coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक ठप्प हुँदा बिरामी हेलिकोप्टर चार्टर गर्न बाध्य

बिरामी हस्तकला राईलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिँदै। तस्बिर ः दमन÷नागरिक

खोटाङ - पहिरोका कारण राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुँदा खोटाङका बिरामी हेलिकोप्टर चार्टर गरी अस्पताल जान बाध्य बनेका छन्। वर्षा र पहिरोका कारण खोटाङबाट सहर पुग्ने सडक अवरुद्ध हुँदा जिल्ला अस्पतालले रेफर गरेका बिरामी महँगो शुल्क तिरेर हेलिकोप्टर प्रयोग गर्न बाध्य भएका हुन्। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम, दिक्तेल–काठमाडौं, दिक्तेल–कटारीलगायत सडक शुक्रबारदेखि ठप्प छन्।

जिल्ला अस्पतालबाट थप उपचारका लागि रेफर भएकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ६५ वर्षीय हस्तकला राई मंगलबार हेलिकोप्टरबाट काठमाडौं लगिएकी छन्। प्रेसरले ढलेकी राईलाई सोमबार दिक्तेल अस्पतालमा भर्ना गरिएको थियो। तर सघन उपचारको आवश्यकता देखिएपछि उनलाई अस्पतालले रेफर ग¥यो। रेफर गरिए पनि एम्बुलेन्स वा अन्य गाडीमार्फत अन्यत्र अस्पताल लैजान सक्ने अवस्था थिएन। मंगलबार राति आठ बजे क्यानाडा उडानका लागि सेड्युल भएका सोल्माकै हेमन्त राईले दुई लाखमा हेलिकोप्टर चार्टर गरेपछि हस्तकलाले पनि अस्पताल पुग्ने मौका पाइन्। स्वास्थ्यकर्मीका अनुसार उनको प्रेसर २१०÷१८० छ। गाडीबाट अस्पताल लैजान सकिने अवस्था नभएकाले हेलिकोप्टर प्रयोग गर्नुपरेको हस्तकलाका छोरा नयन राईले बताए। ‘गाडीको विकल्प नभएपछि हेलिकोप्टर प्रयोग गर्न बाध्य भयौं,’ उनले भने, ‘उपचार गर्न पुग्ने खर्च हेलिकोप्टरको भाडामै खर्च भयो।’

पहिराण हप्ता दिनदेखि सडक अवरुद्ध हुँदा बिरामी, अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्ने स्थानीय तथा लोकसेवाका परीक्षार्थीहरू मारमा परेका छन्।

मंगलबार हेलिकोप्टर नआउँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका हेमराज राई भने दिक्तेलमै अड्किएका छन्। हङकङ आर्मीमा कार्यरत राई मंगलबार राति नै हङकङका लागि उड्नुपर्ने तालिका थियो। उनले चार्टर गरेकै हेलिकोप्टरमा काठमाडौं जाने तयारी गरेकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी गर्भवती सावित्रा पराजुली पनि रोकिएकी छन्। पहिरोका कारण हप्ता दिनदेखि सडक अवरुद्ध हुँदा जिल्लाका बिरामी मारमा परेका हुन्। तत्काल अस्पताल लैजानुपर्ने प्रकृतिका बिरामी बढी समस्यामा परेका छन्। अत्यावश्यक कामले जिल्लाबाहिर जानु–आउनुपर्ने स्थानीयसमेत मारमा परेका छन्।
पहिरोका कारण सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता पुनः सुरु भएको सोल्माका स्थानीय ध्रुवविक्रम राईले बताए। ‘रोेड बिग्रेर जिल्लाबासीको विडम्बना फेरि सुरु भएको छ,’ राईले भने, ‘आर्थिक रूपमा कमजोर नागरिकको थाप्लोमा समस्या थोपरिएको छ।’

मध्यपहाडी लोकमार्ग कालोपत्रे हुनुअघि हरेक वर्षायाममा अस्पताल पुग्न हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो। सोही बाध्यताका कारण खोटाङ ‘बाँच्नका लागि सिरानीमा दुई लाख रुपैयाँ राखेर सुत्नुपर्ने’ जिल्लाका रूपमा परिचित थियो। सडकको पहुँच विस्तारले केही समयदेखि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यतामा कमी आए पनि पुनः उही समस्या दोहोरिएको छ।

पहिरोका कारण खोटाङबाट काठमाडौं जाने दिक्तेल–जयराम सडकखण्ड ठप्प छ। पहिरो पन्छाउने काम अझै सकिएको छैन। त्यस्तै घुर्मीदेखि खुर्कोटका विभिन्न स्थानका अवरोध अझै पूर्ण रूपमा हट्न बाँकी रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। घुर्मीबाट पूर्वी सहर पुग्ने घुर्मी–कटारी खण्डको सडक भत्किँदा विकल्पमा बर्दिबास–सिन्धुलीको बाटो हिँड्नुपर्ने बाध्यता छ। खोटाङ भित्रिने र बाहिरिने कतिपय स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन्। सडकको दुरावस्थाका कारण काठमाडौंबाट हिँडेका कतिपय स्थानीय पाँच दिन हिँडेर दिक्तेल आइपुगेका छन्।अवरुद्ध हुँदा लोकसेवा आयोगका परीक्षार्थी समेत मारमा परेका छन्। स्थानीय तहको चौथो, पाँचौं र छैठौं तहको विभिन्न सेवाका पदपूर्तिका लागि साउन ३ गते सुरु हुने आयोगको परीक्षा दिन आउने परीक्षार्थी मारमा परेका हुन्। गाडी नचल्ने भएपछि कतिपय परीक्षार्थी उदयपुरको गाईघाट आएर पैदलै दिक्तेल आउन थालेका छन्। कतिपय गाडी चल्ने ठाउँमा गाडी र नचल्ने ठाउँमा पैदल हिँडेर परीक्षा केन्द्र आइरहेका छन्। अवरुद्ध सडक पुनः सञ्चालन हुन केही दिन लाग्ने अनुमान गरिएको छ।

प्रकाशित: १ श्रावण २०७६ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App