७ वैशाख २०८१ शुक्रबार
समाज

६० करोड लागतमा शान्तिस्थल बन्दै

भैरहवा- विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने सक्ने गरि लुम्बिनीमा शान्ति स्थलको रुपमा “महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस” निर्माण सुरु भएको छ।

सुन्दर संरचना, वरिपरि बगैचा, ध्यान केन्द्र आधुनिक सभाहल, पुस्तकालय, अनुसन्धान केन्द्र लगायतको सुविधा सहित गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा निर्माण गरिने “महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस” ले लुम्बिनी लाई विश्वमा अझै सशक्तरुपमा चिनाउन भूमिका खेल्ने छ। शान्तिको खोजमा भौतारि रहेकाहरुलाई उत्कृष्ट गन्तब्य हुने यसको परिकल्पनाकारको दावी छ।

धर्म गुरु श्याल्पा तेञ्जिन रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको ‘महाशिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिसको निर्माणको काम लुम्बनीमा धमाधम अगाडि बढेको छ।

सन् २०१३ बाट अघि सारिएको “महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस” को अवधारणालाई सार्थक रुप दिन रिन्पोछेले लुम्बिनीमा पृथक सोच र शैलीबाट सेन्टर निर्माणको काम अगाडि बढाएका छन्।  धर्म गुरु रेन्पोछेले युनिभर्सल पिस निर्माण गर्नको लागि एक व्यक्ति एक रुपैयाँको अभियान समेत अगाडि सारेका छन्। विश्वभर शान्तिको सन्देश थप फैलाउने उदेश्यको साथ निर्माण गर्न लागिएको सेन्टरको लागि रिन्पोछेले थाइल्यान्ड, हङकङ, मलेसिया, चीन, भियतनाम, इन्डोनेसिया, सिंगापुर, भारत, बेलायत, अमेरिकाजस्ता देशका प्रभावशाली व्यक्तिहरु भेटेर सहयोगको आग्रह गरेको बताए।

गैरनाफामूलक संस्था बेन्चेङ गोन्झुले यस केन्द्रको निर्माण कार्यको जिम्मा लिएको छ। यसको डिजाइन मलेसियाको एसडिएसडिएनविएचडीले गरेको हो। निर्माण परियोजनाको इन्जिनियरिङ परामर्शदाताको काम पनि सोही कम्पनीले गरेको हो। आयोजनालाई पारदर्शी बनाउनको लागि लेखाको जिम्मा विश्व प्रसिद्ध लेखा कम्पनीले डिलोएटलाई दिइएको उनले बताए।

स्यान्क्चुरीको बाहिरी संरचनाले फक्रदै गरेको कमलको फूललाई प्रतिनिधित्व गर्नेछ। त्यसैगरी स्यान्क्युरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गरेका भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ।

यस केन्द्रमा एक हजार पाँच सय सिट क्षमता भएको एउटा अन्र्तराष्ट्रियस्तरको सभाकक्षको निर्माण गरिनेछ। यस केन्द्रभित्र सामुहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने छ। साथै विशेष ठूला ध्यान कक्षहरुको समेत व्यवस्था गरिएको हुनेछ। अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय बर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भुकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको छ।

सेन्टरमा द युनिभर्सल पिस पुस्तकालय रहनेछ। जसमा भगवान बुद्धले दिएका ज्ञानको संकलन गरिनेछ। उनले दिएका प्रवचन समेटिएका वा तीमाथि गरिएका व्याख्यानहरुको संकलन भएका पुस्तकहरु संकलन गरिनेछ। बुद्धको जीवन यात्रा, उनले पार गरेका ज्ञानका श्रंखला र कसरी जीवनमा सही ढंगले यात्रा गर्नुपर्छ भन्ने आशय भएका प्रवचनहरु समेटिएका विभिन्न थाङका पेन्टिङहरु पनि संकलन गरिने उद्देश्य राखिएको छ। त्यसैगरी बुद्धका अमुल्य, मुर्तिहरु, पवित्र बौद्ध धार्मिक ग्रन्थहरु र धार्मिक अनि सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुहरुको संग्राहालय पनि रहेनछ।

 

प्रकाशित: १० असार २०७६ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App