१६ चैत्र २०८० शुक्रबार
समाज

राष्ट्रिय सभाको टोलीद्वारा रौतहटको बाढी प्रभावित क्षेत्रकाे अनुगमन

बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर राहत र उद्धारको अवस्थाबारे जानकारी लिदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितको संसदीय टोली।

रौतहट– रौतहटको विभिन्न बाढीबाट प्रभावित क्षेत्रहरुमा राष्ट्रिय सभाका अध्यक्ष सहित पाँच सदस्यीय संसदीय टोलीले स्थलगत निरीक्षण गरेको छ। बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीमा डुवेर  जिल्लाभरीमा १६ जनाको मृत्यु भएको छ र दुई जना वेपत्ता छन्।

बाढीको कारण जिल्लाका ८० प्रतिशत भुभाग डुवानमा परी हजारौं विस्थापित भए। करोडौंको माछापोखरी, तरकारी, फलफुल, उखु, धान, पशु चौपाया लगायतका क्षेत्रमा ठुलो नोक्सानी भएको यस क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय संसदिय टोली रौतहट आएका हुन्।

बाढी प्रभावितको अवस्थाबारे जानकारी लिन आएको तिमिल्सिना नेतृत्वको टोलीमा सांसद खिमलाल भटराई, सरिता प्रसाई, वृषेशचन्द्र लाल र प्रमिला कुमारी थिए।
 
वागमती र लाल बकैया नदीमा आएको बाढीले दुवै नदीले बगाएको तटबन्ध, विभिन्न प्रभावित क्षेत्रका साथै सदरमुकाम गौर नगरपालिका डुवानको मुख्य कारण नेपाल भारत सीमाक्षेत्रमा भारतीय पक्षले बनाएको बाँधको समेत निरीक्षण गरेका छन्। निरीक्षण पश्चात टोलीले जिल्ला समन्वय समिति गौरको सभाहलमा स्थानीय तहका निर्वाचित प्रतिनिधिका साथै विभिन्न पक्षसँग राय सुझावसमेत लिएका छन्। राय सुझाव संकलन कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले राहत र उद्धारका विषयमा छलफल गर्दै अब आउने संभावित बाढीको जोखिमबाटसमेत कसरी जोगिने भन्ने विषयमा नेपाल सरकार समक्ष पेश गर्न हामी रौतहट आएको बताए।

वर्षेनी आइरहेको बाढी र डुवानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न संघीय, प्रदेश र स्थानीय सरकारले एक आपसमा समन्वयकारी भुमिका खेल्नु पर्नेमा जोड दिँदै तिमिल्सिनाले दलगत  एवं व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर बाढी पीडितहरुको सेवामा सबै दल एकजुट हुन आवश्यक रहेको बताए। दैवी विपतको चपेटामा परेको बेला यो पार्टी, त्यो पार्टी गर्ने अवस्था नरहेको भन्दै विपतको समयमा एकताबद्ध भएर बाढीपीडितको घाउमा मलम लगाउन आवश्यक रहेको बताए।

‘वागमती, लालबकैया नदीको बाँधलाई स्तरोन्नती गरेर अग्लो र चौंडा गरेको, झाझ खोलामा दुई तर्फी बाँध बनाउनु पर्ने चाँदी र हर्दिया खोलालाई व्यवस्थित बनाई जिल्लाका साना साना खोलाहरुलाई समयमै धार परिवर्तन गरेर निगरानीमा राखेको भए आज यस्तो अवस्था सृजना हुने थिएन’ रौतहट क्षेत्र नम्बर ४ का संघिय साँसद देवि तिमल्सिनाले भने। चुरे क्षेत्रको जथाभावी  उत्खनन्, अव्यवस्थित रुपमा मेशिनको प्रयोग गरेर खोलाजन्य बस्तु निकाल्लेर दोहन जस्ता कार्यका कारण रौतहटमा बढदो बाढीको जोखिम बढेकोमा उनलेले चिन्ता व्यक्त गरे।

प्रकाशित: ५ श्रावण २०७६ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App