coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जाजरकोटमा झाडापखाला प्रकोप

झाडापखालाका कारण जिल्ला अस्पताल जाजरकोटमा भर्ना भएका बिरामीहरू। तस्बिरः नागरिक

जाजरकोट – जाजरकोट सदरमुकाम खलंगाका स्थानीयमा  झाडापखालाको प्रकोप देखिएको छ।

स्थानीयले प्रयोग गर्ने पानीमा अत्यधिक मात्रामा ‘इकोलाइ’ नामक कीटाणुका कारण झाडापखालाको प्रकोप देखिएको हो। झाडापखालाबाट महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका छन्।

सदरमुकाम खलंगाका स्थानीयले प्रयोग गर्दै आएको बुदबुदी मुहानको पानी फोहर भएपछि उनीहरूमा तीन दिनदेखि झाडापखालाको प्रकोप देखिएको जिल्ला अस्पताल जाजरकोटका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशरजंग कार्कीले बताए। उनले खलंगामा आपूर्ति भइरहेको पानीको मुहानमा ‘इकोलाइ’ कीटाणुु भेटिएपछि झाडापखालाको प्रकोप सुरु भएको बताए।

दैनिकजसो २० देखि २५ जनाका दरले झाडापखालाका बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ। फोहर पानीका कारण प्रहरी, कारागारका कैदीहरू र अन्य सर्वसाधारण झाडापखालाबाट प्रभावित भएको उनले बताए।

जिल्ला अस्पताल जाजरकोटका निमित्त मेसु डा. कार्कीले  बुदबुदीको मुहान हुँदै खलंगा आउने पानीमा १४२ प्रतिशत ‘इकोलाइ’ नामक कीटाणुको मात्रा रहेको जानकारी दिए। उनले  खलंगामा आपूर्ति हुने पानीका तीनवटा स्रोतहरूमा ल्याब टेस्ट गरिएको बताए। जसमध्ये सबैभन्दा बढी बुदबुदीको मुहानमा  १४२ प्रतिशत, रानागाउँको ट्यांकीमा २८ प्रतिशत र जिल्ला प्रहरी कार्यालयको धारामा २६ प्रतिशत ‘इकोलाइ’ भेटिएको उनको भनाइ छ। पानीलाई उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उनले सुझाव दिएका छन्।

बिहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले  पखाला नियन्त्रणका लागि औषधिको पर्याप्त व्यवस्था गर्न जिल्ला अस्पताललगायतका स्वास्थ्य सस्थाहरूलाई अनुरोध गर्ने र पानी शुद्धीकरणका विधिहरु अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरेको छ।

१० वर्षअघि जिल्लामा फैलिएको झाडापखालाबाट पौने चार सय स्थानीयको ज्यान गएको थियो।  

प्रकाशित: १९ असार २०७६ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App