२० असार २०७७ शनिबार
समाज

तिलोत्तमामा प्लाष्टिक झोला निषेधित

प्लाष्टिक झाेला निषेधित नगरपालिका घाेषणा कार्यक्रम । तस्बिरः नागरिक

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित नगर घोषणा गरिएको छ। बुधबार प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिसहित सहभागीहरूलाई प्लाष्टिक झोला प्रयोग नगर्ने संकल्प गराए।

नगरपालिकाले २०७५ वैशाख १ गतेबाट प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको थियो। प्लाष्टिक झोलासँगै नगरपालिकाले प्लाष्टिकका कप, प्लेट, चम्चा पनि निषेध गरेको छ। प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पारेकाले न्यूनीकरणको अभियान स्वरुप प्लाष्टिकका झोला, कप, चम्चा र प्लेटको बिक्री—वितरण, प्रयोग, आयात, निर्यातलाई निषेध गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए।

नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट वा अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला तथा वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको छ।

सांसद भुसालले प्लाष्टिक निषेधित अभियान राष्ट्रिय महत्वको विषय भएको बताए। तिलोत्तमाबाट सुरु भएको अभियानको अनुशरण अरु पालिकाहरूले पनि गर्नुपर्नेमा उनले जोड दिए।

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले अभियान चलाइएसँगै प्लाष्टिक झोलाको प्रयोगमा कमी आएको बताए।

प्रकाशित: १ श्रावण २०७६ १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App