८ वैशाख २०८१ शनिबार
समाज

पौडेलको इन्काउन्टर कि हत्या ?

काठमाडौं - प्रमुख सत्तारूढ दलकै सांसदले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुमार पौडेललाई भिडन्तका नाममा हत्या गरिएको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालले जबाफ दिएपछि प्रमुख सत्तारूढ दल नेकपाकै सांसदले आपत्ति जनाएका छन्। उनीहरूले एकतर्फी गोली हानेर पौडेललाई मारेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेकपाका सांसदहरू यशोदा सुवेदी (गुरुङ) र रेखा शर्माले झोलामा पेस्तोल भएको व्यक्तिसँग कसरी मुठभेड भयो भन्दै गृहमन्त्री थापा र आइजिपी खनालसँग जवाफ मागे। ‘झोलामा भेटिएको पेस्तोलबाट कसरी मुठभेड भयो ?’ सांसद सुवेदीले प्रश्न गरिन्, ‘बोकेको पेस्तोलबाट दोहोरो फायरिङ हुन्छ ? सरकार द्वन्द्व नियन्त्रण वा बढावा के चाहिरहेको छ ?’
सत्तारूढ नेकपाकै सांसद महेश्वरजंग गहतराज, समाजवादी पार्टी नेपालका सांसद रामसहायप्रसाद यादवलगायतले विप्लव समूहलाई शान्तिपूर्ण मूलधारमा ल्याउनुपर्नेमा विवादास्पद इन्काउन्टरले परिस्थिति थप जटिल हुने बताए। प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले गृहमन्त्रीले विगतको द्वन्द्व भुलेको आरोप लगाइन्।

गृहमन्त्री र आइजिपीको जवाफमा सत्तारूढ सांसदकै आपत्ति

देशलाई अशान्ति र द्वन्द्वमा जानबाट रोक्न सरकारले संयम अपनाउनुपर्ने सुझाव उनको थियो। कांग्रेसकै सांसद मीना पाण्डेले पौडेललाई प्रहरीले पेसेवर अपराधीलाई पैसा दिएर मार्न लगाएको आशंकासमेत रहेको बताइन्। ‘पौडेललाई यातना दिएर बर्बर तरिकाले हत्या गरिएको कुरा शवबाटै पुष्टि हुन्छ,’ उनले इन्काउन्टरमाथि प्रश्न उठाउँदै भनिन्, ‘हात भाँचिएको, जीउभरि नीलडाम देखिएको कुराले इन्काउन्टर भनेर कसरी पत्याउने ?’

कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै विप्लव समूहलाई वार्तामा ल्याउनुको सट्टा इन्काउन्टरका नाममा मार्ने विषय गलत भएको बताए। ‘विद्रोही समूहलाई वार्तामा ल्याउन खेलिएको भूमिका यही हो,’ उनले प्रश्न गरे, ‘नियन्त्रणमा लिएर मारिएको विषय के हो ?’ राज्यव्यवस्था समिति बैठकमा सांसदको आरोप अस्वीकार गर्दै आइजिपी खनालले पौडेलको आपराधिक पृष्ठभूमि रहेको बताएका थिए। उनले बाँकी आफैं बुझ्न समितिका सदस्यहरूलाई आग्रह गरेका थिए।

यसैगरी गृहमन्त्री थापाले पौडेललगायतले गोली चलाएपछि प्रहरी टोलीले आत्मरक्षाका लागि जबाफी फायर गर्दा एकजनाको मृत्यु भएको बताए। थापाले बैठकमा भने, ‘अनटेस्ट मोटरसाइकलसहितका दुई मोटरसाइकलमा आइरहेका चार व्यक्तिले प्रहरीलाई लक्षित गरी आफूहरूसँग रहेको हतियारबाट फायर गरेकाले प्रहरी टोलीले आत्मरक्षाका लागि जबाफी फायर गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको हो।’ घटनास्थलबाट बरामद परिचयपत्रका आधारमा मृत्यु हुने व्यक्ति विप्लव समूहको सर्लाही जिल्ला इन्चार्ज बाग्मती नगरपालिका–२ निवासी ४७ वर्षीय कुमार पौडेल भएको खुल्न आएको उनले बताए। समितिको बैठकले पौडेलको मृत्युसम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले छानबिन प्रतिवेदन सात दिनभित्र पेस गर्न निर्देशन दिएको हो।

पौडेल काठमाडौंबाट खटिएको प्रहरीको सुराकी टोलीको कारबाहीमा मारिएको स्रोतको दाबी छ। गत फागुन २८ गते मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सो समूहका नेता–कार्यकर्ता खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विशेष सुरक्षा कार्यदल गठन गरेका थिए। पौडेलमाथि भएको भनिएको इन्काउन्टरलगत्तै पूर्वमाओवादी नेतासमेत रहेका सांसद जनार्दन शर्माले आपत्ति जनाएका थिए। पौडेललाई नियन्त्रणमा लिएर मारिएको भन्दै उनले छानबिनको माग गरिसकेका छन्। राष्ट्रिय मानवअधिकार आयोगले पनि इन्काउन्टरमाथि प्रश्न उठाउँदै घटनाबारे छानबिन भइरहेको जनाएको छ। पौडेल लालबन्दी नगरपालिका–१ को लखन्ती खोलानजिकै बिहीबार मारिएका हुन्। विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेर नियन्त्रणमा लिई पौडेलको हत्या गरेको जनाएको छ। उसले बदला लिने चेतावनी दिइसकेको छ।

यसअघिका केही घटनामा पनि इन्काउन्टरका नाममा पक्राउ गर्दै हत्या गरेको आरोप प्रहरीमाथि लाग्दै आएको छ। गत साउनमा भक्तपुरमा ११ वर्षीय बालकको अपहरणपछि भएको हत्याकाण्डमा पनि प्रहरीले दुई मजदुरलाई इन्काउन्टरका नाममा सफाया गरेको आरोप लागेको थियो। त्यतिबेला गोपाल तामाङ र अजय तामाङ मारिएका थिए। भक्तपुरको डोलेश्वर जंगलमा भिडन्तमा मारिएका भनिएका ती दुईजनालाई भक्तपुरको ठिमीस्थित निर्माणाधीन घरनजिकैको डेराबाट पक्राउ गरेर जंगलमा मारिएको बयान स्थानीयले दिएका थिए। पछि सो घटना त्यत्तिकै सेलायो।

यस्तै तत्कालीन नेकपा एमालेनिकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ४ गते भएको हत्यामा संलग्न भनिएका मनोज पुन र सोमबहादुर आले २०७४ फागुन ९ गते मुठभेडमा मारिएको प्रहरीको दाबी छ। गोवामा भएको भनिएका पुन र आलेलाई नियन्त्रणमा लिएर मारिएको भन्दै विरोध भएको थियो। यसैगरी २०७१ साउन २१ मा तत्कालीन गुन्डा नाइके चरी उपनामले चिनिएका दिनेश अधिकारी महानगरीय प्रहरी अपराध महाशाखाको कारबाहीमा भीमढुंगा जंगलमा मारिएका थिए। प्रहरीले उनी दोहोरो भिडन्तमा मारिएको दाबी गर्दै आएको छ। त्यसको एक वर्षपछि २०७२ भदौ ३ गते अर्का गुन्डा नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठ सामाखुसी कपुरधारामा मारिए। घैंटेलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर अन्य दुईजना पनि घाइते भएका थिए।

प्रकाशित: १० असार २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App