८ वैशाख २०८१ शनिबार
समाज

‘तेस्रो राष्ट्रिय लोकवार्ता कांग्रेस’ शुक्रबारदेखि

काठमाडाैँ - नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा आगामी शुक्रबार र शनिबार ‘तेस्रो राष्ट्रिय लोकवार्ता कांग्रेस’ सम्मेलन हुने भएको छ। नेपाली पुराना संस्कृतिलाई परम्परागतमुखी मात्र नभइ मानिसको दैनिक जीवनसँग जोड्नका लागि सम्मेलनको आयोजना गर्न लागिएको समाजका अध्यक्ष तुलसी दिवसले जानकारी दिए।

वि.सं. २०५१ मा स्थापना भएको समाज लोकवार्ता तथा संस्कृतिको अध्ययन पश्चात प्राज्ञिक अभ्यास गर्नका लागि निर्माण भएको हो। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली लोक संस्कृतिको पहिचान गर्दै यसको जगेर्ना गर्नका निम्ति अध्ययन गर्दै आइरहेको अध्यक्ष दिवसले बताए।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा ७ सत्रमा विभिन्न जातजातिका ४६ लोकवार्ता र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ। सम्मेलनमा लोकवार्ता तथा अभौतिक सांस्कृतिक सम्पदा, लोकवार्ता तथा विकासका सन्दर्भहरु, लोकवार्ता, लैङ्गिकता तथा शक्ति, पर्यटन तथा सांस्कृतिक उद्योग, लोकवार्ताको राजनीति तथा राजनीतिको लोकवार्ता विषयमा कार्यपत्र प्रस्तुत गरिने छ।

त्यस्तै सम्मेलनमा लोकवार्ता, संस्कृति, लोक साहित्य, समाजशास्त्र, मानवशास्त्र, संगीतशास्त्र, भाषाविज्ञान, पर्यटन, इतिहास, भुगोल, कम्युटर विज्ञान, इञ्जिनियरिङ्ग जस्ता विभिन्न विधासँग सम्बन्धित शिक्षक, विद्यार्थी, अनुसन्धाताले अनुसन्धान र प्रयोग गर्ने साझा मञ्च हुने उनले बताए।

यसअघि समाजले ६ वटा अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन आयोजना गरिसकेको छ। अध्यक्ष दिवसले विभिन्न जातजातिको संस्कृतिको अध्ययन गरेर इतिहासका तथ्यलाई बाहिर ल्याउने ति जातिको लोक जीवनस्तर वृद्धि गर्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

समाजले नेपाली लोकसंस्कृति र परम्परालाई अध्ययन गरेर विभिन्न जातजातिको रहनसहनका पुस्तक र दृश्य प्रकाशन गर्दै आइरहेको छ। पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष अभि सुवेदीले नेपालका पुराना संस्कृतिको अध्ययन गरी सम्मेलनमार्फत संरक्षणका लागि लागि सरकारसँग पहल गरिने बताए। नेपाल पर्यटन बाेर्ड भृकुटीमण्डपमा हुने सम्मेलनमा करिब ८० जना प्रस्तोता तथा सहभागिहरु रहने समाजका सचिव भीम रेग्मीले जानकारी दिए।

प्रकाशित: २९ जेष्ठ २०७६ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App