७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्वमा फैलियो डेंगु

विराटनगर– सुनसरीको धरानमा फैलिएको डेंगु मोरङमा पनि भेटिएको छ। मोरङको विराटनगर र सुन्दरहरैंचा नगरपालिकामा डेंगुका बिरामी फेला परेका हुन्।

    धरानबाट सुरू भएको डेंगुको संक्रमण प्रदेश १ को राजधानी विराटनगरमा पनि भेटिएको हो। विराटनगरको वडा नम्बर १ र ३ मा दुई जनामा डेंगु फेला परेपछि विराटनगर महानगरपालिकाले डेंगु नियन्त्रण अभियान सुरू गरेको छ। डेंगु नियन्त्रणका लागि औषधि छर्ने र डेंगुको लार्भा पहिचान गर्न स्वास्थ्य प्राविधिकसहितको टोली परिचालन गरेको महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योन्जनले जानकारी दिइन्। योन्जनका अनुसार महानगरपालिकाको वडा नम्बर १ र ३ का डेंगु संक्रमित बिरामीको विराटनगरस्थित नोबेल अस्पताल र विराटनगर अस्पतालमा उपचार भइरहेको छ। विराटनगरभित्र पनि डेंगुका बिरामी भेटिएपछि डेंगु नियन्त्रणका लागि विशेष अभियान थालिएको महानगरकी स्वास्थ्य शाखा प्रमुख योन्जनले बताइन्।

 डेंगु नियन्त्रणका लागि महानगरपालिकाले तालिका नै बनाएर औषधि छर्न थालेको छ। डेंगु संक्रमित लामखुट्टेले दिउ“सो मात्रै टोक्ने भएकाले बिहानको समयमा औषधि छर्न थालिएको छ। बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्न थालिएको महानगरपालिकाले जनाएको छ। ‘डेंगु संक्रमित लामखुट्टेले दिनमा मात्रै टोक्ने भएका कारण बिहान ७ देखि ११ बजेसम्म औषधि छर्कन थालिएको हो’ योन्जनले भनिन्। औषधि छर्केको समयमा खानेकुराहरू छोपेर राख्न नगरवासीलाई आह्वान पनि गरिएको योन्जनले बताइन्।

यसैबीच महानगरपालिकाले डेंगुको औषधि महानगरका १९ वटै वडामा छर्कने तालिका पनि सार्वजनिक गरेको छ। महानगरपालिकाको तालिकाअनुसार बुधबार विराटनगर १, २, ३ र १० नम्बर वडाबाट औषधि छर्किएको छ। बिहीबार १, ३, ४ र १०, शुक्रबार ४, ५, ६ र ७ तथा शनिबार ५, ६, ८ र ९ नम्बर वडामा औषधि छर्कने तालिका सार्वजनिक गरेको छ।

त्यसैगरी असार १ गते ८, ९, ११ र १२ मा, २ गते ११, १२, १३ र १४ मा, ३ गते १४, १५, १६ र १७ मा तथा ४ गते १८, १९ नम्बर वडामा मालाथिन फगी स्प्रे गर्ने महानगरपालिकाको योजना छ। त्यसैगरी डेंगु पूर्वी तराईका सहरहरूमा फैलिन थालेपछि मोरङको सुन्दरहरैंचा, बेलबारी नगरपालिकाले पनि डेंगुविरुद्ध सरसफाइ सचेतनालगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ। मोरङको सुन्दरहरैंचामा पनि ३ जनामा डेंगुको संक्रमण देखिएपछि महानगरपालिकाले डेंगु नियन्त्रणको अभियान थालेको जनाएको छ।

    प्रदेशको राजधानीलगायत तराई क्षेत्रका विभिन्न सहरहरूमा डेंगुको संक्रमण देखिन थालेपछि प्रदेश सरकारले पनि डेंगु नियन्त्रणका लागि ८० लाख रुपैया“ बजेट छुट्याइसकेको छ। यसैबीच बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा बसेको बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ। सरकारले पानी जम्न नदिन झापा, मोरङ र सुनसरीमा व्यापक सचेतना अभियान सञ्चालन गर्ने। झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूले आ—आफ्नो कार्यक्षत्रमा अभियान सञ्चालन गर्ने, विराटनगर, इटहरी, धरान, दमकलगायतका स्थानीय तहहरूलाई निरोधात्मक उपाय अवलम्बन गर्न आग्रह गर्ने निर्णय गरेको छ।

यस्तै महामारी नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयले प्रचारप्रसारको व्यवस्था गर्ने निर्णय गरेको छ। डेंगु प्रभावितको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी तथा मेची अञ्चल अस्पतालमा विशेष व्यवस्था मिलाउने तथा निजी अस्पताललाई पनि आवश्यक प्रबन्ध गर्न आग्रह गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्रोतले जनाएको छ।

यस्तै डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सहयोग र समन्वयको व्यवस्था मिलाउने, नियन्त्रणको प्रगति र समस्याबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालयमा प्रमुख जिल्ला अधिकारीहरूले नियमित रिपोर्टिङ गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App