१५ चैत्र २०८० बिहीबार
समाज

एक सातादेखि मध्यपहाडी राजमार्ग  बन्द

सिन्धुली– बाढी र पहिरोको चपेटामा परेको मध्यपहाडी राजमार्ग एक साता वितिसक्दा पनि खुल्न सकेको छैन। गत असार २६ गतेदेखि अवरुद्ध राजमार्ग हालसम्म पनि खुल्न नसकेको स्थानीयले बताएका छन्। 

राजमार्गको विभिन्न स्थानमा ठूला पहिरो जाँदा हालसम्म राजमार्ग खुलाउन नसकिएको स्थानीय बताउँछन्। गत असार २४ गते बेलुकादेखि सोमबारसम्म परेको अविरल बर्षाका कारण मध्यपहाडी राजमार्गको ठाँउ ठाँउमा ठुला पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध हुँदा खोटाङ ओखलढुंगा, सोलुखुम्बु लगायतका पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै आवातजावत गर्ने सवारीका साधन चलेका छैनन्। सवारी नचलेपछि यात्रुहरु हिँडेरै यात्रा गर्न बाध्य भएका छन्। मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी खण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेको र हालसम्म खुल्न नसकेको स्थानीय गौरब कार्कीले जानकारी दिए। उनका अनुसार मध्यपहाडी राजमार्गस्थित हैबार नजिकैको अक्करे भिरमा गएको पहिरो दुई दिन लगाएर बल्ल पन्छाइएको छ। खुर्कोटबाट करिब १७ किलोमिटरसम्म पहिरो पन्छाउने काम भएपनि राजमार्ग एकतर्फी रुपमा खुलाउन अझै दुई दिन लाग्न सक्ने स्थानीयको बुझाई छ। अविरल बर्षाले मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिका वडा नं. २ वितिजोर खोलाको पुलमा क्षति पु¥याएपछि उक्त स्थानमा राजमार्ग ड्राइभर्सन गर्नुपर्ने अवस्था रहेको वडा अध्यक्ष दौलत कार्कीले जानकारी दिए। ‘पुलको एक भाग पूर्ण रुपमा क्षति भएको छ’, उनले भने, ‘एक साइडको पिल्लरको भित्रपट्टी बाढीले खोलेपछि राजमार्ग र पुलनै छुट्टीएर सम्बन्ध विच्छेद भएकाले ड्राइभर्सन गर्नुपर्ने भएको हो।’ उनका अनुसार खोलाबाट सडक ड्राइभर्सन गर्ने तयारी भइरहेको छ। पुल बनाउन केही समय अझै लाग्छ। 

खुर्कोट घुर्मी खण्डको ६० किलोमिटर भित्र विभिन्न स्थानमा ठूला तथा साना पहिरो गएपछि स्थानीय जनप्रतिनिधिसहित सडक विभागले राजमार्ग खोल्न निरन्तर प्रयास जारी राखे पनि एक सातादेखि नै राजमार्ग बन्द रहेको स्थानीय बताउँछन्। गत असार २६ गते अविरल बर्षाका कारण मध्यपहाडी राजमार्गमा माथिबाट पहिरो खस्दा दुई गाडी पुरिएका थिए। 

घुर्मीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३७६४ नम्बरको सुमो फिक्कल गाँउपालिकास्थित सोखुखोलामा आएको बाढिको लेदोमा पुरिएको थियो। यस्तै फिक्कल गाउँपालिकाकै बादरेखोलामा आएको बाढी र लेदोका कारण एउटा ट्रक पुर्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि पुर्ण रुपमा राजमार्ग बन्द भएको थियो। ‘गाउँपालिकाको डोजर लगाएर केही स्थानमा पहिरो पन्छाउने काम भएको छ’, फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले भनिन्, ‘सोखुखोला, नवलपुर, पञ्चकन्या लगायतका स्थानमा खसेको ठुला पहिरोका कारण राजमार्ग अझै खुलेको छैन, अब छ्ट्टिै खुलाउने कोशिस गर्दै छौं।’

पहिरो पन्छाउन चार दिनदेखि निरन्तर प्रयास भइरहेको उनले जनाइन्। ‘बर्षा रोकिनेवित्तिकै हामीले पहिरो पन्छाउन थालेका हौ, उनले भनिन्, बर्षा थपिएसँगै पहिरो पनि थपियो, बर्षा रोकिए अबको दुई दिनभित्र पुर्ण रुपमा सुचारु हुन्छ। घुर्मीबाट फिक्कल गाउँपालिकामा पर्ने राजमार्गसम्म आउने क्षेत्रमा समेत धेरै स्थानमा पहिरो भएको स्थानीयले जनाएका छन्। 

‘मध्यपहाडी राजमार्ग अझै खुलेको छैन’, जिल्ला ट्रफिक प्रहरी प्रमुख सई विष्णु बस्नेतले भने, ‘खुलाउने प्रयास भइरहेको छ, तर अझै खुलेको छैन।’ लगातारको बर्षाले मध्यपहाडी राजमार्ग र विपी राजमार्ग क्षतविक्षत भएको थियो। विपी राजमार्गमा भने पहिरो पन्छाएर एकतर्फी सवार सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App