coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अब गाई भैँसीलाई पनि सुत्केरी भत्ता तीन हजार !

किसानको गोठमा रहेको सुत्केरी भैसी । तस्बिरः विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)– तनहुँको म्याग्दे गाउँपालिकामा गाई भैसी पाल्ने किसानले सुत्केरी भत्ता पाउँछन्। गाई भैँसी व्याएपछि किसानलाई गाउँपालिकाले तीन हजार रुपैयाँ सुत्केरी भत्ता दिने गरेको छ। चालु वर्षको नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै विनियोजन गरेर सुत्केरी भत्ता वितरणको सुरुवात गरिएको हो।

हालसम्म १६ जना गाईपालक किसानले सुत्केरी भत्ता बुझेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए। ‘गाउँघरमा गाई भैंसी पाल्ने प्रवृति हराएको छ’, उनले भने, ‘किसानलाई प्रोत्साहित गर्न र दुध उत्पादन बढाउन सुत्केरी भत्ताको व्यवस्था गरिएको हो।’ ब्याएपछिको दुई महिनासम्म पोषणयुक्त आहारा र दानापानीको व्यवस्था गर्न सके गाई भैँसीको दुध पछिसम्म पनि त्यही मात्रामा रहने उनको भनाई छ। ‘पोषणयुक्त आहारा र दानापानी खुवाउन भत्ता दिन्छौँ’ उनले भने।

गाईभैँसीको भत्ता लिन किसानको फर्म अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। ‘व्यक्ति व्यक्तिलाई दिदा वैधानिक नहुन सक्छ’, उनले अगाडी भने, ‘व्याउने बेलाको भैँसी खरिद गर्ने व्याएर भत्ता लिएपछि बिक्री गर्ने जस्ता अवैधानिक काम हुन सक्छ। गाउँपालिकाले नियन्त्रण गर्नलाई पनि समस्या हुने भएकाले फर्म गरेको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको हो।’

सुत्केरी भत्ता लिनलाई वडा कार्यालयको सिफारिस आवश्यक पर्ने प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए। ‘गाईभैसी ब्याएपछि गाउँपालिकामा वडाको सिफारिस ल्याउनुपर्छ, त्यसपछि गाउँपालिकाका पशु प्राविधिकले अनुमगन गरेपछि मात्र भत्ताको तीन हजार रुपैयाँ वितरण गर्ने गरेका छौँ’, उनले भने।

चालु वर्षमा एक लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्यक्रम सुरु गरिएको हो। किसान उत्साहित भएपछि यो कार्यक्रमलाई आगामी वर्षको निती तथा कार्यक्रममा पनि निरन्तरता दिएर बजेट विनियोजन गरिएको छ। ‘आगामी वर्षलाई एक लाख रुपैयाँ छुट्याएका छौँ’, तिवारीले भने।

किसानले गाई भैंसीलाई घाँसबाहेकका पोषणयुक्त आहारमा ध्यान नदिने कारण दूध उत्पादन कम हुने र भैंसीको स्वास्थ्यमा समेत असर पर्ने पशु शाखा प्रमुख माधवप्रसाद पण्डित बताउँछन्। बढी उत्पादन लिनलाई दानापानीको तालमेल मिलाउनु पर्ने उनको भनाई छ।

गाउँपालिकाको यो कार्यक्रमबाट किसानहरु उत्साहित बनेका छन्। केशव वाग्लले भने, ‘गाउँपालिकाले गाई भैँसीको भत्ता दिएपछि सजिलो भयो। उक्त रकमले दानापानी खरिद गर्न पाएका छौँ।’

यस्तै गाउँपालिकाले जिल्लाको जुनसुकै स्थानबाट लैनो गाईभैसी ल्याएर ६ महिनासम्म पाल्ने किसानलाई पनि ढुवानी खर्चवापत लाग्ने रकम दिने भएको छ।  सहकारीमा आबद्ध भएका किसानले ढुवानी खर्च प्राप्त गर्ने छन्। म्याग्देलाई आगामी वर्ष दुधमा आत्मनिर्भर बनाउने नीति लिईएको छ। सहकारीहरुले उपलब्ध गराएको तथ्याङक अनुसार हाल यहाँ वार्षिक ८० हजार लिटर दुध उत्पादन हुदैँ आएको छ। आगामी वर्ष किसानलाई एक लिटर दुधमा एक रुपैयाँ अनुदानको व्यवस्था गरेर उत्पादनमा वृद्वी गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए।

उनका अनुसार आगामी आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकामा १ लाख ५० हजार दुध उत्पादन गर्ने अनुमान गरिएको छ।

 

प्रकाशित: २६ असार २०७६ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App