डोल्पा – लामो खडेरी भई बालीनाली सुक्न थालेपछि डोल्पामा जलजात्रा गरिएको छ। श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरबाट बाजागाजा शंख ध्वनिसहित भगवतीको निशान निकालेर जलजात्रा गरिएको हो।
पानी नपरेर खडेरीले सुक्खा धानको खेतहरूमा मन्दिरका पुजारी, निशानी, छडीदार र त्रिपुरासुन्दरी नगरपालिका–१ र २ का स्थानीय भक्तजनहरू कुद्ने, पानीका मुहान भएको ठाउँहरूमा गएर पूजाआजा गरिनुका साथै बोका बलि दिने चलन छ।
जलजात्रा निकाल्ने तीन दिनअघि मन्दिरमा स्थानीय महिला पुरुषहरूले भगवतीलाई विभिन्न भाकल गरेर अग्निध्वनि बालेर जागा बस्ने गर्छन्।
मन्दिरमा फेँदमा रहेको सिम कुनामूलस्थित मुहान, रल्ली सिमकुना मुहान र गल्लीस्थित भगवतीको गुठी जग्गामा रोपिएका धान खेतहरूमा हिलो खेलेर आकासतर्फ मन्दिरमा नित्यपूजा गरेको जल छर्कने गरिन्छ।
मानव उत्पत्तिको समयमा त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेघले समेत तपस्या गरेको हिन्दूहरूको आस्थाको धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा समेत वर्णन गरिएकाले पनि भगवतीलाई वर्षात्का देवीको रुपमा समेत लिने गरिएको मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताए। रामनवमी र विजया दशमीबाहेक अन्य समयमा मूल मन्दिर बाहिर ननिकालिने निशान जलजात्राको समयमा मात्र निकालिने गरिएको उनको भनाइ छ। यसो गरेमा जस्तोसुकै खडेरी परे पनि वर्षात् हुने जनविश्वास छ।
प्रकाशित: १६ असार २०७६ १०:४३ सोमबार