८ वैशाख २०८१ शनिबार
समाज

एउटै गाउँमा ४२ टन मह उत्पादन


चितवन– राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ। जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ। थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन्। त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय व्यवसायीले त्यहाँको मह उठाउने गर्दछन्।

मौरी पालेसँगै धेरैको जीवनस्तर उकासिएको संस्थाका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिए। उनका अनुसार ५० घार मौरी पाल्नेले वर्षमा दुईदेखि तीन लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। कृषकलाई मौरी पाल्न विभिन्न संस्थाले सहयोगसमेत गर्दै आएका छन्। कृषकले यस वर्ष रु २५० प्रति किलोमा मह बिक्री गरेको जनाएका छन्।

हालै मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण मौरी जोन, हरियो वन कार्यक्रम र डाबर नेपालको सहयोगमा गाउँमा मह सङ्कलन केन्द्रसमेत स्थापना गरिएको छ। केन्द्र भवन निर्माण गर्न मौरी जोनले १० लाख रूपैयाँ, हरियो वन कार्यक्रमले १० लाख १२ हजार रूपैयाँ र डाबर नेपालले  दुई लाख ४० हजार रूपैयाँ सहयोग गरेका छन्।

किसानको मह सङ्कलन गरेर सोही ठाउँमा राखिने अध्यक्ष मोक्तानले जानकारी दिए। विसं २०६० पछि स्थानीयवासीले त्यहाँ मौरी पाल्न शुरु गरेका थिए। राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले स्थानीय मौरीपालनमा लागेपछि जीवनस्तरमा सुधार आएको जानकारी दिए। यसले ग्रामीण क्षेत्रबाट शहर पस्नेहरुलाई रोकेको उनको भनाइ छ।

मौरीबाट आम्दानी गर्न थालेपछि स्थानीय तरकारी र पशुपालनतर्फ पनि केन्द्रीत हुन थालेका छन्। मौरीपालक सङ्घ चितवनका अध्यक्ष रोशन पण्डितले जिल्लामा एक वर्षमा पाँच सयदेखि छ सय टनसम्म मह उत्पादन हुने बताए। ग्रामीण बस्ती थाकलटार मौरीको पकेट क्षेत्र रहेको भन्दै उनले चिउरीको महका लागि सो क्षेत्र प्रख्यात रहेको जानकारी दिए।रासस

प्रकाशित: ९ असार २०७६ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App