रौतहट - जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा जिल्लाका विभिन्न स्थानीय तहको नगरसभा हुन सकेको छैन। मुख्यगरी नगर प्रमुख र उपप्रमुखबीच भागबन्डाको राजनीतिले नगरसभा नै प्रभावित भएको हो। रौतहटको फतुवा विजयपुर, गुजरा, कटहरिया, माधवनारायण, बौद्धीमाई र वृन्दावन नगरपालिकाको तेस्रो नगरसभा हुन सकेको छैन।
गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरीले दोस्रो नगरपरिषद्बाट स्वीकृत योजना कार्यान्वयन गर्न ढिलो भएका कारण तेस्रो नगरसभा गर्न पछि धकेलिएको बताएका छन्। दोस्रो नगरपरिषद्बाट पारित योजना ढिलो गरी कार्यान्वयन हुनुको कारणबारे स्पष्ट पार्दै प्रमुख चौधरीले भने, ‘उपप्रमुखलगायत केही वडाध्यक्षले असन्तुष्टि जनाउँदै जेठ १२ योजना शाखामा गई तोडफोड गरेकाले योजना कार्यान्वयनमा ढिलाइ भएको हो। भागबन्डा नमिलेपछि उपप्रमुखको नेतृत्वमा केही वडाध्यक्षले कार्यालयमै तोडफोड गरेको स्थानीयको आरोप छ तर मेयर चौधरीले भने कार्यपालिकाको बैठकमा उपप्रमुखले माफी मागेपछि अहिले वातावरण बनेकोले असार २७ गते नगरसभा हुने निश्चित भएको बताएका छन्।
वृन्दावन नपाका मेयर रामस्नेही यादव पहिलेका योजना व्यवस्थित गर्न समय लागेको तथा मेयर र वडाध्यक्षबीच तालमेल हुन नसकेकोले योजना सम्पन्न गर्न ढिलाइ भएको बताउँछन्। अब वातावरण तयार भइसकेकाले असार २७ मा तेस्रो नगर अधिवेशन गर्ने वातावरण बनाइरहेको मेयर यादवले बताएका छन्।
बौद्धीमाई नगरपालिकाको तेस्रो नगरसभा हुने नहुने कुनै निश्चित छैन। जनप्रतिनिधिबीच भागबन्डा मिल्नै गाह्रो भएकाले आगामी आर्थिक वर्षको बजेट नै प्रभावित हुने अवस्था आएको स्थानीयको दाबी छ। बौद्धिमाई नपाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद चन्द्रवंशीले पनि तेस्रो नगर अधिवेशन गर्ने कुनै टुंगो नलागेको बताउँछन्। जनप्रतिनिधिबीच तालमेल मिल्न नसक्दा अधिवेशन हुन नसकेको चन्द्रवंशीको भनाइ छ।
आन्तरिक विवाद उत्कर्षमा रहेको कटहरिया नगरपालिकाको पनि तेस्रो नगरसभा हुन सकेको छैन। उपप्रमुख नूरजहाँ खातुनले तेस्रो नगरसभा असारको पहिलो हप्ता सम्पन्न हुन नसकेको तर अब विवाद मिल्न थालेकोले छिटै सम्पन्न हुने बताएकी छन्। नगरपालिकामा लामो समयदेखि रहेको विवाद अब साम्य हुन लागेकोले नगरसभा छिटै हुने विश्वास खातुनको छ। न्यायिक समिति र मेयर जेलमा छँदा बहुमत सदस्यले उपमेयरमाथि लगाएको आरोपको खन्डन भएपछि छिटै नगरसभा हुने खातुनको भनाइ छ। फतुवा विजयपुर र माधवनारायण नगरपालिकाको नगरसभाको विषयमा पनि अझै टुंगो लाग्न सकेको छैन।
प्रकाशित: २५ असार २०७६ ०१:४० बुधबार