१० आश्विन २०७७ शनिबार
समाज

सरकारले जिम्मेवारी कहिले लिने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा भनेका थिए, ‘सडकमा बाध्यतावश मागेर हिँडेको मान्छे देखे तुरुन्त फोन गर्नुस्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ।’ त्यसपछि आम मानिसलाई लाग्यो– अब सडकमा मानिस मागेको देखिने छैनन्। तर, प्रधानमन्त्रीको घोषणा भाषणमै सीमित भएको छ।

उपत्यकाको सुन्धारा, रत्नपार्क, बौद्ध, पशुपतिनाथ मन्दिर, स्वयम्बु लगायत ठाउँमा बालबालिका मागेर जीवन गुजारा गरिरहेका देखिन्छन्। कतिपय त सडकमै भोकभोकै रात काट्न बाध्य छन्। वृद्धावृद्धा समेत सडकमा मागिरहेका छन्। तर, सरकारले उनीहरूको उद्धार र पालनपोषण गरेको छैन।

बौद्धको परिवर्तन मार्गमा च्यातिएको लुगा लगाएका एक बालक दिनहुँ माग्दै गरेको देखिन्छन्। ती हुन्, आरुबारीका ९ वर्षीय राज तामाङ। उनी केही वर्षअघि नै यहाँ आएका हुन्। उनी अहिले दाइसँगै सडकमा बस्ने गरेको बताउँछन्। ‘यो ठाउँमा बिहान सफा गर्छु। सफा गर्दा कसैले पैसा दिन्छन्,’ उनले भने, ‘खाना पाए खान्छौं। नपाए भोकभोकै बस्छौं। कुनै दिन त अरुले दिएको १०–२० रूपैयाँले चाउचाउ खाएर दिन गुजार्नुपरेको छ।’

उनी आफ्नो पढ्ने चाहना भएको बताउँछन्। ‘कसैले पढायो भने पढ्ने मन छ। पढेर पाइलट बन्ने मन छ,’ उनले भने, ‘तर, सडकमा बस्नेलाई कसले पढाउला ?’
आमाले धेरै जाडरक्सी खाएर पिट्ने गरेपछि भाइलाई लिएर सडकमा आएको उनका दाइ १२ वर्षीय धर्म तामाङले बताए। ‘आमा रात–दिन जाड–रक्सी खाएर हामीलाई पिट्थ्यो,’ उनले भने, ‘घरमा बस्दा खाना पनि भनेको समयमा खान पाइँदैनथ्यो। त्यसैले भाइलाई लिएर घरबाट भागेर सडकमा आयौँ। मागेर भए पनि भाइलाई खाना खुवाउँछु, आफू पनि खान्छु।’

बालबालिका मात्र होइनन्, वृद्धवृद्धा पनि सडकमा बसेर मागिरहेको देख्न सकिन्छ। सर्लाहीका ३३ वर्षीय मंगाल लामा १० वर्षदेखि राजधानीको जोरपाटीस्थित सडक पेटीमा बस्ने गरेका छन्। ‘घरमा आमाबुबा, बहिनी र दिदीको मृत्यु भएपछि एक्लै भएँ,’ उनले भने, ‘हात र खुट्टा राम्रोसँग नचल्ने भएपछि काम पनि गर्न सकिनँ। त्यसपछि सडकमा मागेर खानुपर्ने अवस्था सृजना भयो।’

उनी लामाहरूले नयाँबस्तीमा बेलुकाको समयमा सडकमा बस्दै आएकालाई खाना खुवाउने काम गर्छन। त्यसैले त्यही गएर खाना खान्छन्। खाना सकेको बेला भोकै रात कटाउँछन्। ‘कहिले त्यहाँ जाँदा खाना सकिसकेको हुन्छ,’ उनले भने, ‘त्यो दिन मागेर अरुले दिएको पैसाले बिस्कुट, चाउचाउ खान्छु। पैसा नभएको बेला भोकै सुत्छु।’

जाडो महिना र वर्षायाममा समस्या भोग्नुपर्ने उनले सुनाए। संघसंस्थाले उद्धार गरे जान तयार रहेको उनी बताउँछन्।उनीजस्तै सडकमा सकसपूर्ण जीवन बिताइरहेका अर्का पात्र हुन्, ललितपुर सुनाकोटीका ४४ वर्षीय अर्जुन थापा। उनी चार वर्षदेखि सडकमा मागेर जीवन गुजारा गरिरहेका छन्। उनी पनि वर्षात्को बेला रात बिताउन निकै सकस हुने गरेको बताउँछन्। ‘अहिले दैनिक पानी परिरहन्छ। सडकमा सुत्नै सकिदैन,’ उनले भने, ‘सटरमुनि सुत्दा घरधनीले गाली गर्छन्।’

केन्द्रीय बाल कल्याण समितिका बालसंरक्षण अधिकृत सुनिता राणाले उपत्यकामा करिब सय बालबालिका सडकमा रहेको बताइन्। ‘हामीले कतिपयको उद्धार गरेर विभिन्न संघसंस्थामा राखेका छौं,’ उनले भनिन्, ‘अहिले पनि उद्धार गरिरहेका छौं।’ २०७३ सालदेखि २०७५ सम्मको ९ सय बालबालिकाको उद्धार गरेको उनले बताइन्। उनका अनुसार परिवारबाट अपहेलित भएर, साथीको लहलहैमा लागेर बालबालिका सडकमा माग्ने गरेको पाइएको छ। सडकमा बस्ने मानिस भुइँमै सुत्ने गर्छन्। त्यसकारण उनीहरूलाई चिसोसँग सम्बन्धित रोग लाग्ने गरेको छ। सडकमा बस्ने मानिसलाई चिसोसम्बन्धी रोग लागेर मृत्यु हुने गरेको सरोकारवाला संघसंस्था बताउँछन्।

प्रकाशित: ७ असार २०७६ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App