coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वी पहाडी जिल्ला खडेरीको चपेटामा

पाँचथरको तुम्बेवा गाउँपालिकामा खडेरीले सुकाएको मकैखेती । तस्बिर:नागरिक

पाँचथर -  असारको पहिलो साता सकिँदा पनि पूर्वी पहाडी जिल्लाका बासिन्दाले चर्को खडेरी खेपिरहेका छन्। खडेरीका कारण पाँचथर, तेह्रथुम र धनकुटाका सुक्खाग्रत क्षेत्रमा उम्रिएका मकै बोटमै सुक्न थालेका छन्। खासगरी तमोर नदीले छोएका गाउँपालिकामा चर्को खडेरीको मार छ। खेती लगाएका बारीमा धुलो उड्न थालेको छ। धान रोप्न धमाधम हुने सिजनमा किसान आकासे पानी कुरिरहेका छन्।

बस्तीमा यतिबेला धुलो उडिरहेको छ। हरियो देख्न मुस्किल बन्दै गएको छ। तल तमोर नदी बगेको देखिन्छ तर बस्तीहरू खडेरीले उजाडिएका छन्। यसै पनि यी गाउँमा खानेपानीको चरम समस्या छ, त्यहीमाथि चर्को खडेरीले यहाँका बासिन्दाको दैनिकीलाई कष्टकर तुल्याइदिएको छ।

पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिकामा चर्को खडेरीले गाँउ उराठिला बन्दै छन्। जिल्लाका हिलिहाङ, मिक्लाजुङ, फिदिमका कछाडक्षेत्रमा पनि खडेरीको असर परेको छ। यी दुई गाउँपालिकामा पिउने पानी र पशुलाई दिने घाँसको समेत अभाव हुँदै गएको भन्दै किसानले गुनासो गरेका छन्। तेह्रथुमको आठराई, छथर, फुङलिङ, फेदाप गाउँपालिकामा चर्को खडेरी छ। धनकुटाको चौबिसे गाउँपालिकामा पनि उस्तै खडेरीको समस्या भएको स्थानीय बताउँछन्। पशुहरू मर्न थालेको स्थानीयको भनाइ छ।

 गत वर्ष पनि पाँचथर, तेह्रथुम र धनकुटाका सो क्षेत्रमा तीन हजार सात सय ९० परिवार खडेरीबाट पूर्ण रूपमा प्रभावित भएकाले प्रदेश सरकारले राहत वितरण गरेको थियो।

‘मान्छे त रिनपान गरेर खाउँला, चौपायालाई खान दिने कुरा केही भएन। पोहोरपरार पनि यसरी नै खडेरी लाग्थ्यो तर यत्तिको हँुदैनथ्यो। यहाँबाट देखिने पाँचथर, तेह्रथुम, धनकुटाका गाउँ उस्तै खडेरीले डढेका छन्,’ तुम्बेवा गाउँपालिका, रातमाटेका ६३ वर्षीय उदयबहादुर तामाङले भने, ‘पानीको समस्या भोगेको त धेरै वर्ष भयो। खडेरीले पनि हामीलाई बिजोक बनायो।’

वैशाखपछि ती क्षेत्रमा पानी परेको छैन। पछिल्लो डेढ दशकयता तमोरले छोएका गाउँमा धमाधम पानीका मुहान, खोला, सोल्सा सुकेका छन्। हरेक वर्ष हुने खडेरीले विपन्नता बढाउनुका साथै बसाइँसराइ पनि बढेको देखिन्छ। कुम्मायक गाउँपालिकाको तथ्यांक हेर्ने हो भने २०७५ सालमा एक सय ७५ परिवार बसाइँ सरेका थिए।

गत वर्ष पनि तीन जिल्लाका यी क्षेत्रमा तीन हजार सात सय ९० परिवार खडेरीबाट पूर्ण रूपमा प्रभावित भएको भन्दै प्रदेश सरकारले राहतको व्यवस्था गरेको थियो। गत वर्ष तुम्बेवा गाउँपालिकामा ६ सय ७९, कुम्मायक गाउँपालिकामा तीन सय ११, तेह्रथुमको छथरमा आठ सय ४५, म्याङलुङ नगरपालिकामा दुई सय चार, आठराईमा चार सय ८६, फेदाप गाउँपालिकामा ६ सय ३५ र धनकुटाको चौबिसेमा पाँच सय ३१ जना खडेरीले पूर्ण रूपमा प्रभावित भएको तथ्यांक रहेको छ। यो संख्या यसपटक बढ्ने स्थानीय जनप्रतिनिधि बताउँछन्।

प्रकाशित: ९ असार २०७६ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App