८ वैशाख २०८१ शनिबार
समाज

धरान डेंगु प्रकोप क्षेत्र घोषणा

वडा नं १८ का अध्यक्षको नेतृत्वमा बुधबार वडा नं १८ मा फगिङ गर्दै टोली। तस्बिरः रोहित राई/नागरिक

धरान– डेंगु रोग नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु रोग प्रकोप क्षेत्र घोषणा गरेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनमा स्वास्थ्य कार्यालयले बुधबार धरानलाई डेंगु रोग प्रकोप क्षेत्र घोषणा गरेको हो। डेंगु ज्वरोको बिरामी देखिएको महिना दिन पुग्न लाग्दा पनि नियन्त्रणमा आउनुको साटो संख्या बढ्दै गएपछि निर्देशनालयले यस्तो निर्देशन दिएको थियो। ‘प्रदेश निर्देशनालयको निर्देशन आएकोले धरानलाई डेंगु रोग प्रकोप क्षेत्र घोषणा गरेर सम्बन्धित निकायहरूमा पत्राचार गरिसकेका छौं,’स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले भने, ‘अब स्वास्थ्य संस्थाहरूले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को गाइडलाइन अनुसार उपचार गर्नुपर्छ। केन्द्रीय सरकारले पनि विशेष ध्यान दिनुपर्छ।’

चिकित्सकहरूका अनुसार सरकारी निकायले नै धरानलाई प्रकोप क्षेत्र घोषणा गरेकोले अब विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उपचार हुन्छ। अब धरानमा डेंगुको बिरामीको लागि कीटको आवश्यकता पर्दैन। उच्च ज्वरो आएको भए र अन्य एक वा दुई लक्षण मिल्यो भने त्यसैको आधारमा डेंगु पोजेटिभ निक्यौल गरेर उपचार गरिने -यापिड रेस्पोन्स टिमका संयोजक डा.विजयराज खनालले बताए। ‘डेंगु नियन्त्रणबाहिर भएर प्रकोप क्षेत्र नै घोषणा भएकोले परीक्षण गरिरहनु पर्दैन, अब लक्षण देखिनासाथ डेंगुको उपचार गरिन्छ,’डा.खनालले भने,‘यसले बिरामी, अस्पताललाई सहज हुन्छ। कीट आवश्यक पर्दैन।’

चिकित्सकहरूका अनुसार धरान प्रकोप क्षेत्र घोषणा भएकोले उच्च ज्वरो आएको र अन्य एक वा दुई सहायक लक्षण भए सिधै डेंगु पोजेटिभ भनेर उपचार गर्नुपर्छ। कीटबाट डेंगु परीक्षण गर्नु आवश्यक नभए पनि रगतको प्लेटलेट, डब्लुबिसी र पिसिबीको टेष्ट भने रगतबाट गर्नुपर्ने डा.खनालले बताए। ‘यो तीन वटा जाँचका लागि कीट चाहिँदैन, रगतबाट हुन्छ। यसले कीटमा लाग्ने खर्च पनि जोगिन्छ। त्यो पनि केस हेरेर गर्नुपर्छ,’उनले भने। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगु रोगबारे धरानको पछिल्लो ३ वर्षको तथ्यांक हेरेर डेंगु रोग प्रकोप क्षेत्र घोषणा गरिएको हो। निर्देशनालयलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले तीन वर्षको डेंगु रोगका बिरामीहरूको तथ्यांक उपलब्ध गराएको थियो। ती वर्षहरूमा न्यून संख्यामा डंगुका बिरामी उपचार गराउन प्रतिष्ठान पुगेको तथ्यांक छ। प्रतिष्ठानले उपलब्ध गराएको तथ्यांक अनुसार २०७३ सालमा १३ जना, ०७४ सालमा १२ जना बिरामी देखिएको थियो भने गत वर्ष(२०७५) ११ जना मात्र बिरामी प्रतिष्ठानमा उपचार गराएका थिए। यस वर्ष भने बिपी प्रतिष्ठान र विजयपुर हस्पिटलमा अफ सिजनमा नै बिरामीको संख्या ५ सय नाघिसकेकोले धरानलाई डेंगु रोग प्रकोप क्षेत्र घोषणा गर्न निर्देशन दिइएको निर्देशक भोगेन्द्र डोटेलले बताए। 

बिपी प्रतिष्ठानको अस्पताल प्रशासनका अनुसार बुधबार दिउँसो करिब ३ बजेसम्मको तथ्यांकअनुसार ४ सय ७४ जनामा डेंगु पोजेटिभ देखिएको छ। यो वैशाख ३१ गतेयताको तथ्यांक हो। कुल १ हजार ५ सय ७४ जनाको परीक्षण हँुदा आएको रिपोर्ट हो। धरानमा डेंगुको प्रकोप देखिएपछि फगिङ र लार्भा नष्ट गर्ने अभियान भइरहेको छ। तर पनि डेंगु नियन्त्रणमा आएको छैन। धरान उपमहानगरपालिका वडा नं १५ र ८ लाई डेंगु संकटग्रस्त वडा घोषणा गरेको थियो। त्यसयता धरानको विभिन्न वडाहरूमा लार्भा नष्ट गर्ने अभियान जारी भए पनि नियन्त्रणमा आउन सकेको छैन।

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App