२३ श्रावण २०७७ शुक्रबार
समाज

वीरमा उपकरण बिग्रेकोबिग्रै

काठमाडौं– तीन महिनाको अवधिमा हप्तैपिच्छे उपकरण बिग्रिने समस्या देखिएपछि वीर अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको छ। अस्पतालका महत्त्वपूर्ण तथा महँगा दर्जनौं उपकरण यो अवधिमा बिग्रिसकेको अस्पतालले जनाएको छ।

गत वैशाखमा अस्पतालको एमआरआई मेसिन बिग्रिनबाट सुरु भएको सिलसिला शुक्रबारदेखि आकस्मिक कक्षको एक्सरेसम्म आइपुुगेको छ। यो अवधिमा ठूला–साना गरी दर्जनौं उपकरण तथा सामग्री बिग्रिसकेका छन्। आकस्मिक कक्षको एक्सरे मेसिन बिग्रेपछि इमरजेन्सीमा आएका बिरामी नियमित एक्सरेको भर पर्नुपरेको छ।

दुई साताअघि मात्र मर्मत गरिएको एमआरआई पाँच दिनदेखि पुनः बिगे्रपछि सेवा बन्द भएको छ। सो उपकरण दुई साताअघि मात्र विदेशवाट सामान मगाएर मर्मत गरिएको थियो। एमआरआई फेरि बिग्रेको गुनासो प्रशासनमा आएपछि अस्पताल निर्देशक चकित परेका छन्। ‘मर्मत गरेको एमआरआई एकसाता नबित्दै बिग्रेको खबर आएको छ,’ निर्देशक केदार सेन्चुरीले भने। एमआरआईको चक्का जाम भएपछि सेवा बन्द भएको एमआरआई विभागकी इन्चार्ज निरा श्रेष्ठले बताइन्। सो एमआरआई मेसिन दुई वर्षअघि मात्र जडान भएको हो। अस्पतालमा पटक–पटक बत्ती गएका कारण मेसिन बिग्रेको एमआरआई विभागका प्राविधिकहरूको भनाइ छ। बत्ती जाने क्रममा जेनेरेटर भएको भए यो समस्या नआउने उनीहरुको तर्क छ। ‘एमआरआई जोडेकै बेला जेनेरेटर पनि जोडेको भए बिग्रिने थिएन होला,’ उनले भनिन्। एमआरआई मर्मतका लागि आवश्यक सामान पुनः विदेशबाट मगाइरहेको निर्देशक सेन्चुरीले बताए।

एमआरअ्रेकै बेला वीरकै सिटिस्क्यानबाट विकिरण चुहेको हल्लाले दुइ साता सिटिसक्यान सेवा पनि बन्द भएको थियो। एउटा प्राविधिक टोलीको प्रतिवेदनपछि अर्को प्राविधिक टोलीको विकिरण अध्ययनपछि समस्या समाधान भएको थियो।

दुई सातादेखि अस्पतालको इआरसिपीमा आवश्यक फ्लोरस्कोपी पनि बिगे्रपछि इआरसिपी सेवा पनि बन्द भएको छ। यसका लागि विदेशबाटै सामान मगाइरहेको अस्पतालको ग्यास्ट्रोलोजी विभागले जनाएको छ। इआरसिपी बिग्रेपछि अस्पतालमा आउने बिरामी सेवाबाट वञ्चित भएका छन्। यो सेवा लिनका लागि वीरमा मासिक एक हजार दुई सयदेखि एक हजार पाँच सयजना आउँछन्।

अस्पतालको युरोलोजी विभागमा मिर्गौलाको पत्थरीमा ढुंगा फुटाउने उपकरण ६ महिनादेखि बिग्रेको छ। लिथोट्रिक्टर नामक सो उपकरण बिग्रेपछि युरोलोजीको शल्यक्रिया बन्द हुने अवस्थामा पुगेको छ। लामो समयदेखि लिथोट्रिक्टर बिग्रिए पनि अस्पतालले पूर्ति गर्न सकेको छैन। राम्रोसित काम नगर्ने उपकरणकै भरमा चिकित्सकले बिरामीलाई सेवा दिँदे आइरहेको युरोलोजी विभागका प्रमुख डा. पारसमणि श्रेष्ठले बताए। उनका अनुसार यो उपकरणले राम्रोसित काम गर्न छोडेको छ÷सात महिना भएको थियो। लिथोटिक्टर मिर्गौला या पिसाब थैलीमा रहेको पत्थर फुटाउने काममा प्रयोग हुन्छ। यसले पहिलेको जस्तो राम्ररी पत्थर फुटाउन छोडेको छ। उपकरणले राम्रोसित काम नगरेपछि आधा घण्टामा सकिने शल्यक्रियामा दुई घण्टाभन्दा बढी समय लागेको डा. श्रेष्ठले स्मरण गरे। आधा घण्टामै सकिने काम दुई घण्टा लगाएर गर्नु पथ्र्यो,’ उनले भने, ‘उपकरणले सोचे जस्तो काम गर्न नसकेपछि जोखिम हुने देखेर सेवा बन्द गरेका छौं।’

