४ वैशाख २०८१ मंगलबार
समाज

बाढीका कारण रौतहट अस्तव्यस्त

रौतहटको सदरमुकाम गौरमा लालबकैया र बागमती नदीको बाढीको पानीले डुबानमा पारेका घर। तस्बिर : मदन/रौतहट

रौतहट - चार दिनदेखि लगातार परेको पानीका कारण आएको बाढीले रौतहट बेहाल बनेको छ। जिल्लाका अधिकांश भाग जलमग्न हुँदा अकल्पनीय क्षति पुगेको छ। जिल्लाको पूर्वीक्षेत्रमा रहेको बागमती र पश्चिमी क्षेत्रमा रहेको लालबकैया नदीको बाढीले तटबन्ध भत्काएपछि जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ।

लालबकैया नदीको ११ स्थानमा तटबन्ध भत्केको छ। कटहरियामा दुई, देवाहीमा दुई, भसेढवा, बुनियाद, परोहा, करुनियालगायतका स्थानमा तटबन्ध भत्किँदा बाढी गाउँ पसेको छ। यसैगरी, बागमतीको लक्ष्मीपुर, बडहर्वा, धुर्वा, छोटौल, महिनाथपुर, मानपुरसहित ७ ठाउँमा बाढीले तटबन्ध भत्काएको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बताएका छन्। तटबन्ध भत्केको ठाउँमा अस्थायी मर्मत गर्न बाँस, जाली तथा बोरासहित प्राविधिक पठाइ सकिएको उनले बताए। बाढीले जिल्लामा कम्तीमा एक हजार घर भत्काएको छ। जिल्लामा करिब १० मानिसको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बाढीले जिल्लामा करिब पाँच लाख प्रभावित भएको प्रहरीको अनुमान छ।

सदरमुकाम गौरसहित जिल्लाका अन्य स्थानमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उद्धार जारी राखेका छन्। जिल्लामा शनिबारसम्म तीनजना बेपत्ता भएका छन्। शनिबार दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका ४० वर्षीय वीरेन्द्र मिश्रलाई बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताएका छन्। यसैगरी, गढीमाई ६ पकहाबखरीका ५० वर्षीय आनन्दीदेवी यादव र ईशनाथ ३ का ४० वर्षीय रामपुकार राउत अझसम्म पनि बेपत्ता छन्।
जिल्लामा बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याएको छ।

माछा पोखरीका किसानलाई सबैभन्दा बढी क्षति पुगेको हो। जिल्लाका सयौँ पोखरीमा बाढीको पानी पसेपछि माछा बगाएर लगेको व्यवसायीले बताएका छन्। गरुडा नगरपालिका र गढीमाई नगरपालिकाका दर्जन बढी पोखरीको माछा बगाएको गढीमाईका मेयर श्यामप्रसाद यादवले बताए। बाढीको पानी चारैतीर रहेकाले क्षति विवरण संकलनका लागि नगरपालिकाले कर्मचारी खटाइसकेको यादवले बताए।

यसैगरी, जिल्लामा दुई दर्जनभन्दा बढी कुखुरा फर्ममा बाढीले क्षति पु¥याएको छ। तयारी अवस्थामा रहेका कुखुरा तथा चल्ला बाढीले बगाउँदा कम्तीमा चार करोडभन्दा बढीको क्षति पुगेको रौतहट कुखुरा व्यावसायी संघका कोषाध्यक्ष राकेश जयसवालले बताए। अत्यधिक वर्षा र बाढीले जिल्ला सदरमुकामसहित अन्य बजार पनि डुबानमा परेका छन्। पसल र गोदाम डुबानमा परेकाले रौतहटका व्यापारीलाई अर्बौंको क्षति पुगेको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताएका छन्।

जिल्लामा सदरमुकाम गौरमा टेलिफोन र विद्युत सेवा पनि अवरुद्ध भएको छ। ठाउँठाउँमा बिजुलीको पोल ढलेको र गौरस्थित सबस्टेसनको ब्रेकर र इन्भर्टरमा बाढीको पानी पसेको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण गौर शाखाका प्रमुख उमेश यादवले जानकारी गराएका छन्। ,जिल्लामा बाढीले बितण्डा मच्चाएको भए पनि सरकारी राहत भने नआइपुग्दा बाढी पीडितमा निराशा देखिएको छ। निरन्तर पाँच दिनदेखि परिरहेको अविरल वर्षासँगै शुक्रबार आएको बाढीका कारण सदरमुकाम गौरलगायत आसपासका स्थानीय खाद्यान्न अभावमा भोकै रात बिताउन बाध्य छन्। स्थानीय, प्रदेश र केन्द्र सरकारसमेतले राहत सामग्री पठाएको छैन।

प्रकाशित: २९ असार २०७६ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App