१५ चैत्र २०८० बिहीबार
समाज

अपहरणमा परेकी बालिकाको ३२ घण्टापछि उद्धार

बुटवल – अपहरणमा परेकी ६ वर्षीया बालिकालाई प्रहरीले ३२ घण्टापछि सकुशल उद्धार गरेको छ।

रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो। अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई बुटवल उपमहानगरपालिका–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं १०३ बाट उद्धार गरेकाे हाे।

प्राप्त सूचनाका आधारमा बालिकालाई कोठामा लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले आज बिहान करिब साढे ७ बजेको समयमा होटलमा छापा मारेर उनलाई सकुशल उद्धार गरेको हो। साथै अपहरणमा संलग्न रहेको आरोपमा  वीरगञ्ज महानगरपालिका–२७ का जयराम दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

दास विगत ९ महिनादेखि पीडितको घर नजिकै रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए। सोही क्रममा बालिकाकी आमासँग चिनजान भएको थियो।

सामान्य चिनजानकै आधारमा दासले विवाहको प्रस्ताव राख्दा महिलाले अस्वीकार गरेपछि घरमा महिलाका पति नभएको मौका छोपेर दासले सोमबार साँझ करिब ८ बजेको समयमा बालिकालाई जबर्जस्ती अपहरण गरेको थापाले जानकारी दिए।  पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: ११ असार २०७६ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App