२९ असार २०७७ सोमबार
समाज

न घर फिर्ती न पुनर्वास

दमक - झापाको बेलडाँगीस्थित भुटानी शिविरमा २७ वर्षदेखि बसेका हर्कजंग सुब्बा अहिले ७० वर्ष नाघिसके। उनी शिविरभित्रको कष्टप्रद समय भोग्न तयार भए, अमेरिका मोहमा परेनन्। घरमा उनी र पत्नी मात्र छन्, छोराछोरी, नातिनातिना सबै अमेरिकातिर। रोगी भएकाले छोराले कहिलेकाहीं अमेरिकाबाट उपचार खर्च पठाउँछन्। एकाघरका ८० जना अमेरिका पुगिसक्दा पनि उनी भने कुनै दिन भुटान फर्कन पाइने आशामा शिविरको कष्टलाई पनि प्रिय ठानेर बसेका हुन्। तर भुटान फर्कने कहिले हो, कुनै टुंगो छैन।

तेस्रो मुलुक पुनर्वासका सबै कार्यक्रम सकिएपछि शरणार्थी शिविरमा अहिले वृद्धवृद्धा र भुटानै जान चाहने मात्रै छन्।

‘शरणार्थीसम्बन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) ले शरणार्थीलाई फाराम पनि भरायो। शिविरभित्रका शरणार्थीको हिसाबसमेत निकाल्यो,’ उनले भने, ‘अब त भुटान फर्काउन पहल गर्छ कि ?’ झापाको बेलडाँगी र मोरडको पथरी शनिश्चरे शिविरमा ६ हजारको संख्यामा भुटानी शरणार्थी छन्। ती स्वदेश फिर्ता हुने भन्ने आशाले बसेका हुन्। ‘अब मैले अमेरिका गएँ भने त आफ्नो घर फर्कने कहिले ?’ सुब्बाले भने, ‘पारिवारका सदस्य अन्यत्र गए तर म त भुटानै जान्छु।’ तर उनले चाहेको जस्तो सहज छैन भुटान फर्कन। शिविरमा अझै ६ हजार हाराहारीमा भुटानी शरणार्थी बस्छन्। तिनले अहिले रासनको सट्टामा नगद पाउन थालेका छन्। ‘अब स्वदेश फर्कन चाहने शरणार्थी मात्रै शिविरमा छन्,’ उनले भने, ‘अरू त भविष्य बनाउन तेस्रो मुलुक पुनर्वास भइसके।’

शरणार्थीले आफ्नो नाम, थर, शिविरको छाप्रो नम्बर, परिवार संख्या, पुरुष–महिलाको संख्या, १८ वर्षमाथि र मुनिको संख्या, सम्पर्क नम्बर, भुटानको स्थायी ठेगाना र अब फर्किन चाहेको स्थानको विवरण भरेका छन्। यूएनएचसीआरले भुटानी शरणार्थीको दीर्घकालीन समाधानअन्तर्गत तीन विकल्प अघि सारेको थियो । जसमा तेस्रो देश पुनर्वास कार्यक्रम सफल भइसकेको छ । भुटानी शरणार्थीका लागि सन् २००८ देखि पुनर्वास थालिएको थियो । ‘नेपालमा शरणार्थीका रूपमा रहेका १ लाख १३ हजारभन्दा बढी भुटानी अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्ड्स पुगेका छन् । तिनले दुई दशकसम्म शिविरमा कष्टकर ढंगले जीवन व्यतीत गरे,’ भुटानी शरणार्थी शिविर बेलाडाँगीका पूर्वसचिव डिबी सुब्बाले भने, ‘कति सपना साकार पार्न गए, कति जीविकाका लागि गए।’ गएका मध्ये अधिकांश नेपालमा जन्मिएका हुन्। तर सुब्बाजस्तै शिविरमा बस्नेको भविष्य अब के भनेर कसैले जवाफ दिन सकेका छैनन्। ‘नेपालमै राख्ने कुरामा हामी सहमत हुन सक्दैनांैे,’ सुब्बाले भने, ‘तर अब हामी हाम्रो देश भुटानै फर्कन चाहन्छौं।’ त्यसका लागि नेपाल, भारत र भुटानबीचको त्रिपक्षीय वार्ता आवश्यक रहेको उनको बुझाइ छ।

शिविरमा अहिले वृद्धवृद्धा र भुटानै जान चाहने मात्रै छन्। तेस्रो मुलुक पुनर्वासका सबै कार्यक्रम सकिएका छन्। ‘अब शरणार्थीको समस्या समाधानका लागि सबैले सोच्ने बेला आएको छ,’ पूर्वसचिव सुब्बाले भने, ‘अब बाँकी शरणार्थीलाई स्वदेश फर्कन दिइनुपर्छ। शिविरका अधिकांश ज्येष्ठ नागरिकको माग पनि त्यही छ।’ भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका संयोजक सन्तवीर घले पनि स्वदेश फर्कनै भनेर अड्डी कसेर बसेका छन्। ‘परिवारका सबैजसो अमेरिका गए तर म भुटानमै मर्ने हो भनेर गइनँ,’ उनले भने, ‘अब त भुटान नपुगी यतै मरिन्छ जस्तो छ।’ उनले भुटान फर्कन पाउने आशामा हरेकपटक प्रधानमन्त्री, भारतीय प्रधानमन्त्रीलाई चिठी लेखे। तर कसैले पनि उनको चिठीको प्रतिक्रिया दिएनन्। ‘यसपटक पनि बिम्स्टेक सम्मेलनमा सबैको ध्यानाकर्षण गराउन चिठी लेखे,’ उनले सुनाए, ‘न भुटानी शरणार्थीको मुद्दा उठयो न स्वदेश फिर्तीको।’ त्यहाँ उनीहरूका मागबारे कुनै छलफल भएन। ‘भुटानीको एउटै माग स्वदेश फिर्ती हो,’ उनले भने, ‘अब स्थानीय तहमा समायोजन गर्ने विकल्प मान्य हुन सक्दैन।’ अहिले शरणार्थीलाई अहिले बसेकै ठाउँमा समयोजन गर्ने हो कि भन्ने पीरले झनै सताएकोे छ।

तर शरणार्थीहरू दातृ निकायको गतिविधिप्रति सशंकित छन्। शिविरमा अहिले कक्षा ८ भन्दा माथि पढाइ हुन छाडेको छ। ‘हामी भुटानै फर्कने भनेर अहिलेसम्म पर्खेर बसेका छौं तर समस्या समाधानका लागि भुटानले चासो दिएको छैन,’ उनले भने, ‘नेपालले दबाब दिएर पनि समस्या समाधान गर्नुपर्छ।’
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर। शरणार्थीको संंख्या घटेसँगै सो शिविर अहिले सुनसान हुँदै गएको छ। तस्बिर ः युवराज÷नागरिक

प्रकाशित: १० असार २०७६ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App