coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यस्तो छ 'माेस्ट वान्टेड' नसीमकाे १३ वर्षे अपराध यात्रा

‘मोस्ट वान्टेड’ नसीम खाँ।

काठमाडौं – पछिल्लो १३ वर्षदेखि हालसम्म विभिन्न समयमा अपराध गर्दै फरार रहेका कपिलवस्तुका नसीम खाँ  केन्द्रीय अनुसन्धान ब्युरो  (सिआइबी)को फन्दामा परेका छन्। सिआइबीद्वारा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नसीमलाई काठमाडौंको बानेश्वरबाट बिहान १० बजे पक्राउ गरेको हो।

कपिलवस्तुलाई केन्द्र बनार्इ अपहरण, फिरौती र हत्या जस्ता ८ वटा घटनामा संलग्न रहेको आरोपमा खानलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता तथा एसपी दीपक रेग्मीले बताए। कपिलवस्तुमा श्रृंखलाबद्ध अपराधका घटना गरेर भारतमा लुकीछिपी बस्दै आएपछि नसीमलाई 'मोस्ट वान्टेड' सूचीमा राखेर खोजी गरिएको एसपी रेग्मीले बताए।

सिआइबीका प्रमुख डिआइजी नीरज शाहीले फरार अभियुक्त खोज्ने सिलसिलामा नसीमलाई राजधानीबाट पक्राउ गरिएको बताए। साबिक पिपरा गाविस–२ (हाल मायादेवी गाउँपालिका–४, पिपरा) घर भई भारतको अलिगढवा बस्दै आएका नसिमलाई प्रहरीले राजधानीबाटै पक्राउ गर्न सफल भयो।  

नसीमको अपराध यात्रा

फुलिका–३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी २०६३ जेठ १९ गते हत्या गरेको आरोप नसीममाथि छ। हत्याको आरोप लगाउँदै प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालतमा २०६३ साउन १४ गते मुद्दा दर्ता गरेको थियो। त्यसयता हाल उक्त मुद्दाको मिसिल पुनरावेदन अदालतमा मुलतबीमा रहेको जानकारी प्रहरीले दिएको छ।

त्यस्तै कपिलवस्तु नगरपालिका–१ बस्ने सन्दीपकुमार गुप्ताको महेन्द्र जीपलाई रोकी बन्दुक देखाई अभियुक्त खाँले २०६४ वैशाख १७ गते नगद दुई लाख लुटेका थिए। प्रहरीले यस घटनालाई डाँका मुद्दाअन्तर्गत सरकारी वकिल कार्यालयमार्फत् २०६४ चैत २५ गते अदालतमा पेस गरेको थियो। हाल उक्त मिसिल सर्वोच्च अदालतमा मुल्तबीमा रहेको प्रहरीको भनाइ छ।

मोतिपुर–१ बस्ने भूवन भन्ने प्रेम परियारलाई अभियुक्त खाँले २०६४ फागुन ६ गते गोली हानी हत्या गरेको प्रहरीको आरोप छ। तत्कालीन माओवदी जिल्ला कार्यसमिति सदस्य सन्दीप कुमारले दिएको जाहेरीका आधारमा प्रहरीले २०६५ माघ १ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। हाल उक्त मुद्दा पुनरावेदन अदालत बुटवलमा मुल्तबी छ।

त्यस्तै हथिहवा–३ बस्ने  रामहर्ष  प्रसाद कुर्मीको छोरा शिवपुजन कुर्मीलाई गोली हानी अभियुक्त खाँले २०६४ चैत ९ गते हत्या गरेको प्रहरीको विवरणमा उल्लेख छ। रामहर्सप्रसाद कुर्मीले दिएको जाहेरीका आधारमा फरार रहेका प्रतिवादीमध्ये कपिलवस्तु साबिक हथिहवा–७ हाल शुद्धोधन गाउँपालिका–५, हथिहवा बस्ने वर्ष ४९ को धर्मेन्द्रसिंह क्षेत्रीलाई पक्राउ गरी बयान लिर्इ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसै गरी कपिलवस्तु नगरपालिका–१० बस्ने नसिबुल्लाह मुसलमानलाई अभियुक्त खाँले २०६५ भदौ ३० गते हानेको गोली सोही ठाउँ बस्ने पारसनाथ कोहारको श्रीमती अकला कोहारलाई लागेर ज्यान गएको थियो। पारसले दिएको जाहेरीका आधारमा प्रहरीले २०६५ माघ २५ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। हाल उक्त मुद्दाको मिसिल पुनरावेदन अदालत बुटवलमा मुल्तबी छ।

