्।

प्रालिका सदस्य शंकर कार्कीले ऐलानी जमिनबारे आफूलाई जानकारी नभएको बताए। ऐलानी जमिन कहाँ छ भन्ने थाहा नभएकाले आफूहरुले सुकुमबासी हटाए पनि उपयोग गर्नेबेला नम्बरी र ऐलानी जमिन छुट्याउने उनले बताए।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले ऐलानी जमिनमा बसेकाहरुलाई अहिले हटाउन नमिल्ने बताए। उनले भने, ‘नहर छेउमा बसेकाहरुलाई जग्गा धनीले हटाउने अधिकार छैन।’ शनिबार मात्रै आफू पनि हरैया क्षेत्रमा पुगेर नहर छेउका बस्ती अवलोकन गरेको उनले बताए। उनले भने, ‘नहर छेउमा बसेकासँग भेटघाट र छलफल गरी म शनिबार मात्रै फर्के।’ ऐलानी जमिनमा बसेका सुकुमबासी हटाएर कब्जा गर्न थालिएको विषयमा छानबिन गरिने प्रजिअ बोहराले बताए। नम्बरी जमिनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यहाँ अहिले कुनै संरचना बनाउन नपाउने उनले बताए। तर, २०६१ सालदेखि ऐलानी जमिनमा बस्दै आएकालाई बाउन्सर लगाएर प्रालिले हटाएको हो।

२०४९ सालतिर दाङका उद्योगी शाहले चिनी कारखाना खोल्ने भनेर हरैयामा सर्वसाधारणबाट २३ बिघा ५ धुर जमिन किनेका थिए। शाहले गेते चिनी कारखानाका नाममा उक्त जमिन किनेका थिए। २०६१ जेठ १३ गते तत्कालीन माओवादीले सो जमिन कब्जा गरी सुदूरपश्चिमका डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका गरिब र विपन्न परिवारलाई ल्याएर बसालेको थियो। आफूहरुलाई तत्कालीन समयमा यहाँका माओवादी नेता लेखराज भट्टले हरैयामा बसालेको बताउँदै स्थानीय सञ्जु चौधरीले भनिन्, ‘सुरुमा १५ सय परिवारलाई ल्याएर माओवादीले नै यहाँ बसालेको हो।’ १५ सय परिवारमध्ये अन्तिम समयसम्म दुई सय परिवार शिविरमै बसेको उनी बताउँछिन्। त्यसमा पनि ५२ जना सहिद परिवार रहेको उनले बताइन्।

उक्त जमिन शाहबाट सस्तो मूल्यमा पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिलाई बिक्री गराउन माओवादीका नेता कालीबहादुर खाम र सुदूरपश्चिमका उच्च तहका नेताले सहयोग गरेको स्रोत बताउँछ। जमिन कब्जा गरेर सुकुमबासी बसाउन, बिक्री गराउन र वर्षौदेखि बसेका सुकुमबासीको घर खाली गराउन माओवादीका नेताको पनि हात रहेको समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा तत्कालीन माओवादीका थारुवान राज्य समिति सदस्य कृष्णबहादुर चौधरी ‘कुन्दन’ ले बताए। ‘प्रहरीको सूचीमा ‘मोस्ट वान्टेड’ रहेका कालीबहादुर खाम ‘विविध’ ले पोखराको दलाललाई ल्याएर त्यो जमिन बिक्री गराएको हो,’ उनले भने, ‘बिक्री गराएपछि माओवादीका सुदूरपश्चिमका नेताले सुकुमबासीलाई हटाएर खाली गराएका हुन्।’ जमिन बिक्री गराउन करिब पाँच करोड र खाली गराउन करिब १० करोड गरेर १५ करोड रुपैयाँको चलखेल भएको स्रोत बताउँछ।

दस दिनदेखि ‘गुन्डाराज’ कायमै
हरैयामा बसेका सुकुमबासीलाई अघिल्लो बिहीबारदेखि हटाउन सुरु भएको ‘गुन्डाराज’ को अभियान आइतबार बेलुकासम्म कायमै छ। हरैया जमिनसँगै रहेको नहरको जमिन र ऐलानी जमिनमा १५ वर्षदेखि बस्दै आएका सुकुमबासीको घर टहरा भत्काउँदै उनीहरुलाई त्यहाँबाट हटाइएको छ। दस दिनदेखि हातमा चक्कु, गैटी बोकेको समूहले सुकुमबासीलाई तर्साउँदै उनीहरुका घर टहरा भत्काउँदै आएको छ।

हरैयाबाट सुकुमबासी हटाइएको घटनाको राष्ट्रिय जनमोर्चा, वैद्य नेतृत्वको माओवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्तिमार्फत विरोध गरेका छन्। मानवअधिकारवादी, कानुन व्यवसायी र नागरिक समाजले पनि बर्खा याममा गुन्डा लगाएर सुकुमबासीलाई हटाउने कार्य कानुन र मानवीयताविपरीत भन्दै विरोध गरेका छन्। सुकुमबासी हटाउन गुन्डा लगाइएको विषयले सुदूरपश्चिम प्रदेशसभा बैठकमा पनि प्रवेश पाएको छ। बैठकमा सांसादहरुले यो विषय उठाउँदै विरोध गरेका हुन्।

प्रकाशित: ६ श्रावण २०७६ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App