७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय तहको प्राथमिकताः केबुलकारदेखि अध्यक्ष रोजगारसम्म

वीरेन्द्रनगर नगरपालिकाको पाँचौं नगरसभामा नगर प्रमुख, उपप्रमुखलगायत। तस्बिरः नागरिक

सुर्खेत – सुर्खेतका स्थानीय तहहरूले आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा केबुलकार सञ्चालनदेखि रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्। यहाँका स्थानीय तहहरुले महिलालाई निःशुल्क स्यानेटरी प्याड वितरण, छोरी जन्मखाता, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, कृषि पकेट क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेका छन्।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पाँचतले गुफा हुँदै पलैँटेसम्म केबलकार सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा पञ्चपुरी नगरपालिका–१ को पाँचतले गुफादेखि वडा नम्बर–२ को पलैँतेसम्म केबुलकार सञ्चालनमा ल्याइने उल्लेख छ। ‘केबुलकारको सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौं,’ मेयर उपेन्द्रबहादुर थापाले भने, ‘धार्मिक एवम् पर्यटकीय क्षेत्र भएकाले यहाँ केबुलकारको आवश्यकता महसुस गरेका हौं।’ पाँचतले गुफा पञ्चपुरीको सबैभन्दा अग्लो ठाउँ हो।

यस्तै पाँचतले गुफा नजिकै रहेको सालेकोटडाँडाबाट पलैंतेसम्म प्याराग्लाइडिङ सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ। पर्यटकीय तथा धार्मिक क्षेत्रले नगरपालिका धनी भए पनि आवश्यक भौतिक पूर्वाधार, सडक पहुँच र प्रचारप्रसार अभावले यी क्षेत्र ओझेलमा पर्दै गएका छन्। नगरपालिकाले आफँैले आगामी आर्थिक वर्षदेखि भेरी र कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनमा ल्याउने जनाएको छ।

चिंगाड गाउँपालिकाले बेरोजगार युवालाई रोजगार दिनका लागि ‘अध्यक्ष रोजगार कार्यक्रम’ ल्याएको छ। ६ वटा वडा रहेको चिंगाडले बेरोजगार युवाहरूलाई रोजगार दिनका लागि १७ लाख रुपैयाँ छुट्याएको छ। ‘यो प्रधानमन्त्री रोजगार कार्यक्रमजस्तै हो, यहाँका बेरोजगारहरुलाई काम दिएर ज्याला दिने नीति हामीले ल्याएका छौं,’ गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले भने, ‘६ वटै वडाहरुबाट बेरोजगारहरुको तथ्याङ्क संकलन गरेर उनीहरूलाई काममा लगाउने र कामका आधारमा ज्याला दिन्छौं।’

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरूबाट महिलाहरुलाई महिनामा एक प्याकेट सेनेटरी प्याड निःशुल्क वितरण गर्ने जनाएको छ। यसका लागि नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २० लाख रुपैयाँ छुट्याएको छ।

यस्तै आगामी वर्षदेखि महिलाहरुका लागि ‘महिला सीप विकास केन्द्र स्थापना’ गर्ने, गर्भवती महिलाहरुमा लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकहरुका लागि डेकेयर सञ्चालनमा ल्याउने लगायतका कार्यक्रम राखिएको छ।

आकर्षक नारा

वीरेन्द्रनगर नगरपालिकाले नीति तथा कार्यक्रममा विभिन्न आकर्षक नारा ल्याएको छ।

‘मैले खोजेको अधिकार, मेरा लागि महिला स्वरोजगार’ अन्तर्गत महिलाका लागि सीप विकास प्रशिक्षण स्थापना गर्ने र स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

‘सुन्दर नगर बनाउँ मिलीजुली, सडक तथा घरमा बत्ती झिलिमिली’ भन्ने नारालाई आत्मसात् गर्दै हालसम्म विद्युत् प्रसारणलाइन विस्तार नभएका वडा नम्बर–१५ र १६ मा विद्युत् लाइन विस्तार गर्ने उल्लेख गरिएको छ। यसका लागि एक करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।

‘लिँदैन म फोहर, घरमैै बनाउँछु मोहर’ अभियानका साथ नगरपालिकाका केही वडाहरूमा शून्य फोहरउन्मुख नीतिगत तथा संस्थागत क्षमताको विकास गरिने उल्लेख छ। आगामी आर्थिक वर्षमा कम्तीमा २५ वटा टोलको फोहर संकलनमा कम्तीमा ५० प्रतिशत कमी ल्याइने उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।

‘एक घर, दुई विरुवा, हामी सबै कुरुवा’ कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने उल्लेख छ। वडा समितिको नेतृत्वमा वडाभित्र भएका घरधुरी संख्याको कम्तीमा २५ प्रतिशत घरधुरी बराबरको संख्यामा वडाका सडकहरूमा वृक्षारोपण गरी संरक्षणको व्यवस्था मिलाइने उपमेयर ढकालले बताइन्।

‘सेवा दिने घरघरबाट, सरकारी काम कम्प्युटरबाट’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै प्रविधिमैत्री नगरको अवधारणालाई एकीकृत सफ्टवेयरका माध्यमबाट कर प्रणाली, बजार निगरानी, नक्साको डिजिटलाइजेसन, योजनाको सम्झौतालगायतका डिजिटल नगर प्रोपफाइल तयार गरिने उल्लेख छ।

‘बच्छ कागज, कम्प्युटरमै मगज’ भन्ने अवधारणाका साथ नगरपालिकाका अन्तरशाखा विद्युतीय सञ्चार सञ्जालको व्यवस्थाका साथै विद्युतीय हाजिरी वडा, विद्यालय, स्वास्थ्य संस्थामा पु¥याइने छ।

प्रकाशित: १० असार २०७६ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App