कपिलवस्तु नगरपालिका–७ बस्ने पिपरा गाविस सचिव राममिलनप्रसाद गुप्तालाई अभियुक्त खाँले  २०६५ असोज ९ गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। पारसनाथ गुप्ताले दिएको जाहेरीको आधारमा २०६५ कात्तिक ७ गते अदालतमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् मुद्दा दर्ता गरेको थियो। हाल उक्त मुद्दाको मिसिल पुनरावेदन अदालत बुटवलमा मुल्तबी छ।

त्यस्तै पकडी–६ बस्ने ३५ वर्षीय राजेन्द्रप्रसाद तिवारीको अभियुक्त खाँले २०६७ वैशाख १३ गते हत्या गरेका थिए। प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् २०६७ जेठ ८ अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। हाल उक्त मुद्दाको मिसिल जिल्ला अदालत बुटवलमा मुल्तबी छ।

पछिल्लो समय २०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा चार वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ।

नसीमलाई ११७ वर्ष जेल

नसीममाथि अदालतले एक सय १७ वर्ष जेल सजाय तोकेको प्रहरीले जनाएको छ। यस्तै डाँका चोरी मुद्दामा अदालतले २०७२ फागुन ४ गते एक लाख ९१ हजार आठ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजायसमेत तोकेको थियो।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले नसीमलाई प्रहरीले एक महिना अघिदेखि ट्रयाक गरेको बताए। जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसमेत रहेका नसीमले सरकारी टोलीसँग वार्ता गर्ने नाममा जिल्ला तथा नेपालका विभिन्न स्थानमा निर्वाध आउजाउ गर्थे।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय तोकेपछि वर्षौंदेखि उनी प्रहरीको फरार सूचीमा थिए। आफ्नो संरक्षणका लागि उनले नेकपाका केन्द्रदेखि जिल्लास्तरका नेतासँग सम्बन्ध बढाएको प्रहरी स्रोतको भनाइ छ। नेकपाका नेताहरूकै हिमचिमका कारण नसीमले आफ्नी श्रीमती फौजिया नसीमलाई नेकपाको कोटाबाट समानुपातिकतर्फ प्रदेश सदस्य बनाएको स्रोतको भनाइ छ।

सार्वजनिक कार्यक्रममा निर्धक्क उपस्थिति

नसीमले सार्वजनिक कार्यक्रमहरुमा निर्धक्क उपस्थिति जनाउँथे । गत वर्ष पुस ३ गते मायादेवी गाउँपालिका–२, अभिरावमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल बलदेव र तत्कालीन प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलसमेत सहभागी रहेको मुस्लिमहरूको मुसायरा कार्यक्रममा सहभागी थिए।

यस्तै २०७३ मंसिर २६ गते तत्कालीन पिपरा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा जिल्ला सुरक्षा निकायका प्रमुखहरूसँगै कार्यक्रममा सहभागी थिए।

तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल, प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्र प्रहरी उपरीक्षक सुदेश गुरुङ, सांसद अतहर कमाल, पूर्वमन्त्री दानबहादुर चौधरी मञ्चमा आसीन गराइएको थियो। पक्राउ पर्ने सुइँको पाएपछि नसीम त्यहाँबाट भारत फरार भएका थिए। एक घण्टा बढी मञ्चमा बसेका उनलाई प्रहरीले पक्राउ गर्ने योजनासमेत बनायो। तर, त्यसको सुइँको पाएपछि एक घन्टापछि भारततर्फ फरार भएका थिए।

नसीमको दक्षिणी भेगका साविक गाविसमा दबदबा रहँदै आएको छ। चन्दा असुलीलगायतका विभिन्न अपराधका घटनामा अहिले पनि उनकै संलग्नता रहेको गाउँलेहरू बताउँछन्।

‘छोराको हत्यारालाई कडा सजाय हुनुपर्छ’

मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहोम्मदले ढिलै भए पनि ‘कुख्यात अपराधी’ नसीमलाई पक्रेर प्रहरीले राम्रो काम गरेको बताए। ‘मेरो छोराको हत्यारालाई कडा सजाय हुनुपर्छ,’ उनले भने। उनका अनुसार नसीमले आफ्नो वडासहित जिल्लाको आधा दर्जन दक्षिणी वडाहरूमा गुन्डागर्दी शैलीमा शासन चलाएका थिए।

भारतको अलीगढवामा बसेर नसीमले आफ्नो अपराधिक जालो फैलाएको उनले बताए।  ‘मेरो वडाको सबै पोखरी उसैले कब्जा गरेको थियो, उसलाई चन्दा नदिई कसैले कुने कार्यक्रमनै गर्न सक्दैन थियो,’ उनले भने।

प्रकाशित: २१ असार २०७६ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App