८ वैशाख २०८१ शनिबार
समाज

बाढीपहिरोको क्षतिको विवरण संकलन हुन सकेन

मकवानपुर - बाढीपहिरोका कारण तीनजनाको मृत्यु र दुईजना घाइते भएको मकवानपुरमा क्षतिको विवरण संकलन हुन सकेको छैन। प्रदेश ३ को अस्थायी राजधानी मकवानपुरमा केही घर पहिरोले बगाए पनि जिल्ला दैवी प्रकोप उद्धार समितिमा कसैले क्षतिको विवरण बुझाएका छैनन्।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर राहत तथा उपचारमा तत्काल सहयोग गर्ने निर्णय गरी अघि बढेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। हेटौंडा उपमहानगरपालिकाको हटियालगायत क्षेत्रबाट फाट्टफुट्ट क्षतिको विवरण उपलब्ध भए पनि यकिन तथ्यांक नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

हेटौंडा उपमहानगरपालिका–५, पिप्ले, शान्तिनगर, गर्दोईलगायत स्थानमा कर्रा खोलाको भल पस्दा डुबान भएको थियो। त्यस्तै, पहिरोले मकवानपुर गढी गाउँपालिकाको एउटा घर बगाएको तथा भिमफेदी गाउँपालिका–५, माथिल्लो दमारको गाउँभन्दा माथि र तल पहिरो गएको विवरण प्राप्त भए पनि क्षतिको तथ्यांक उपलब्ध भएको छैन।
‘माथिल्लो दमारका पहिरोको उच्च जोखिममा रहेका १८ परिवारका ९२ जना घर फर्किएका छन्। ‘स्थानीय सात घरलाई जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत टेन्ट वितरण गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी तामाङले भने। उता थाहा नगरपालिकालगायत स्थानमा दुई दिनदेखि इन्टरनेट तथा नेपाल टेलिकमको सञ्चार सम्पर्क विच्छेद भएको छ भने ग्रामीण भेगमा विद्युत् प्रसारणमा समेत अवरोध हुँदा मारमा परको स्थानीयले बताएका छन्।

घाइतेको काठमाडौं र भरतपुरमा उपचार
हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एकजनाको भरतपुरमा उपचार भइरहेको छ। नामथर नखुलेका करिब ४५ वर्षका उनलाई प्रहरीले उद्धार गरेको थियो। त्यस्तै, मकवानपुरको कैलाश गाउँपालिका–५ कालिखोलामा आएको पहिरोमा परी बेपत्ता भई शुक्रबार साँझ उद्धार गरिएकी तारामाया पाख्रिनको काठमाडौंमा उपचार भइरहेको छ।

हेटौंडा–फाखेल–काठमाडौं सडक सुचारु
वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध छोटो दुरीको हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडक सञ्चालनमा ल्याइएको छ। आइतबार साँझदेखि सडक मर्मत गरी यातायात सुचारु गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सिंहले बताए।

 

प्रकाशित: ३० असार २०७६ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App