८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

बाँके– खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन्।

खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की शनिबार राति १२ बजे फरार भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका चार थुनुवामध्ये तीन जना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका हुन्।

फरार भएकाहरुमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ। 'चार जनामध्ये कर्तव्य ज्यान मुद्दाका आरोपी त्यहीँ छन्', प्रहरी उपरीक्षक वलीले भने, 'घटनालगत्तै म आफैँ त्यहाँ पुगेर हेर्दा भेन्टिलेटरको ग्रिल भित्रपट्टि कपडाले छोपेर राखेको अवस्थामा भेटियो। राम्रोसँग जडान नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको पाइएको छ।'

तेइस जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खनप्रसाद यादव फोक्सोको क्यान्सर भएका कारण थेरापी गराउन ६ दिनको बिदा लिएर उपचारका लागि काठमाडाैं गएकै दिन शनिबार राति उनीहरु फरार भएका हुन्।

प्रहरी निरीक्षक यादव बिदामा रहेपछि कार्यालयको जिम्मेवारी प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले सम्हालेका थिए। उनीहरु भागेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयले विभिन्न माध्यमबाट खोजी जारी राखे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए।रासस

प्रकाशित: ३० असार २०७६ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App