८ वैशाख २०८१ शनिबार
समाज

अनुदानको खाद्यान्न बाटोमै केही बिक्री, केही गोदाममा कुहिँदै

खाद्यान्न गोदाममा पानी परेर चामल कुहिए पछि घाममा सुकाई राखेको कुहिएको चामल। तस्विरः सुमन मल्ल/मुगु

मुगु– नेपाल खाद्य संस्थान सोरुकोट  डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ।  नेपाल खाद्य संस्थान शाखा कार्यालय गमगढीबाट सोरुकोटका लागी पठाइएको चामल सोरु गाउँपालिका वडा नम्बर ८ बाटै विक्रि हुने गरेकोे खुलासा भएको हो।

यसरी बाटोबाटै ठेक्केदारले मनोमानी रुपमा चामल बिक्री गरेपछी स्थानीयले अनुदानको चामल नपाएको बताएका छन्। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्का मार्फत डिपोमा वर्षेनी ल्याउने गरिन्छ। तर ठेकेदारले मनोमानी नाफा कमाउने उद्देश्यका साथ अनुदानको चामल विक्री गर्ने गरेको स्थानीयको भनाइ छ।

सोरु गाउँपालिका जनताले चामल नपाउँदा अनुदानको चामल भने बाटोमा विक्री गरेको पाइएको छ। वर्षेनी यहाँ उपलब्ध गराउँदै आएको चामल बाटोमै विक्री–वितरण हुने गरेकाले सोरुकोटका जनताले अनुदानको चामल नपाएको  सोरु गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मानप्रसाद भट्टले बताए। अहिले सोरुकोट डिपोमा खाद्यान्नका लागि दैनिक स्थानीय पुगे पनि चामल नहुँदा रित्तो हात फर्कनु परेको छ। खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट अन्न आयात गरेर दैनिक जीविका चल्दै आएको छ।

यता सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले चामल बाटोमा बिक्रि गरेको आफुलाई थाहा नभएको र बिक्री गरेको भए कार्वाही गर्ने बताए। नेपाल खाद्य संस्थानले सोरुकोट  डिपो र तारापानी वितरण केन्द्रको लागी पठाउनु पर्ने अनुदानको चामल के कत्ति आयो जाँच बुझ गर्ने र माग गरिए बमोजिम अनुदानको चामल नआएको भए ढुवानीको जिम्मा लिइएको ठेकेदारलाई कार्वाही गर्ने अध्यक्ष शाहीले बताए।

सोरुकोट वितरण केन्द्रका लागि चालु आर्थिक वर्षको खाद्यन्न ढुवानीको जिम्मा शर्मा ढुवानी सेवाले लिएको नेपाल खाद्य संस्थानले जनाएको छ। चालु आर्थिक वर्षको लागि सुर्खेतबाट र गमगढी शाखाबाट गरेर करिब चार हजार क्वीन्टल मध्ये चार सय क्वीन्टल मात्र जान बाँकी रहेको शाखा प्रमुख भरतराज खनियाँले बताए। तर खाद्यन्न बीच बाटोमा नै विक्रि भएको भन्ने आफुलाई जानकारी नआएको तथा त्यसको जिम्मेवार स्वयम ठेकेदार नै हुने उनले बताए।

यसैबीच सोरुकोट र कालै डिपोका लागी पठाइएको अनुदानको चामलको गोदाममा पानी पस्दा चामल भिजेर कुहिएको छ। गएको शनिबार रोपाई गर्ने क्रममा खेतमा लगाइएको पानीे  सोरु गाउँपालिका वडा नम्बर ८ तारापानीमा रहेको चामलको गोदामा पसेपछी चामल  सडेको हो। १४ क्वीन्टल बराबरको अनुदानको चामल पानीको भल पसे सडेको गोदाम रेखदेख गर्ने रामचन्द्र तिरुवाले बताए। चामलको गोदाम गहिरोमा रहेको र वरीपरी खेतमा  लगाइएको पानी गोदाम पसेर चामल कुहिर सडेको तिरुवाको भनाइ छ। तिरुवाले चामल विर्ख टमटा (हिमाल ) फुपाजुको खाद्य संस्थानबाट ठेक्का लिएर वितरण गर्न राखेको बताएका छन।

यता नेपाल खाद्य संस्थान मुगु शाखाले चालु आर्थिक वर्षको खाद्यन्न ढुवानीको काम विजय ट्रेड एण्ड सप्लायर्सले लिएको र खाद्यन्न पनि गइ सकेको जनाएको छ। त्यस्तै, कालै वितरण केन्द्रका लागि खाद्यान्न ढुवानीको जिम्मा गुडविल सप्लार्सले लिएको छ। तर कुहिएको खाद्यान्न कुन साल र कुन ठेकेदारको भन्नेमा आफुलाई जानकारी नभएको नेपाल खाद्य संस्थान शाखा मुगुका प्रमुख भरतराज खनियाँले बताए। वितरण केन्द्रसम्म खाद्यान्न ढुवानी गर्ने जिम्मा ठेकेदारको हुने र बीच बाटोमा पानीले भिजेर कुहिने, बाटोमा बिक्रि गरे त्यसको दायित्व सम्बन्धित ठेकेदारले नै लिनु पर्ने शाखा प्रमुख खनियाँले बताए।

प्रकाशित: ४ असार २०७६ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App