२८ असार २०७७ आइतबार
समाज

सुक्खाबाट बच्न वर्षाको पानी सञ्चित गनुपर्ने

काठमाडौं - हिउँदको बेला उपत्यकावासी ट्यांकरकै पानीमा निर्भर रहन्छन््। भएका ढुंगेधारा, इनार, पोखरी र खोला सुक्छन्। खानेपानीका पुराना स्रोत सुकेपछि नयाँ प्रविधिको सहयोगमा हिउँदमा गहिरो ‘डिप बोरिङ’ गरेर पानी तान्ने गरिन्छ। इनारमा पानी सुक्न थालेपछि राजधानी उपत्यकामा डिप बोरिङ बाध्यकारी बन्दै गएको छ।

व्यवसायिक भवन, निजी घर तथा सरकारी कार्यालयहरुले उपत्यकामा हजारौं फिट गहिराइमा पुगेर पानी तान्दा पर्यावरणमा गम्भीर असर पर्ने विज्ञहरु बताउँछन्। जलाधारविद् मधुकर उपाध्याले विगतमा सामान्य इनारबाट झिक्न सकिने पानी अहिले हदै गहिराइमा पुगेर बोरिङ गर्न थालिएको बताए। ‘हाल हामीले बोरिङ गरेर निकालेको पानी नयाँ होइन। यो धेरै वर्ष पहिले जमिनमुनी सञ्चित पानी हो। इनारले पानी नभेट्ने भएपछि अझ ‘एक तह’ गहिरो पारेर बोरिङमाफर्त पानी तानिन्छ,’ उनले भने, ‘बोरिङमार्फत पानी तान्नु जमिन र हाम्रो लागि घाटाको विषय हो,’ उनले भने। उनले जमिनको तहतहमा पानी जम्मा भएर बसेको हुँदा धेरै गहिराइसम्म पुगेर पानी तान्दा जमिन भासिने डर हुने बताए।

उपाध्याले इनार, पोखरी र पहिले ज्यादै प्रचलनमा रहेको खानेपानीको स्रोत ढुंगेधारामा पानी आउने तरिका र उपाय बताए। ‘पुराना खानेपानीको स्रोतहरुमा पानी आउने स्थिति सिर्जना गर्न धेरै गाह्रो छैन। हरेक घरधनीले आफ्नो छत वा आँगनको पानी जमिनमुनी पठाउन सक्छन्,’ उनले सुनाए, ‘त्यसको लागि सानासाना खाल्डा खन्ने वा मंगाल बनाउन सकिन्छ।’ विज्ञहरुका अनुसार उपत्यकाभित्र सबैतिर कंक्रिटका भनव भरिँदै गएपछि जमिन टालिएका कारण जमिनले पानी सोस्न पाउँदैन। जमिनले पानी सोस्न नपाएपछि हिउँदको बेला ढुंगेधारा र इनारजस्ता स्रोतमा पानी आउँदैन र जमिन सुक्खा हुँदै जान्छ।

वनस्पतिविद् डा. तीर्थवहादुर श्रेष्ठले उपत्यकामा खाली ठाउँ नभएको र सबैतिर सिमेन्टले टालिएका कारण जमिनले पर्याप्त रुपमा वर्षातको पानी सोस्न नपाएको बताए। उनका अनुसार जमिनले पानी सोस्न नपाएपछि त्यसको असर वनस्पतिमा मात्रै नभएर मानिसलाई पनि परेको छ। वर्षातको बेला अत्याधिक वर्षात भए पनि जमिनमा पानी कम हुँदै जानु असामान्य मानिन्छ। ‘यदी वर्खाको पानी जमिनमा पठाउन सकियो भने त्यो पानीले हिउँदको बेला प्यास मेटाउन सकिन्छ, यदी यही ढंगले अघि बढियो भने उपत्यकामा खानेपानीको अझ हाहाकार बढ्दै जान्छ,’ उनले भने।

जलाधारविद् उपाध्याका अनुसार मनसुन भित्रिएपछि पानी परेको केही क्षणको भारी वर्षाले पूरै सहर जलमग्न पारिदिन्छ। तर, त्यो पानी खोलामार्फत बगेर जान्छ, माटोले सोस्नै पाउँदैन। उपाध्याले यो विषय संसारका विकसित देशहरुको लागि पनि चुनौतीपूर्ण भइसकेको बताए। ‘यसबार हामीले मात्रै होइन, संसारका अरु देशले पनि सोच्न र योजना बनाउन सकिरहेका छैनन्। यदी वर्षाको पानी जमिनले सोस्न पाएन र भित्रैसम्म भिज्न पाएन भने सबैतिर त्यसको गम्भीर असर पर्न सक्छ,’ उनले भने, ‘त्यसकारण सोच्नै पर्छ।’

जलविद् तथा त्रिवी सह–प्रध्यापक डा. मोतिलाल रिजालले वर्षातको पानीलाई जमिनमा पुनर्भरण गर्नुपर्ने जानकारी दिए। उनका अनुसार काठमाडौंमा जमिनमुनिको पानी धेरै तानेर जमिनमुनी सुक्खा भइरहेको छ। प्लटिङ र मरुभूमीकरणले जमिन क्रमशः सुकाउँदै गएको हो। ‘यदी प्राकृतिक रुपमा नै पानीले जमिनको साथ पाउन सक्यो भने त्यो राम्रै हुन्छ। त्यसतर्फ ध्यान नदिने र धेरै गहिरो पारेर पानी तान्न थालियो भने अर्को प्राकृतिक विनास आउन सक्छ,’ उनले भने।

रिजालका अनुसार जमिनमुनीको उपल्लो सहतमा पानी राख्न पोखरी, मंगाल र खानी जमिनको आवश्वक पर्छ। यी तरिका अपनाएर जमिन भिजाउन सकियो भने इनार र पोखरी सुक्दैनन्। ‘वर्षात्को पानी सोझै खोला वा नालीको टुँडमा मिसिन्छ र बगेर जान्छ। सोझै खोलामा मिमिसर बग्ने पानी कतै ‘होल्ड’ हुन पाउँदैन। त्यसैले जमिन सधैं सुक्खा नै रहन्छ,’ उनले भने, ‘काठमाडौंमा वर्षाको बेला पानीको छेलोखेलो भए पनि हिउँदमा भने निकै हाहाकार र सुक्खा हुने कारण नै यही हो।’ रिजालले पानीका स्रोत जोगाउने र जमिनलाई चिसो राख्ने विषयमा कुनै नीतिगत अभ्यासको आवश्यक रहेको बताए।

भू–संरक्षण विभागका पूर्व महानिर्देशक केशरमान स्थापितले पनि उपत्यकाको जमिनको पानी क्रमशः रितिँदै गएको बताए। ‘हामीकहाँ जलाधार व्यवस्थापन राम्रो भएन। सरकारी निकायले पनि यस विषयमा त्यति चासो दिएन,’ उनले भने, ‘वर्षातको पानी एटिएम मेसिन जस्तै हो। हामीले वर्षातको बेला पानी जम्मा गरेका छौं भने हिउँदको बेला एटिएम मेसिनबाट पैसा निकालेजस्तै पानी तान्न सक्छौं।’ उनका अनुसार हामीले विकास गर्दा पानी सोस्न र जमिन सिँचाइ गर्ने खाली ठाउँ नराखेका कारण पनि पानीको समस्या हुन थालेको हो।

प्रकाशित: ५ श्रावण २०७६ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App