२९ असार २०७७ सोमबार
समाज

डुबेर बालकको मृत्यु

वीरगन्ज – पर्सामा बाढीमा डुबेर पुनः एक बालकको मृत्यु भएको छ। यसअघि पनि १४ वर्षमुनिका दुई बालकको बाढीमा डुबेर मृत्यु भएको थियो। तीन बालक र एकजना वयस्क गरी बगेर र डुबेर मृत्यु हुनेको संख्या पर्सामा चार पुगेको छ। मंगलबार खेतमा धान रोप्न गएकी आमालाई पछ्याउँदै गएका वीरगन्ज वडानम्बर २८ घर भएका कृष्णा ठाकुरका पाँच वर्षीय छोरा अकलेश ठाकुरको भेंडहा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसअघि ज्यान गुमाएका दुई बालकमध्ये पार्सागढी–१ मनवास्थित खोलाले बगाएर १० वर्षीय निखिल पटेलको गत शुक्रबार मृत्यु भएको थियो। त्यस्तै वीरगन्ज–१८ भवानीपुर घर भई हाल वीरगन्ज–२३ रामगढवा टोल बस्ने रामनारायण पटेलका छोरा करिब वर्ष १४ का अनीष पटेल शनिबार बाढीमा बगेर हराएका थिए। उनको शव आइतबार बजरंग सिनेमा हलनजिक खेतमा हिलोमा लतपतिएको अवस्थामा फेला परेको थियो।

त्यस्तै गत सोमबार बिहान वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका ५० वर्षीय दुर्गा साह तुराहा मृत भेटिएका छन्। उनी आइतबार राति घरनजिकै पिसाब फेर्न निस्केको बेला सिर्सिया नदीमा खसेर हराएका थिए। उनको शव सोमबार बिहान सिर्सिया नदीमै भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

 

प्रकाशित: २ श्रावण २०७६ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App