१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जमिन सरकारी, लालपुर्जा व्यक्तिका नाममा

सरकारी जमिन व्यक्तिको नाममा पारिएको विरोधमा बरहथवा नगरपालिका परिसरमा प्रदर्शन गर्दै स्थानीय। तस्बिर: टंक/नागरिक

सर्लाही - बरहथवा नगरपालिकाको हजारियास्थित सरकारी जमिन भित्रभित्रै व्यक्तिका नाममा लालपुर्जा बनिसकेको फेला परेको छ। मालपोत कार्यालय बरहथवाको कम्प्युटरमा सरकारी प्लट कायम रहेको साबिक हजरिया गाविस–७ तथा हाल बरहथवा नगरपालिका–४ स्थित सात बिघा १४ कट्ठा १५ धुरमध्ये ६ बिघा १४ कट्ठा जमिन भित्रभित्रै स्थानीय जागदेव महतोको नाममा लालपुर्जा बनेको फेला परेको हो।

मालपोतको कम्प्युटरमा ३२८ नम्बर कित्ताको सात बिघा १४ कट्ठा १५ धुर प्लटमध्ये २०६२ कात्तिक १९ गते कित्ता नम्बर ३२८ को पाँच बिघा १० कट्ठा र कित्ता नम्बर ३१४ को एक बिघा चार कट्ठा महतोको नाममा लालपुर्जा बनेको फेला परेको छ।

बरहथवा नगरपालिकाको चार नम्बर वडा कार्यालयको सिफारिससहित महतोले कित्ता नम्बर ३२८ को पाँच बिघा १० कट्ठामध्ये स्थानीय बच्चेलाल महतोकी पत्नी कान्तीदेवीलाई तीन बिघा ११ कट्ठा तथा कित्ता नम्बर ३१ब्ल्म्एभ्च्४४लदकउसको एक बिघा चार कट्ठामध्ये एक बिघा तीन कट्ठा छोरी आनन्दीदेवीलाई बिक्री गर्न चाहेको लिखतसहित लालपुर्जा बोकेर गत बिहीबार मालपोत कार्यालय बरहथवा पुगेपछि सरकारी जग्गाको लालपुर्जा व्यक्तिको नाममा बनिसकेको खुलेको मालपोत कार्यालय प्रमुख बिन्देश्वर महतोले बताए।

बिघा जमिन ऐलानीको रूपमा जोतभोग गरिरहे पनि भित्रभित्रै अमुक व्यक्तिको नाममा लालपुर्जा बनिसकेको छ कि भनेर स्थानीय त्रासित छन्।

‘खै म पनि छक्क परेको छु, हाम्रो कम्प्युटरमा सरकारी कायम प्लटमध्येको जग्गा कसरी व्यक्तिको नाममा लालपुर्जा बन्यो,’ मालपोत प्रमुख महतोले भने, ‘जग्गा बिक्री गर्न लिखतसहित बोकेर आएको लालपुर्जाको कैफियत महलमा हेर्दा शंका लागेपछि तुरुन्त काम रोक्यौं।’ जागदेव महतोको नाममा रहेको लालपुर्जाको कैफियत महलमा २०६२ साल कात्तिक १९ को निर्णयले वडा नम्बर ७ कित्ता नम्बर ३१४ र ३२८ स्रेस्ता कायम गरिएको उल्लेख छ।

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसांसद हरि उप्रेतीले २०६२ चैत २३ गते माओवादी आक्रमणमा मालपोत कार्यालयको कागजात जलेको बहानामा त्यसअगाडिकै मितिमा भूमाफियाहरूको मिलेमतोमा मालपोतका कर्मचारीले सो जमिनको लालपुर्जा व्यक्तिको नाममा गरिदिएको बताउँछन्।

सो जमिन २०१८ सालदेखि स्थानीयले ढालफाँड गरेर जोतभोग गरिरहेका छन्। ऐलानी जमिन मालपोत कार्यालयको कम्प्युटरमा भने सरकारी प्लटको रूपमा कायम थियो। तर भूमाफियामार्फत व्यक्तिका नाममा लालपुर्जा बनेको थाहा पाएपछि स्थानीय आन्दोलित भएका छन्।

स्थानीयले चरणबद्ध आन्दोलको घोषणासमेत गरेका छन्। उनीहरूले आइतबार दिउँसो बरहथवास्थित मालपोत कार्यालय, नापी कार्यालय र बरहथवा नगरपालिकामा ज्ञापनपत्र पेस गरेका छन्। सोही विषयलाई लिएर आक्रोशित भीडले आइतबार दिनभर बरहथवा बजारसमेत बन्द गराएको थियो। भीडले मालपोत कार्यालयमा सामान्य ढुंगामुढासमेत गरेको थियो। ज्ञापनपत्रको यथाशीघ्र सम्बोधन नभए थप आन्दोलनको घोषणा गरिने स्थानीयको चेतावनी छ।

आक्रोशित भीडले आफू र कार्यालयका नायब सुब्बा सुशील दासमाथि अनाहकमा हातपात गरेको मालपोत प्रमुख महतोले बताए। ‘हामीले किनबेच रोकेकै कारण लालपुर्जा काण्ड बाहिर आयो’, महतोले गुनासो गरे, ‘तर वास्तविक कुरा नबुझेर हामीमाथि नै मुक्का प्रहार भएको छ।’

वर्षौदेखि जोतभोग गर्दै आएको र अहिले एकाएक अर्काको नाममा लालपुर्जा बनेपछि त्यसविरुद्ध स्थानीय आन्दोलनमा उत्रनुपरेको बरहथवा नगरपालिका–२ का वडाध्यक्ष यज्ञबहादुर खड्काले बताए। २०२२ सालदेखि घर बनाएर बसेको जग्गा अर्कैले आफ्नो नाममा पारेपछि समस्यामा परेको स्थानीय कुलबहादुर कार्कीले गुनासो गरे।

सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता र त्यसका लागि सहयोग गर्नेमाथि कारबाही हुनुपर्ने स्थानीयको माग छ। सोे क्षेत्रको सयौं बिघा जमिन ऐलानीको रूपमा जोतभोग गरिरहे पनि भित्रभित्रै यसरी नै अमुक व्यक्तिको नाममा लालपुर्जा बनिसकेको छ कि भन्ने त्रासमा स्थानीय परेका छन्।

बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले वर्षौंदेखिको ऐलानी जमिन कुनै अमुक व्यक्तिको नाममा दर्ता हुनु साह्रै गलत भएको बताए। गैरकानुनी काममा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ।

प्रकाशित: २४ असार २०७६ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App