१५ चैत्र २०८० बिहीबार
समाज

भारतीय गाडीको बढ्दो प्रयोगः ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

सिरहा– सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडीको प्रयोग बढेको पाइएको छ। भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ।

राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन्। प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार भारतीय नम्बरका मोटरसाइकलको १०० रुपैयाँ तथा कार, जिपको दैनिक ४०० रुपैयाँ राजश्व तिर्नुपर्छ। भारतीय नम्बर प्लेटका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्षमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिने कानूनी प्रावधान रहेको छ।

सीमावर्ती बजारसम्म बिहान आएर बेलुकी फर्कंनका लागि शुल्क तिर्न नपर्ने छुट दिइएको छ। भारतसँग सीमा जोडिएका ठाउँमा राजश्व नतिरी वर्षौंसम्म भारतीय नम्बरका गाडी प्रयोग हुने गरेको छ। राजनीतिक दलका स्थानीय नेता, तस्कर तथा व्यापारीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन्।

वास्तविक मूल्यको करीब एक चौथाइ मूल्यमात्र पर्ने भएकाले भारतीय सीमासँग जोडिएका गाँउमा अधिकांशको रोजाइमा भारतीय नम्बर प्लेटका गाडी पर्ने गरेका छन्। पछिल्लो केही समययता जिल्ला ट्राफिक कार्यालय सिराहा लहान मातहतका ट्राफिक प्रहरी चेक पोष्टले भारतीय नम्बर प्लेटका गाडीलाई जाँचको कार्यलाई तीव्रता दिएका छन्। रासस

प्रकाशित: २ असार २०७६ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App