१६ चैत्र २०८० शुक्रबार
समाज

डेंगु नियन्त्रण प्रभावकारी हुन सकेन

दमक– झापाको दमक, विर्तामोड, मेचीनगरको चारआली तथा धुलाबारी डेंगुको उच्च जोखिममा देखिएका छन्। ती स्थानमा स्थानीय सरकारले लामखुटेको बासस्थान नष्ट गर्न अभियान थाले पनि प्रभावकारी हुन सकेको छैन।

मुख्य गरी सफा पानीमा बस्ने यो लामखुट्टेका कारण संक्रमण बढेको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चम्लागार्इंले जिल्लाभर अभियानका रुपमा डेँगु संक्रमणसम्बन्धी जनचेतना कार्यक्रम गरिँदै गरेको बताए। उनले सबै स्थानीय सरकारले पनि लार्भा खोज्ने अभियान सञ्चालन गरिरहेको उल्लेख गरे।

मेचीनगरमा संक्रमण दर बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखासहित स्वास्थ्यकर्मीहरूले लार्भा नष्ट गर्न थालेका छन्। लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई शाखाले तीव्र पारेको छ भने चेतनामूलक पर्चा पम्प्लेट वितरण माइकिङ गरिरहेको छ।

स्वास्थ्यकर्मीको अध्ययनले नगरको १३ नम्बर वडाको चारआली तथा १० नम्बर वडाको धुलाबारी पशुहाट आसपाससहित यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको नगरको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले बताए।  शाखाका संयोजक शशीकला राईका अनुसार नगरमा ४ जना डेंगु संक्रमित फेला परेका छन्। चारआलीमा मोटर ग्यारेजमा राखिएका टायर तथा टायर रिसोलिङ गर्ने ठाउँका टायरमा पानी जमेका कारण अत्यधिकमात्रामा लार्भा भेटिएका कारण यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको संयोजक राईले जानकारी दिइन्।

लामो समयदेखि जमेको पानीमा, पानीको ट्यांकी, एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्ने गर्दछ। नगरको स्वास्थ्यकर्मीहरूको टोलीले चारआलीमा रहेको ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँको अनुगमन गर्दा लामो समयदेखि टायरमा जमेको पानी नफ्याँक्दा त्यहाँ लार्भा भेटिएको र नष्ट गरेको थियो।

संयोजक राईका अनुसार सहरमा बसोबास गर्ने सर्वसाधारणले आफ्नै घर परिसरमा मात्रै पनि सरसफाइमा ध्यान दिने हो भने रोग संक्रमणको जोखिम आधा नै कम हुन्छ। एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायर जस्ता वस्तुमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ। त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने प्लाष्टिकका बट्टाहरू, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनहरूमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्न उनको भनाइ छ।

प्रकाशित: ४ असार २०७६ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App