८ वैशाख २०८१ शनिबार
समाज

कालोपत्रेमाथि ग्राभेल !

पुरानो भन्सार रोडको कालोपत्रेमाथि गरिएको ग्राभेलिङ। तस्बिरः पुष्पराज/नागरिक

कैलाली – मध्य असार सुरु भइसक्यो। आर्थिक वर्षको मसान्तमा स्थानीय तहलाई बजेट सकाउन चटारो छ। त्यही चटारोकाबीच धनगढी उपमहानगरपालिकाले पनि खाल्डाखुल्डी भएको कालोपत्रे सडकमाथि नै ग्राभेल बिच्छाएको छ। वर्षात्मा खाल्डाखुल्डीमा पानी जम्ने र हिलो हुने भन्दै धनगढी उपमहानगरपालिका–२, पुरानो भन्सार रोडमा कालोपत्रेमाथि ग्राभेल हालिएको हो।

धनगढी बजारदेखि मोहना आर्यघाट जाने सडक खण्डमा कालोपत्रे नफुटाएरै ग्राभेलिङ गरिएको स्थानीय तपराज ओझा बताउँछन्। ‘बर्खा अगावै काम नगरेको नगरपालिकाले आर्थिक वर्षको मसान्तमा बर्खे झरीसँगै सडकमा ग्राभेलिङ गर्न थालेको छ,’ उनले भने,‘बर्खायाममा झारो टार्नेगरी गरिएको काम गतिलो हुँदैन।’ ग्राभेल भन्दै सडकमा ठूला–ठूला ढुङ्गा विच्छाइएको उनले बताए। ‘स्टक’ गरेर राखिएका नदीजन्य पदार्थलाई महँगोमा किनेर उपमहानगरपालिकाले ग्राभेलिङ गरिएको भन्दै सर्वत्र विरोध सुनिन थालेको उनले बताए। ‘नदीमा सहजै ग्राभेल पाउने बेला काम गर्न छोडेर असार मध्येमा आएर महँगोमा किनी खाल्डाखुल्डी पुर्न असारे कर्मकाण्डी गरिन थालिएको छ,’ उनले भने,‘यो विकासका लागि राम्रो काम हैन।’

आर्थिक वर्षको मसान्तमा स्थानीय तहलाई बजेट सकाउन चटारो छ। त्यही चटारोकाबीच धनगढी उपमहानगरपालिकाले पनि खाल्डाखुल्डी भएको कालोपत्रे सडकमाथि नै ग्राभेल बिच्छाएको छ।

 

असारमा गरेको ग्राभेलिङ दिगो नहुने भन्दै स्थानीयले विरोध जनाएका छन्। ‘अहिले हतारोमा गरिएको ग्राभेलिङ दिगो हुँदैन,’ स्थानीय रामनरेश चौधरीले भने,‘त्यसमा पनि कालोपत्रे नफोडेरै गरिएको ग्राभेल बर्खामा बग्छ र पुनः त्यस्तै हुन्छ।’ उनले खाल्डाखुल्डी भएको कालोपत्रेलाई फोडेर ग्राभेल गर्न सुझाए। पुरानो भन्सार रोडलाई पाँच वर्षदेखि सडक स्तरोन्नतिका लागि माग गर्दै आए पनि हरेक असार मसान्तको समयमा आएर यसरी नै ग्राभेलिङ गरिँदै आएको उनले बताए। आर्थिक वर्षको अन्तिममा  आएर आफू निकट व्यक्तिलाई उपभोक्ता समितिमा राखेर बजेट सक्ने काम भइरहेको उनले आरोप लगाए। सडकमा वडा नम्बर २ को ७ लाख रुपैयाँ बजेटमा ग्राभेलिङ गरिएको हो।

एशीयाली विकास परियोजनाको सहयोगमा सडकलाई कालोपत्रे बनाउने भनेरै यतिका समय विकास नगरिएको बताउँदै वड नम्बर २ का वडाध्यक्ष नरबहादुर बमले भने,‘स्थानीयले सडकमा खाल्डाखुल्डी परेको भन्दै ग्राभेलिङ गरिदिन माग गरेकै आधारमा काम गरिएको हो।’  एसियाली विकास परियोजनाले सडक बनाउने भनेपछि कुनै पनि योजना सो सडकमा परियोजनाले हात झिकेपछि अन्तैको योजनाले ग्राभेल गरिएको उनले बताए।  ‘सो सडकमा ग्राभेलिङका लागि बजेट नै थिएन,’ उनले भने,‘परियोजनाले हात झिकेपछि अन्तैको बजेटलाई यता सारेर ग्राभेलिङ गरेका हौँ।’ उनले कालोपत्रेमाथि परेका खाल्डाखुल्डी पुर्न र बर्खामा जम्ने पानी र हिलो क मगर्न ग्राभेलिङ गरिएको बताए।

 

प्रकाशित: १२ असार २०७६ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App