coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विपदको प्रकोप : तीन तहको आ–आफ्नै तयारी

रुपन्देही– प्रदेश ५ मा तीन तहका सरकारले आ आफ्नै ढंगले विपदको सामना गर्ने तयारीमा जुटेका छन्। प्रदेश, संघीय र स्थानीय तहहरुले आफ्नै ढंगले विपदका बेला राहात र उद्धारको तयारीमा  जुटेका हुन्। विपदलाई व्यवस्थापन गर्न आन्तरीक मामिला मन्त्रालयले प्रादेशिक सूचना केन्द्र स्थापना गरेर तयारीमा जुटेको जनाएको छ। तराई पहाड र एक हिमाली जिल्ला समेत रहेको प्रदेश ५ मा सबै प्रकारका विपदको जोखिममा छ। तराईका ६ जिल्ला रुपन्देही, कपिलबस्तु, पश्चिम नवलपरासी, दाङ, बाँके र बर्दियामा बाढी तथा डुबानको जोखिम छ पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र हिमाली जिल्ला रुकुम पूर्वमा पहिरो, भूक्षय जस्ता जोखिम छ।  

बर्षायाम शुरु भएपछि सबैभन्दा बढि जोखिम हुने भएकाले मन्त्रालयले १२ वटै जिल्ला प्रशासन कार्यालयलाई पूर्व सूचना प्रणालीका लागि अख्तियारी दिएको सूचना अधिकारी नारायण अर्यालले बताए। उनका अनुसार प्रदेश सरकारले ४ लाख ५० हजारमा २ सय भन्दा बढि त्रिपाल खरिद गरेको छ। १२ वटै जिल्लालाई त्यहाँको जोखिमको अवस्था हेरेर न्यूनतम ६ लाख देखि २० लाखका दरले विपद व्यवस्थापनका लागि बजेट दिइएको मन्त्रालयले जनाएको छ। यसैगरि विपदका सामाग्री खरिदका लागि प्रदेश प्रहरी कार्यालय सहित १२ वटा जिल्ला प्रहरी कार्यालयलाई ५÷५ लाखका दरले सामान खरिद गर्न रकम दिएको सूचना अधिकारी अर्यालले बताए। 

प्रदेश सरकारले निर्देशिका बनाएर राहातको मापदण्ड बनाएको छ। विपदबाट परिवारले आवासका रुपमा प्रयोग गर्दै आएको घर नष्ट भएकोमा बढीमा ४० हजार रुपैयाँ सम्म राहत वापत दिन सक्ने छ। यसैगरि विपदमा परेकाहरुलाई न्यूनतम १० हजारदेखि मृतक परिवारलाई एक लाख रुपैयाँसम्म राहात दिन सक्ने गरि निर्देशिका बनाएको छ। विपदका बेलामा खटिनका लागि प्रहरी पनि तयारी अवस्थामा रहेको  प्रदेश ५ का प्रहरी प्रवत्ता डिएसपी नवराज पोखरेलले बताए। उनले उद्धारका सामाग्री सहित १२ वटै जिल्लाका प्रहरी यूनिट खटाउने गरि तयारी गरिएको बताए। उनले दाङ तुल्सीपुरमा रहेको विपद व्यवस्थापन गुल्मका ७२ जना बिशेष जनशक्ति सहित शसस्त्र र दंगा प्रहरीलाई समेत खटाइने बताए। लाइफ ज्याकेट, त्रिपाल, रवर बोर्ट, टर्चलाईट, फायर एड किट खरिद गरेर राखिइएको छ। 

स्थानीय तहले पनि विपदको सामना गर्नका लागि तयारी गरेको जनाएका छन्। बुटवल उपमहानगरले पाल्पामा पानीको वहाव देखिने वित्तिकै बुटवलमा सूचना गर्ने र बस्तीहरुमा सजग गराउने गरि संयन्त्र तयार पारेको छ। बुटवलमा तिनाउ नदी किनारका बस्ती बाढीको जोखिममा रहेकाले सूचना प्रणाली व्यवस्थित गराइएको उपप्रमुख गोमा आचार्यले बताइन्। 

प्रकाशित: २ श्रावण २०७६ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App