८ वैशाख २०८१ शनिबार
समाज

खडेरीले सुकेका बिरुवा उखेल्दै किसान

खोटाङ – खोटाङका किसानले लामो खडेरीले मरेका मकैको बोट उखाल्न थालेका छन्। सामान्य वर्षापछि छरेको मकै उम्रिए पनि आधा मिटर अग्लो नहुँदै खडेरीले मरेपछि किसानले उलेखेर गाईबस्तुलाई घाँस दिन थालेका छन्। असार बित्न लाग्दा पनि पानी नपर्दा जिल्लाको हलेसी–तुवाचुङ नगरपालिका, रावाबेंसी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिकालगायत ठाउँमा लगाइएको मकैको बोट सुकेर मर्न थालेका छन्। मकैको बोट सुकेर कामै नलाग्ने अवस्थामा पुगेपछि हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, दुर्छिम, राजापानीलगायत सुक्खाग्रस्त क्षेत्रका किसानले उखालेर गाईबस्तुलाई घाँस हाल्न थालेका हुन्।

हलेसी तुवाचुङ नगरपालिकाको दुधकोसी र सुनकोसी किनार वरपरमा छरिएको मकै खडेरीले सोत्तर बनेको हो। सो नगरपालिकाका बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, मंगलटार, दुर्छिम, सल्ले, राजापानी, अर्खौलेलगायत ११ वटै वडामा मकैको बोट मरेको छ। सुकेर सोत्तर भएको मकैको बोट गाईबाख्रालाई घाँस हाल्न थालिएको दुर्छिमका तामन राईले बताए। मरेको मकैको बोट उखालेका किसान पुःन पानी परेपछि मकै छर्ने प्रतिक्षामा बसिरहेका छन्।

'पलाउँदै गरेको मकैको बोट मरेर सोत्तर भएपछि उखालेर गाईबस्तुलाई घाँस दिन थालेका छौं,' राईले भने, ुबारी नाङ्गो भएको छ। अधिकतर किसान मनसुन सुरु हुने आशामा पुनः मकै छर्ने तयारीमा बसिरहेका छन्।' छरेको मकैको बोट कामै नलाग्ने भएपछि किसानको बीउ नै मासिएको छ। तत्काल पानी परेको अवस्थामा मकै छर्नका लागि किसानले मकैको बीउको खोजी गरिरहेका छन्। हाल किसानलाई मकैको बीउकै खाँचो परेको दुर्छिमकै स्थानीय हेमकुमार राईले बताए। प्रमुख बालीका रूपमा लगाइएको मकै खडेरीले खाएपछि किसान भोकमरीको त्रासले चिन्तित बनेका छन्।

जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हलेसी तुवाचुङ नगरपालिकाका कतिपय ठाउँका किसानले अहिलेसम्म मकै छर्नै सकेका छैनन्। स्थानीयका अनुसार सो क्षेत्रमा २०१८ साल र २०३४ सालपछि यसपल्ट लामो खडेरी परेको हो। बाहुनीडाँडाका बेंसी क्षेत्रमा अझै पनि मकै छर्न नसकिएको वडाध्यक्ष रुद्र राईले बताए। 'खडेरीले वडाको ६० प्रतिशत भागमा मकै छर्न सकिएको छैन,' राईले भने, 'उम्रेको मकैको बोट पनि मरेकाले बीउ उक्साउने ठाउँ छैन।' खडेरीका कारण जिल्लाको रावाबेंसी गाउँपालिका–२ खार्पा र रावाबेंसी गाउँपालिका–३ लामीडाँडामा छरिएको मकैको बोट पनि मर्न थालेका छन्। खडेरीले मकैको बोट मरेपछि भोकमरीको चिन्ता बढेको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए। पानी नपर्दा अन्य रुखबिरुवा समेत ओइलिन थालेको छ।

प्रकाशित: २२ असार २०७६ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App