१६ चैत्र २०८० शुक्रबार
समाज

गाउँपालिकाद्वारा १९ सुकुमबासीलाई जग्गा

दोलखा - तामाकोशी गाउँका १९ सुकुमबासी परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको छ। भूकम्पपछि जग्गा नभएकाले घर बनाउन नसकेका ती परिवारलाई गाउँपालिकाले जग्गा किनिदिएको हो। गाउँपालिकाको १ देखि ४ नम्बर वडासम्ममा १९ सुकुमबासी परिवार रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

शनिबार गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा ती परिवारका सदस्यलाई गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले लालपुर्जा वितरण गरेका हुन्। पोखरेलका अनुसार अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रमभित्र तीन पुस्तादेखि जग्गाविहीन बनेका परिवारलाई आफू बसेकै वरपरको जग्गा किनिदिने योजनाअनुसार गाउँपालिकाले जग्गा खरिद गरिदिएको हो। सुकुकबासी परिवारलाई जग्गा खरिद गर्न गाउँपालिकाले डेढ लाख रुपैयाँ अनुदान दिएको थियो।

अनुदान पाउनेमा पुस्तौंदेखि अर्काको जमिनमा घर बनाएर बसेकाहरू छन्। गाउँ कार्यपालिकाका प्रमुख कार्यकारी अधिकृत विज्ञान कोइरालाका अनुसार सबैभन्दा बढी वडा नम्बर ३ जफेका १० परिवारले लालपुर्जा पाएका छन्। यस्तै वडा नम्बर १ को भिरकोटका सात परिवार, वडा नम्बर २ झुलेको एक परिवार र वडा नम्बर ४ मालुको एक परिवारलाई जग्गा खरिद गरेबापतको डेढ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।

लालपुर्जा पाउनेमा भिरकोटका प्रेमबहादुर तामाङ, श्याम सुनुवार, पूर्णबहादुर तामाङ, शान्ता तामाङ, सन्देश तामाङ, मंगलसिंह तामाङ र मिङमार लामाका परिवार रहेका छन्। यस्तै झुलेका भीमबहादुर भुजेल र जफेका चाउरे महत, रिता खत्री, जितबहादुर खत्री, विन्दा सार्की, दीपेश बसेल, भक्तबहादुर भुजेल, राजु खत्री, सुन्दरी सार्की, मीनबहादुर सार्की र रामप्रसाद पोखरेल र मालु गाउँबाट ज्ञानु रोकाको परिवारले समेत जग्गा खरिदबापतको अनुदान पाएका छन्। जग्गा खरिद भएपछि पुनर्निर्माण प्राधिकरणमार्फत समेत लाभग्राही सूचीमा परेका परिवारलाई घर बनाउन बाटो खुल्ने गाउँपालिका अध्यक्ष पोखरेलले बताए।

कृषकलाई समेत अनुदान
गाउँपालिकाले ७ ओटै वडामा व्यावसायिक कृषि खेती गर्दै आएका कृषकलाई समेत कृषि अनुदान वितरण गरेको छ। शनिबार अनुदान वितरण गर्दै अध्यक्ष पोखरेलले जीवननिर्वाहमुखी कृषि खेती गर्दै आएका नागरिकलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले गाउँसभामार्फत नीति तथा कार्यक्रमभित्र समेटी अनुदान वितरण सुरु गरिएको सुनाए। अनुदान पाउने कृषक छनोट गर्न गाउँपालिकाले गठन गरेको समितिको अनुगमन, मापदण्डभित्र पर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App