१५ चैत्र २०८० बिहीबार
समाज

खडेरीले मुहान सुक्दा पानीको हाहाकार

ट्याक्टरमा ओसार्न बेता खोलाको पानी ड्रममा भर्दै स्थानीय। तस्बिर सौजन्य ः गणेश राई

खोटाङ – लामो खडेरी पर्दा खोटाङका विभिन्न ठाउँमा खानेपानीको हाहाकार भएको छ। खडेरीले भएका मुहान सुक्दा हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश क्षेत्रमा पानीको हाहाकार भएको हो। वर्षा नहुँदा नगरपालिकाको बडहरे, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार, राजापानी, धितुङ, सल्ले लगायतका ठाउँमा पानीको हाहाकार मच्चिएको स्थानीयले सुनाए।

कहिल्यै नसुकेका मुहान खडेरीले सुक्दा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको चुमाखुमा पानीको विकराल समस्या सुरु भएको स्थानीय तामन राईले बताए। हाल चुमाखुका ७२ घरका स्थानीयले मार्सेको एउटा मुहानको पानी उपयोग गरिरहेका छन्। मार्सेको मुहान पनि सुके भने पानीका लागि सुनकोसी जानुपर्ने बाध्यता आउने राईले बताए। ‘भएका सबै मुहान सुके। हामी ७२ घरका स्थानीयले एक÷एक गाग्रो भए पनि मार्सेको पानी प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘त्यही एउटा मुहान पनि सुके भने सुनकोसी जानुको विकल्प छैन।’

२०६८ सालमा जिल्ला दैवीप्रकोप उद्धार समितिले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हलेसी तुवाचुङ नगरपालिकाका सातवटा वडामा पहिल्यैदेखि खानेपानीको अभाव छ। त्यसमाथि लामो खडेरीले खानेपानीको समस्या झन् चर्किएको हो। विवाह, भोज वा अन्य चाडवाडका समयमा पानीको थप समस्या पर्ने गरेको छ। पानीको मुहान सुक्दा गाईवस्तुलाई खुवाउने स्रोतको समेत अभाव भएको छ।

सिंगो गाउँ एउटै मुहानमा निर्भर

पानीको अभाव भएपछि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा सिंगो गाउँ एउटै मुहानमा निर्भर बनेको छ। अन्यत्रको मुहानबाट पानी पु¥याउन नसकिने बाहुनीडाँडाको झापामा कुवा सुकेपछि झापा, थुम्का र पकम्चेका ८५ घरपरिवारले गाउँभन्दा एक किलोमिटर तल रहेको कैंजल खोलाको कुवाको पानी उपयोग गर्दै आएका छन्। कैंजल खोलाको कुवामा घन्टौं पर्खंदा एकजनाले एक गाग्रोमा पानी भर्ने पालो पाउने गरेका स्थानीय गणेश राईले बताए।

खोलामा पानी लिन आउने स्थानीयको भीडले मेलाकै झल्को दिने गरेको छ। कतिपय स्थानीय पानीका लागि खोलामै बास बस्ने गरेका छन्। कतिपय पानी भर्नका लागि राति नै खोलामा पुग्ने गरेका छन्। बढी सरसफाइ गर्नुपर्ने अवस्थाका सुत्केरी महिलालाई नुहाउनसमेत पानीको अभाव हुने गरेको स्थानीयको भनाइ छ। ‘मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौं। गाउँ छोडेर जाऔं, कहाँ जाऔँ, नजाऔं त के गरौँ भन्ने चिन्ता छ,’ राईले भने, ‘सुत्केरीलाई नुहाउने पानीसमेत हुँदैन, दिनमा एक गाग्रो र रातमा ल्याइएको एक गाग्रो पानीले के गर्ने के नगर्ने !’

पानीको स्रोत नभएपछि सुक्खाग्रस्त घोषित त्यहाँ दूधकोसीको पानी निकाल्न खोटाङ बृहत् खानेपानी आयोजनाको काम भइरहेको छ। खडेरीका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, रावाबेंसी गाउँपालिकालगायत विभिन्न ठाउँमा पनि पानीको हाहाकार सुरु भएको छ।

प्रकाशित: २३ असार २०७६ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App