coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘न्याय नपाए हेगमा उजुरी दिने चेतावनी’

काठमाडौ - तत्कालीन माओवादीका पूर्व लडाकु लेनिन विष्टले सरकारले न्याय नदिए पुष्पकमल दाहाल र बाबुराम भट्टराईविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालत हेगमा उजुरी दिने चेतावनी दिएका छन्। न्यायको खोजिमा युरोप पुगेर स्वदेश फर्किएका विष्टले न्यायका लागि सरकारलाई तीन महिनाको समय दिएका छन्।

तीन महिनाभित्र आफ्नो माग पूरा नभए तत्कालीन माओवादी लडाकुका कमाण्डर दाहाल र जनसरकार प्रमुख भट्टराईविरुद्ध हेग जाने बताए। ‘हेगमा उजुरी दिन सकिने अवस्था छ तर त्यसभन्दा पहिले मुलुकभित्रैबाट न्यायको अपेक्षा गरेको छु ,’ उनले नागरिकसँग भने।

करिब तीन महिना युरोप बसाइका क्रममा पूर्व बालसैनिकको पक्षमा न्याय माग्दै विभिन्न निकायलाई माग पत्र बुझाएका उनले युरोपियन एक्टरनल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एण्ड साउथ एसिया बर्सेल्स, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघय मानवअधिकार उच्च आयोगलगातयका निकायमा न्याय माग गर्दै निवेदन दिएका छन्।

विष्टले अन्तर्राष्ट्रिय निकायसँग न्याय माग्दै दिएको निवेदनमा पूर्वलडाकुमाथि लागेको अयोग्य लडाकुको बिल्ला हटाउनुपर्ने, ४ हजार ८ पूर्व बालसैनिकलाई जनमुक्ति नेतासरह व्यवहार गर्दै उनीहरूका मागलाई दीर्घकालीन हुनेगरी सम्बोधन गर्नुपर्ने, सरकार र सम्बन्धित निकायले बालबालिकालाई सेनामा भर्ति गर्दा उनीहरूको अधिकार उल्लंघन भएको जिम्मेवारी लिनुपर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताअनुसार बालबालिकाको अधिकार र न्यायलाई सुनिश्चित गर्नुपर्नेलगायतका माग गरिएको छ।

त्यस्तै बालसैनिकहरू शिक्षाको आधारभूत अधिकारबाट बन्चित भएकाले उनीहरुलाई सामाजिक न्यायको सिद्धान्तअनुसार उनीहरूलाई आर्थिक र सामाजिक प्याकेजको व्यवस्था गर्नुपर्ने, उनीहरूलाई स्वाथ्य उपचार, मनोवैज्ञानिक परामर्श, सामाजिक सहायता लगायतको व्यवस्था गर्नु पर्ने विषय उल्लेख गरिएको छ। आफूले निवेदनपछि युएन र युरोपियन युनियनले पनि बालसैनिकको विषयलाई वार्षिक प्रतिवेदनमा राख्ने प्रतिबद्धता व्यक्त गरेको विष्टले जानकारी दिए।

प्रकाशित: ९ असार २०७६ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App