८ वैशाख २०८१ शनिबार
समाज

बिरामी बोकेर पहिरैपहिरो

ललितपुरको दक्षिणी भेगमा पर्ने बाग्मती गाउँपालिका–३ भालुखोलाका स्थानीय बिरामी बोकेर अस्पताल लाग्दै। तस्बिरः नागरिक

ललितपुर– राजधानी उपत्यकालाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो सकडखण्ड कान्ति लोकपथ निर्माणका क्रममा ललितपुरको पहाडी भेग छियाछिया भएको छ। हिउँदमा चौडा पारिएको सडकमा अहिले जताततै पहिरो गइरहेको छ। सडक निर्माणका क्रममा स्थानीयले प्रयोग गर्ने गोरेटो बाटोसमेत पुरिएको छ।

सडक पुरिँदा बुधबार र बिहीबार बाग्मती गाउँपालिका–३ स्थित भालुखोलाका स्थानीयले पहिरोबाटै भए पनि बिरामी बोकेर भट्टेडाँडास्थित स्थास्थ्य चौकीमा आए। लगातारको वर्षाका कारण सडक भत्किएपछि उनीहरु उपचार गराउन पहिरैपहिरो अस्पतालतर्फ उक्लिएका हुन्। भएको गोरेटो बाटो पनि पुरिँदा भीरैभीर पैदल हिँड्न बाध्य भएको स्थानीय बताउँछन्। ‘सडक चौडा मात्रै पारेर के गर्नु सबैतिर पहिरै मात्रै छ,’ स्थानीय दीपक लामाले भने, ‘सडक निर्माण गर्दा ठूल्ठूलो पहाड उधिनिएका कारण बर्खाको बेला दक्षिण ललितपुरदेखि आवतजावत गर्न कठिन परिहरहेको छ, झरी परेको बेला उपचारसमेत नपाइएला भन्ने डर हुन्छ।’ उनका अनुसार वर्षात् सुरु भएपछि दक्षिण ललितपुरमा उत्पादन हुने तरकारी र दूध बजारसम्म ल्याउन कठिन हुने गरेको छ। स्थानीयले पानी नपरेको मौका छोपी कान्तिलोकपथसम्म बोकेर ल्याउँछन् र त्यहीँबाट भ्यानमा राखेर सदरमुकामसम्म ल्याउन गरिएको छ। हिजोआज सडक अवरुद्ध भएपछि एम्बुलेन्स र अन्य अत्यावश्यक सामग्री बोक्ने सवारी ठप्प छन्।

गत साता बिहीबार र शुक्रबार आएको बाढीमा प्रभावित स्थानीयलाई राहत सामग्री बाँड्न र बिरामी परेकालाई अस्पताल लैजानसमेत असहज हुने गरेको बाग्मती गाउँपालिकाका–५ वडाध्यक्ष साजन दलार्मी मगरले जानकारी दिए। उनका अनुसार अहिले बाग्मती गाउँपालिका हुँदै निर्माण गरिएको कान्तिलोकपथ सडकले साना र गोरेटो सडक पुरेको छ। कान्तिलोकपथमा पनि भेलबाढी र भित्तो खसेर सवारी आवतजावत गर्ने स्थिति छैन। ‘गाउँतिरको अवस्था विजोग छ। जनताले वडाध्यक्षले केही गरेन भनेर सराप्छन्। वडाध्यक्षले सबैतिर व्यवस्थापन गर्न सक्दैन, गाउँपालिकाले दिएको बजेट पनि वितरणमुखी छ, गाउँपालिकाले वडाहरुको समस्यालाई नजरअन्दाज गरेको छ,’ उनले सुनाए। उनले हेलिकोप्टरमार्फत बाग्मती गाउँपालिकाको भालुखोलामा राहत साम्रगी लैजाने तयारी भएको जानकारी दिए। ‘ठोस्ने र खानीखोला गरी यो क्षेत्रमा दुईवटा खोला छन्। यी खोलामा पनि पुल छैनन्। वर्षात्को बेलामा तर्नसक्ने अवस्था हुन्न,’ उनले सुनाए, ‘अझ गाउँले किसानहरु त चार महिनासम्म सहर जानै सक्दैनन्।’ वर्षाका कारण सवारीसाधन नचल्दा दक्षिण ललितपुरबासीले पाँच, छ घण्टा बिरामी बोकेर सदरमुकाम ल्याउन बाध्य भएको उनको भनाइ छ।

बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्तिलोकपथ ठूलो सडकखण्ड भएको सुरुसुरुमा पहिरो गइरहेको जानकारी दिए। उनले गाउँपालिकाकै म्यान प्रयोग गरेर भए पनि बिरामीलाई अस्पतालसम्म पु¥याएको बताए। ‘अहिले सुविधासम्पन्न स्वास्थ्य चौकी भट्टेडाँडास्थित बाग्मती गाउँपालिकाको कार्यालयसँगै बनेको छ। सामान्य बिरामीलाई त्यही उपचार गराउँछौं। यदी कोही गम्भीर बिरामी वा गाउँमा उपचार हुने अवस्था छैन भने गाउँपालिकाको गाडीमै राखेर पाटन अस्पतालसम्म पु-याउने गरेका छौं,’ उनले भने। उनले यस क्षेत्रमा वर्षात्को बेला पाँच घण्टासम्मको बाटो हिँडेर उपचारको लागि बिरामी ल्याउने गरिएको बताए।

प्रकाशित: ३ श्रावण २०७६ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App