८ वैशाख २०८१ शनिबार
समाज

सुकुमबासी बस्तीको सदाबहार बाढी दु:खान्त (भिडियो)

कमलानदीको बाढीले डुबेको कर्जन्हा २ स्थित सुकुम्बासी बस्ती ‘सुन्दरपुर’ । तस्विरः मिथिलेश यादव/नागरिक

सुन्दरपुर (सिरहा)– कमलानदीको पूर्वी सिँचाई नहर प्रणाली र कमलानदीको बीचमा लहरै छाप्रोहरु छन्। पूर्वपश्चिम राजमार्गको उत्तरपट्टी गहिँरो सार्वजनिक जग्गामा रहेका एउटा छाप्रोमा उद्ध्व राईको सात परिवार बस्दै आएका छन्। ०५९ सालदेखि यसै ठाउँमा बस्दै आएका राई शनिबार पहिलो पटक छाप्रोबाट बिस्थापित भएर पूर्वपश्चिम राजमार्गको उत्तरी किनारमा आश्रय लिन बाध्य भए। कमलानदीको भेल बस्ती पसेर घर डुबाउँदा ज्यान जोगाउन उनी परिवारसहित सडकमा आएका हुन्।

यस सुकुमबासी बस्तीका लागि वर्षायाम प्रत्येक वर्ष पीडादायक बन्छ। जुन उनीहरुका लागि समान्य घटना हो। तर, यसपालिको मनसुन उनीहरुका लागि नौलो र पीडादायक बन्न पुग्यो। कारण उनीहरु पहिलो पटक घर छोडेर सडकको बास बस्नु पर्यो। घरमा रहेका खाद्यान्न, लत्ताकपडा कमलामाइको भेलले निल्यो उद्ध्वले नागरिकसँग भने, ‘भाडाबरतन जसोतसो जोगायौं।’ उनीसँग खाना पकाउने भाडावर्तन भए पनि अन्न छैन्। 

पाँच जना बालबच्चा लिएर खुल्ला आकाशमूनी बस्नु असुरक्षित बनेको छ उनीहरुका लागि। त्यसमा पनि आकाशबाट निरन्तर परिरहेको पानीले बाढीपीडित यस परिवारको कष्ट बढाएको छ।

राई मात्र होइन ५५ वर्षीया दसनी सदायको पीडापनि कम्ता कष्टकर छैन। पोहोरको जस्तै बाढी होला। पश्चिमबाट आएर पूर्वतर्फ बगेर गइहाल्छ भनेर सोचेर छाप्रोमा बसेकी दसनीले सोँचेभन्दा फरक भयो शनिबारको घटना। ‘देखते देखते घरके घर कमलामाईमे बिला गेलै (हेर्दाहेर्दै मेरो फुसको छाप्रो कमलामाइको बाढीले निल्यो) दसनीले भनिन्,‘ने घर रहलै ने अनाज(न घर रह्यो न खाद्यान्न)।’

यही बस्तीकी बिमला राई भन्छिन्, ‘बाढीको पानी हेर्दाहेर्दै घर डुबाएकोले हामी खाने सामग्री निकाल्न सकेनौं।’ अहिले खानलाउन बिजोग भएको छ, उनले भनिन्।

राई र सदाय त कमलानदीको बाढीबाट पिरोलिने प्रतिनिधि पात्रमात्र मात्र हुन्। कमलानदीको बाढीको पीडाबाट यस बस्तीका ५० घरका करिब दुई सयजना प्रभावित भएका छन्। करिब २० जनाको घर कामै नलाग्ने गरि भत्किएको छन्। करिब ४० घरपरिवार विस्थापित भएका छन्। यस बस्तीमा राई, मगर, सदाय, क्षेत्री र बाहुन जातिको बसोबास छ। यस बस्तीका अधिकत्तर मानिस खोटाङबाट २०४१ सालमा बाढीपहिरोका कारण विस्थापित भएर यहाँ आएको बताउँछन्।  

कमलानदीको बाढीले घर डुबेपछि पूर्वपश्चिम राजर्माको छेउमा त्रिपाल टाँगेर दिनरात काट्दै सुन्दरपुरका बाढीपीडित ।

बाढीपीडितहरुलाई यो बस्ती रहेको कर्जन्हा नगरपालिका २ सुन्दरपुर(बन्दिपुर)का वडाका अध्यक्ष कपिलेश्वर यादवले पानीमा ओत लाग्न प्लाष्टिकको त्रिपाल दिएका छन्।

वर्षा सुरु भएपछि शुक्रबार वडाध्यक्ष आएर डोजर लगाएर कमजोर भएको तटबन्ध थुन्छु भन्नुभयो तर त्यो पनि गर्न सक्नुभएन बस्तीका बाढी विस्थापित उद्ध्वले बताए। वडा अध्यक्षलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे।
वडाध्यक्ष यादवले भने, ‘शनिबारबाटै उहाँहरुलाई(विस्थापित सुकुम्वासी) बन्दिपुरस्थित फूलकुमारी माध्यमिक विद्यालयमा जानका लागि आग्रह गरिरहेका छौं, तर मानेका छैनन्। राजमार्ग छेउको बास असुरक्षित छ, दुर्घटना हुने खतरा छ’, उनले भने, ‘सुरक्षित स्थानमा जानै नमानेपछि के गर्नु।’ 

‘हामीले बाढी पीडित सबैका लागि फूलकुमारी माध्यमिक विद्यालयमा खाना बनाउन लगाएका छौं’, कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले भने। 

प्रकाशित: २९ असार २०७६ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App