coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरबाटोदेखि चर्पीसम्म

जुम्ला - जुम्लाको चन्दननाथ भैरवनाथ गुठी समितिको जग्गा अतिक्रमण रोकिएको छैन। गुठीको जग्गामा सार्वजनिक मोटरबाटो बनाउनेदेखि निजी चर्पी बनाउनेसम्मको कार्य भइरहेको छ। २०५२ सालयता नापी भएको तथ्यांक हेर्ने हो भने तत्कालीन तलिउम, चन्दननाथ, गज्र्याङकोट र देपाल गाउँमा मात्र गुठीको जग्गा भएको देखिन्छ। तर २००६ सालको लगतअनुसार हुम्ला, बाजुरा, जुम्लाको रिनी, जोगिबाडा र कालिकोटमा पनि गुठीको जग्गा भएको देखिन्छ। तर त्यो गुठीको जग्गा अहिले व्यक्तिगत भइसकेको छ। उनीहरू चन्दननाथ भैरवनाथ गुठीको नाममा राजस्व तिर्छन्। जग्गा किनबेच गर्न सहजै पाउँछन् तापनि त्यो जग्गाको अहिले कुनै हिसाबकिताब छैन।

गुठीको बाँकी जग्गा लिजमा र अधियाँमा दिइएको छ। अहिले गुठीको नाममा एक लाख २२ हजार ६ सय ५टर जग्गा भएको लालपुर्जा छ। जसमा चन्दननाथ नगरपालिकाको डाँडाकोट, भारतिबाडा र सिमखाडामा ६४ हजार तीन सय चार वर्गमिटर जग्गा छ। यहाँको जग्गा ठूलो मात्रामा अतिक्रमण भइरहेको छ। सार्वजनिक मोटरबाटो बनाएर गुठीको जग्गा नाश गरिएको छ। यसैगरी गज्र्याङकोट, देपालगाउँ, तलिउम र महतमा ९ हजार ९ सय ९० वर्गमिटर र चन्दननाथ भैरवनाथ मन्दिरआसपासमा ४८ हजार तीन सय ५६ वर्गमिटर जग्गा छ। तीन कित्ता जग्गाको लालपुर्जा आउन बाँकी रहेको गुठी समितिका खरिदार रत्नप्रसाद आचार्य बताउँछन्। उनका अनुसार मन्त्रिपरिषद्ले फुकुवाका लागि मालपोत कार्यालयमा पत्र नपठाउँदा यो जग्गा नाममा लिन सकिएको छैन।

२०६८ मंसिर २० गते मालपोत कार्यालयले गुठीको जग्गा अतिक्रमण भएको विवरण पठाएको थियो । अतिक्रमण बढिरहे पनि यस विषयमा जिल्लाका सरोकारवाला मौन रहेको स्थानीयको गुनासो छ ।

जुम्लाबाहिरको जग्गाको अवस्थाबारे गुठी समितिलाई कुनै जानकारी नभएको गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकाय बताउँछन्। ‘जिल्लाभित्रका अधिकांश गुठीको जग्गा अतिक्रमणमा परेको छ,’ उनले भने, ‘पटकपटक रोक्ने प्रयास गरिए पनि सफल हुन सकेन। राज्यका संयन्त्रले सहयोग गरेन।’ गुठीको सेराज्युलो र आसपासको जग्गा पनि अतिक्रमणमा परेको छ । अतिक्रमणमा परेको जग्गा फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई पटकपटक पत्राचार गरेको भए पनि सुनुवाइ हुन नसकेको गुठी समिति बताउँछ। गुठीको जग्गामा अतिक्रमण गर्ने कार्य बढ्न थालेपछि कालीबहादुर थापाको संयोजकत्वमा अध्ययन टोली गठन भएको थियो। टोलीले २०७१ जेठ २५ गते गुठी व्यवस्थापन समितिमा प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा साविक गज्र्याङकोट तथा अहिले गुठीचौर गाउँपालिकामा रहेको तीन हजार पाँच सय ७३ वर्गमिटर जग्गामा पाँचजनाले घर बनाएको पाइएको छ। टोलीको प्रतिवेदनअनुसार दलजित बुढा, गंगा बुढा, कालीबहादुर बुढा, हंश बुढा, दीपबहादुर कामी र पूर्ण बुढाले व्यक्तिगत घर निर्माण गरेका छन्।

चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा व्यक्तिले प्रयोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । गुठीको जग्गामा चन्दननाथ–३ का बिर्खबहादुर स्वाँरले घरसम्म जाने बाटो निर्माण गरेका छन्। चन्दननाथ–४ डाँडाकोटमा सार्वजनिक मोटरबाटो र विद्युत् पोलसमेत गाडिएका छन्। चन्दननाथकै प्रवीण श्रेष्ठले बारी र शौचालय, पारस महत, विनोद शेरचन र नवराज गिरीले शौचालय, पदम खत्रीले घर, बारी र शौचालय तथा प्रभा श्रेष्ठले बारी बनाएका छन्। अतिक्रमित जग्गामा वसुन्धरा नगरकोटीले टहरो बनाएका छन्। गुठीको जग्गामा तिल सुनार र दत्त सुनारले टहरा निर्माण गरिसकेका छन्।

२०६८ मंसिर २० गते मालपोत कार्यालयले गुठीको जग्गा अतिक्रमण भएको विवरण पठाएको थियो । अतिक्रमण बढिरहे पनि यस विषयमा जिल्लाका सरोकारवाला मौन रहेको स्थानीयको गुनासो छ । २०३६ सालमा स्थापित गुठी व्यवस्थापन समितिले अहिलेसम्म पनि अतिक्रमणबाट जग्गा बचाउन सकेको छैन ।

अतिक्रमित जग्गाको प्रमाण ल्याउन गुठी समितिले ताकेका गरेको छ। कुनै प्रमाण नभईकन अतिक्रमण भएको भेटिएको खण्डमा आफ्नो जग्गा नियन्त्रणमा लिई जग्गा हडप्नेविरुद्ध कानुनअनुसार अघि बढ्ने चेतावनी दिएको छ। पछिल्लो समयमा चन्दननाथ भैरवनाथ गुठी समितिका उपाध्यक्ष दया खत्रीको संयोजकत्वमा गुठीको जग्गा खोजबिन समिति बनेको छ। समिति अहिले जग्गा अतिक्रमित भएको ठाउँमा पुगेर छलफल चलाइरहेको छ। ‘अधिकांशले एक साताभित्र सम्झौता गर्न गुठी समितिमा आउने वचन दिएका छन्,’ खरिदार आचार्य भन्छन्, ‘एक हप्तामा सम्पर्कमा नआउनेलाई कानुनबमोजिम अघि बढ्न्े चेतावनी दिएका छौं।’

समितिले व्यापार व्यवसायीले भाडामा टहरा लिएर दुरुपयोग गरेको भन्दै कडाइ गरेको छ। चन्दननाथ भैरवनाथ मन्दिरको टहरामा ग्यास र सिसाजन्य वस्तु बिक्री गर्न पाइनेछैन। सरकारले अवैधानिक ठानेको कुनै पनि चिजवस्तु बेच्न पाइनेछैन। टहरामा सम्झौता गरेको व्यक्तिबाहेक अर्कोले बस्न पाउनेछैन। गुठी समितिसँग लिजमा लिएको जग्गाको भाडासमेत तिर्न मानेका छैनन्।

प्रकाशित: ५ असार २०७६ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App