युरोलोजी विभागले उपकरण बिग्रेकाले शल्यक्रिया बन्द हुने अवस्था आइसकेको सूचना निर्देशकलाई आइतबार दिएको हो। एमआरआई र एक्सरेको समस्या सुनिसकेका निर्देशकले युरोलोजी शल्यक्रिया सेवा पनि बन्द हुने सुनेपछि थप तनावमा परेका थिए।

उपकरणले राम्रोसित काम नगर्दा आधा घण्टामा सकिने शल्यक्रियाका लागि दुई घण्टाभन्दा बढी समय लाग्न थालेपछि जोखिम देखेर लिथोट्रिक्टर सेवा बन्द गरिएको छ।

अस्पतालको खरिद विभागका अनुसार ठूलो अस्पतालमा साना–तिना सामान बिग्रिने दैनिकजसो भइरहन्छ। तर ठूला उपकरण पालैसित बिग्रेको भने यो पहिलो अनुभव हो। दुई वर्षदेखि नयाँ उपकरण नकिनीकन मर्मतको भरमा चलाएको खरिद एकाइ प्रमुख भगवती थपलियाले बताइन्। यति धेरै उपकरण एकैचोटि बिग्रेको भने पहिलो पटक भएको उल्लेख गर्दै उनले भनिन्, ‘माथि पुगेको हुन्छु, तलबाट मेसिन बिग्रियो भन्दै आउँछन्, तल पुगेको हुन्छु, माथिबाट मेसिन बिग्रियो भन्दै आउँछन्। साना मेसिन त मर्मत गरिहाल्छौं, ठूला उपकरण मर्मत भने जटिल छ,’ उनले भनिन्।

गत चैतको अन्तिम सातादेखि वीर अस्पतालको निर्देशक बनेका डा. सेन्चुरी कतिपय उपकरण आउनुभन्दा पहिले नै बिग्रिसकेको बताए। बिग्रेका उपकरहरू पाँचदेखि ११ वर्षसम्म पुराना रहेका अस्पतालको खरिद एकाइले जनाएको छ। दुई वर्षयता अस्पतालले कुनै पनि नयाँ उपकरण खरिद नगरेको र पुराना उपकरण नै मर्मत गर्दै चलाएको खरिद विभागले जनाएको छ। आफ्नो कार्यकालको तीन महिना नबित्दै उपकरण बिग्रिने समस्याले हैरान परेको निर्देशक सेन्चुरीले बताए।

मर्मतलाई बजेट छैन
अस्पतालका अनुसार साना उपकरण त सजिलै बन्छन्, ठूला उपकरण बिग्रेपछि मर्मत गर्न सजिलो छैन। साना उपकरण मर्मतका लागि अस्पतालसित बजेट पनि हुन्छ, सीधै खर्च गर्ने अधिकार पनि हुन्छ। तर ठूला उपकरण बिगे्रपछि लाखौं रुपैयाँको कुरा आउँछ। यो अवस्थामा अस्पतालले स्वास्थ्य तथा अर्थ मन्त्रालयबाट थप बजेट माग गर्नुपर्ने हुन्छ। अस्पतालमा बिग्रेका उपकरण मर्मतका लागि करोडौं बजेट चाहिने अवस्था छ। आर्थिक वर्षको अन्तिममा थप बजेट निकासा गर्न पनि सम्भव छैन।

उपकरण मर्मतका लागि बजेट माग गर्न मन्त्रालय जाँदा मन्त्रालयका अधिकारीले यतिका बजेट किन चाहियो भनेर प्रतिप्रश्न गर्दा आफू हैरान बनेको डा. सेन्चुरीले बताए। ‘विभिन्न आपूर्ति डिलरलाई ३० करोड पहिल्यै तिर्न बाँकी छ, अस्पतालसित मर्मत गर्ने बजेट छैन,’ उनले भने। बजेट अभाव र लामो प्रक्रिया, विदेशबाट मात्र सामान ल्याउन सकिने स्थितिले थप अन्योलको अवस्था बनेको डा. सेन्चुरीले सुनाए। ‘आर्थिक वर्षको अन्तिममा कसरी निकासा माग गर्ने ?’ उनले भने। तथापि यी सबै उपकरण तथा अन्य व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसित ३० करोड माग गरेको निर्देशक सेन्चुरीले बताए।

वीर अस्पतालमा देशभरका जटिल रोगका विपन्न बिरामी बढी मात्रामा उपचारका लागि आउँछन्। स्थानीय र उपत्यका बाहिरका गरी दैनिक दुई हजार बिरामीले औसत सेवा लिन्छन्। तीमध्ये १५ प्रतिशतको कुनै न कुनै शल्यक्रिया गर्नुपर्ने हुन्छ। ती बिरामीलाई छिटो सेवा दिनको लागि वैकल्पिक उपकरण र जनशक्ति आवश्यक पर्छ। तर त्यसका लागि अस्पतालमा वैकल्पिक उपकरण छैनन्। छ महिनाअघि नयाँ सिटिस्क्यान मेसिन जडान भएको थियो। पुरानो यत्तिकै थन्किएर बसेपछि वैकल्पिक मेसिन छैन। अहिले वीरमा एउटा मात्र सिटिसक्यान मेसिन चालु अवस्थामा छ भने एउटा मात्र एमआरआई मेसिन बिगे्रपछि सेवा नै बन्द भएको छ।

प्रकाशित: ३१ असार २०७६ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App