८ वैशाख २०८१ शनिबार
समाज

पानी माग्दै इन्द्रको पूजा !

दुलेगौँडा(तनहुँ)– मुलुकका विभिन्न भुभागमा अत्याधिक बर्षापछिको बाढी पहिरो र डुबानमा परेर ठूलो संख्यामा धनजनको क्षति भएका बेला तनहुँको शेराबेसीमा भने पानी माग्दै भगवान् इन्द्रको पूजा गरिएको छ। 

सेरावेसी र आसपासका फाँटमा पर्याप्त बर्षा नहुँदा पानीकै अभावमा धान रोपाई गर्न नपाएपछि स्थानीयले इन्द्रको पुजा गरेका हुन्।  पानी नहुँदा शुक्लागण्डकी नगरपालिका–१ र २ का फाँटहरुमा यस बर्ष रोपाई हुन सकेको छैन। 

शेरावेशी, ज्यामिरकोटे र सुन्दरी गाउँका अधिकांश खेतमा साउनको पहिलो हप्ता सकिनै लाग्दा समेत रोपाई सुरु नभएको स्थानियहरु बताउँछन्। पानी पर्ने आशामा स्थानीयले आइतबार सामूहिक रुपमा इन्द्र भगवानको पुजा आराधना गर्दै पानी मागेका हुन्।  

‘रोपाई गर्नलाई तयार भएको विउ बुढो भइसक्दा पनि पानी नभएकाले खेत रोप्न पाएका छैनौँ’, स्थानिय एवम इन्द्र पुजाका अनुष्ठानकर्ता ठाकुरप्रसाद खनालले भने, ‘लामो समयसम्म पानी नपर्दा बैदिक विधिद्वारा इन्द्र भगवानको पूजा आरधना गरेमा पानी पर्ने  भएकाले पुजा गरिएको हो।’ 

उनका अनुसार पानी नपर्दा यस क्षेत्रका झण्डै दुई सय रोपनी क्षेत्रफलमा रोपाई गरिएको छैन। ‘अत्यन्तै राम्रो धान फल्ने खेत अहिलेसम्म पनि बाँझै छ’, उनले भने। लामो समयसम्म खडेरी परेको बेला इन्द्रको पूजा गरी पानी माग्ने प्राचीन प्रचलन अनुसरा सबै स्थानीयवासी मिलेर पूजा गरी पानी मागेको उनको भनाई छ। उनका अनुसार बैदिक विधिद्वारा हवन कर्मसहित इन्द्रको पूजा गरी पानी मागिएको हो। 

लामो समय पानी नपरी खडेरी पर्दा २०४४ साल बैशाखमा सेरावेसीमा इन्द्रको पूजा गरिएको शेरावेसी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पन्थीले जानकारी दिए। ‘त्यसयता अहिलेसम्म पानी नपरेकै कारण खेत बाँझो राख्नुपर्ने अवस्था आएको थिएन्’, ५८ बर्षीय पन्थीले अनुभव सुनाउँदै भने, ‘यस बर्ष फेरि पर्याप्त पानी परेन्।’

नेपालको चेरापुञ्जीको रुपमा चिनिने पोखरा र आसपासका क्षेत्रमा पर्याप्त पानीको अभावमा यस बर्ष रोपाइँ गर्न किसानलाई कठिन भएको छ। मुल फुट्ने गरी पानी पर्ने पर्खाइमा किसानहरु छन्। पानी नपाएपछि खेत बाँझै राख्नुपर्दा किसानहरु चिन्तित बनेका छन्। उत्पादनका लागि उर्बर ठानिएको शेरावेसी आसपासको क्षेत्रमा धान लगायतका अन्नवाली लगाइन्छ। ‘उत्पादन राम्रो हुने भएपनि पानी नपरेकाले यो बर्ष धान रोपाईसंगै वाली लगाउन पाइएन्’, पन्थीले भने।

गण्डकी प्रदेशमा कूल एक लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको गण्डकी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले बताए। प्रदेशभर असार मसान्तसम्म ६० प्रतिशतको हाराहारीमा रोपाई सम्पन्न भएको छ। गण्डकीका ११ जिल्लामध्ये हिमाली जिल्ला मनाङ र मुस्ताङमा खासै रोपाई गरेको पाइँदैन्।

प्रकाशित: ५ श्रावण २०७६ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App