८ वैशाख २०८१ शनिबार
समाज

आठ हजारलाई राहदानी, साढे १० हजारलाई नागरिकता

काभ्रे - जिल्ला प्रशासन कार्यालय काभ्रेबाट आर्थिक वर्ष २०७५/७६ मा ८ हजार ३ सय ९७ जनाले राहदानी लिएका छन् । यो संंख्या साधारण दस्तुर पाँच हजार रुपैयाँ तिरेर जिल्लाबाटै राहदानी लिनेहरूको हो । यसबापत कार्यालयले ४ करोड ५६ लाख ६६ हजार राजस्व संकलन गरेको छ । ‘साधारण दस्तुर तिरेर राहदानी लिनेमा पुरुषको बाहुल्य छ । गएको आवमा ४ हजार ५ सय ८० पुरुष र ३ हजार ८ सय १७ महिलाले राहदानी लिएका छन्,’ सूचना अधिकारी एवं सहायक प्रजिअ वसन्तराज पुरीले भने ।

यस्तै द्रुत सेवामार्फत राहदानी विभागबाट राहदानीका लागि सिफारिस लिने काभ्रेलीहरूको संख्या पनि प्रतिमहिना औसत २ सयको हाराहारीमा रहेको राहदानी वितरण शाखाको अभिलेखले देखाएको छ । सो वर्ष कार्यालयबाट द्रुत राहदानीका लागि सिफारिस लिएर जानेहरूको संख्या ३ हजार १ सय ९ रहेको छ । यस्तै आव २०७५/७६ मा सोही कार्यालयबाट १० हजार ६ सय ७४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । यीमध्ये तीन महिलाले वैवाहिक अंगीकृत र बाँकी सबैले वंशजको नाताले प्रमाणपत्र लिएका हुन् । यसरी नयाँ नागरिकता लिनेमा भने महिलाकै बाहुल्य छ । सो वर्ष ५ हजार ४ सय ४० महिला र ५ हजार २ सय ३१ पुरुषले नागरिकताको प्रमाणपत्र लिएका थिए भने ५ हजार २ सय २३ जनाले प्रतिलिपि नागरिकता प्रमाणपत्र लिएका छन् ।

अझै पनि प्रहरीले जिल्ला प्रशासन कार्यालयमै मुद्दा दर्ता गराउन ल्याउने क्रम नघटेको कार्यालयको मुद्दा शाखाको अभिलेखले देखाउँँछ । आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका नयाँ मुद्दा संख्या १ सय ७६ वटा मध्ये १ सय ६० वटा मुद्दा अभद्र व्यवहार शीर्षकमा रहेको छ । नयाँँ मुलुकी संहिता जारी हुनुअगावै प्रहरीले केही सार्वजनिक अपराध शीर्षकमा यस्ता मुद्दा दायर गर्दै आएको थियो । जिल्ला विपद् व्यवस्थापन कोषबाट आव २०७५/७६ मा १६ लाख २० हजार रुपैयाँ राहत वितरणमा खर्च भएको छ । जसमा चट्याङबाट घरमा क्षति पुगेका, आगलागीपीडित र पहिरोपीडित परिवारको राहतमा खर्च भएको पाइन्छ । आव २०७५÷७६ मा कुल ५ करोड ५२ लाख ४ हजार ८ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको लेखा शाखाले जानकारी दिएको छ । यसमा राहदानीबापत ४ करोड ५६ लाख ६६ हजार, प्रशासनिक दण्ड जरिवाना ८७ लाख ६७ हजार ८ सय ९१, अन्य प्रशासनिक सेवा दस्तुरबापत ७ लाख १६ हजार ४ सय, न्यायिक दण्ड जरिवाना ५४ हजार रहेको छ ।

प्रकाशित: ६ श्रावण २०७६ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App