१५ चैत्र २०८० बिहीबार
समाज

पास्नीको भोज खाँदा धादिङमा ३० जना बिरामी, १९ अस्पताल भर्ना

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाँदा ३० जना बिरामी परेका छन्। स्थानीय रेशमा आलेको छोराको पास्नी भोज खाएलगत्तै बुधबार रातिदेखि नै बिरामी हुन थालेको स्थानीयले बताएका छन्।

बिरामी परेकाहरुको बुधबार राती देखिनै स्थानीय मेडिकल, स्वास्थ्य केन्द्रमा उपचार शुरु गरिएको थियो। बिहीबार दिउँसोसम्म पनि विरामी निको नभएपछि गाउँलेहरुले उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी ल्याएका छन्। अहिले बिरामीहरुको उपचार भइरहेको छ।

अस्पतालका चिकित्सकका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ। भोज खाएर बिरामी भएका ३० जनामध्ये १९ जना जिल्ला अस्पतालमा उपचारमा राखिएको स्वास्थ्यकर्मी सुजन घलेले बताए।

घलेका अनुसार सोही भोज खाएका सुकौरा र भार्मले गाउँका अरु २० जनापनि बिरामी परेको खबर आएको छ। भोजमा खाएको के खानेकुरामा समस्या आएको हो भन्ने यकिन हुन नसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

एकै पटक धेरै जना एउटै लक्षणबाट विरामी हुनुमा फुड प्वाईजन भएको हुन सक्ने अनुमान गरिएको भएपनि पुष्टि भने नभएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी एवम चिकित्सक कृष्णलाल उप्रेतीले जानकारी दिए।

प्रकाशित: ३० जेष्ठ २०७६ १६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App