२ आश्विन २०७७ शुक्रबार
समाज

जबरजस्ती लिङ्ग परिवर्तन गरेर युवती बनाइएका सुरेन्द्र न्याय माग्दै काठमाडौंमा

काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह मालले भारतमा कार्यरत रहँदा जबरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग गर्दै राजधानी काठमाडौं आएका छन्। 

जिल्लामा न्याय नपाएपछि उनी काठमाडौं आएका हुन्। उनले मंगलबार रिपोटर्स क्लबमा आफ्ना बुवाको साथमा पत्रकार सम्मेलन गरेर न्याय र बाँच्न पाउने आधार दिन आग्रह गरे।

नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफूलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ। उनले भने, ‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे।’

सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउने काम भएको उनले सुनाए। उनले घट्ना स्मरण गर्दैै भने, ‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेस्रो लिङ्गी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए।’

एक/दुई दिन आफूलाई कुनै काम नलगाएको र पछि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्यास छोडेको जनाउँदै त्यसको एन्टीवायोटिक औषधिको रुपमा आफूलाई अस्पतालबाट एक जना डाक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उनले बताए।

आफूलाई चार/पाँच दिनमा होसमा आउदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको सुनाए। उनले थपे, ‘करिब साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए।’
आफूलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफूलाई कहाँ, किन र के कारणका लागि लैैजाँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाए। आफूलाई अस्पतालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण महिलाको ‘हर्माेन’ विकास भएको तथा लिङ्ग परिवर्तन गराइसकेपछि दुई बर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताए।

आफ्नो गोप्य अंग काटेर फालेको र लिङ्ग परिवर्तन गराएको कुरा महसुस भएपछि आफूलाई सोध्नेसम्मको आँट नभएको उनको भनाई छ। अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाउँमात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले जानकारी दिए। उनले आफ्नो शरीरभित्र पाठेघर नभएको र अहिलेसम्म रजश्वला पनि नभएको जनाए।

पीडित मालले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आए पनि आफू पूर्ण महिलाको रुपमा विकास भैनसकेको पनि सुनाए। ‘मलाई नपुंसक बनाइयो। मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन। परिवारको जर्राे टार्न कामको लागि भारत गएको थिएँ। अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाइयो’, उनले दुखेसो पोखे।

आफूमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफूलाई यस्तो हालतमा पु-याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गरे।

पितासँग सुरेन्द्र

आफूलाई परेको गम्भीर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस भन्दै आफू मिडियामा आएको उनको भनाई छ। मालले भने, ‘जीवनमा के गरेर बाँच्ने? के खाने? कहाँ बस्ने? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु।’

‘मलाई बाच्न शक्तिको आवश्यकता छ। सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए म विगत बिर्सेर आफ्नो काममा लाग्ने थिएँ’, उनले विलौना गरे।

‘अब मेरो  परिवार छैन। मैले सन्तान जन्माउन सक्दिन। न त केटानै बन्न सक्छु। पिसाव गर्दा पहिला राम्रैसंग भएपनि अहिले आएर लुगा भिज्ने गरि छरिने र राम्रो संग नहुने जस्ता समस्या देखिँदै आएका छन्’, उनले दुःखेसो पोखे। 

अब आफ्नो भन्ने कोही नभएको र परिवारिक अवस्था पनि दिन प्रतिदिन कमजोर बन्दै गएका कारण पुनः शल्यक्रिया गर्ने आफ्नो हैसियत नभएकोले झन ठूलो समस्यामा परेको उनको गुनासो छ। 

‘म पनि मानिस हुँ। मेरो पनि बाँच्ने रहर छ। तर, सरकारले कानून नै छैन भन्ने गरेको छ। अब यस्तो बिषयमा म के गरेर जीवन बिताउने?’ उनले प्रश्न गरे।

काठमाडौंमा आफू न्याय माग्नको लागि आएको उनले सुनाए। ‘म काठमाडौंमा अलपत्रजस्तै परेको छु, सरकारसंग मेरो एउटामात्रै आग्रह भनेको मलाई बाँच्ने आधार र वातावरण बनाई दिनुपर्यो।’ 

गाउँमा आफ्न्तले छोरा भए बुहारी ल्याउँथे, छोरी भए कन्यादान गर्थें भन्दै मजाक उडाउने गरेको कारण आफूलाई गाउँ फर्कन मन नभएको उनले पीडा पोखे। 

करिब चार वर्षसम्म आफूले भारतमा नरकीय जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पुर्याउने आरोपीलाई  जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गरे। 

कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनले बताए। ‘मेरो लािग प्रहरीले पनि कुनैै न्यायको प्रयास नगरेपछि ममा आत्महत्याको विचार पलाउदै आएको थियो, तर मलाई आत्महत्या गर्नबाट परिवारकै सदस्यले रोक्ने काम गर्नुभयो।’

आफूले प्रहरीसंग उक्त केसमा मुद्दा दर्ताको बिषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ। ‘म समाजमा बस्न नसक्ने अवस्थामा पुगेकी छु। म बच्चा जन्माउन पनि समर्थ छैन र बुवा बन्न सक्ने अवस्थामा छैन। अब मैले कसरी जीवन बिताउने?’ उनले प्रश्न गरे, ‘सरकार म बाँच्न चाहन्छु। मलाई केही गरेर खाने वातावरण बनादेउ।’ 

प्रकाशित: २४ असार २०७६ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App