२४ जेष्ठ २०७७ शनिबार
समाज

अफ सिजनमा डेंगुको महामारी

धरान - गत वैशाख ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत परीक्षणको क्रममा एकजना बिरामीको रिपोर्टमा डेंगु पोजेटिभ देखियो। चिकित्सकहरूको सल्लाहमा उपमहानगरपालिकाले बिपी प्रतिष्ठानका दुईवटा मेसिन मगाएर जोखिम क्षेत्रमा फगिङ (धुँवा फालेर मच्छर मार्ने) गरियो। यसअघि सन् २०१८ र २०१६ मा पनि धरानमा डेंगुका बिरामी भेटिएका थिए। डेंगु संक्रमण भेटिएको क्षेत्रमा फगिङ गरेपछि त्यसबेला नियन्त्रणमा आएको थियो। सोही अनुभवका आधारमा चिकित्सक र जनप्रतिनिधिहरूले यसपालि पनि डेंगु चाँडै नियन्त्रणमा आउला भन्ने आशा गरेका थिए। तर, वैशाख ३१ गतेयता हरेक दिन ज्वरो आएको भन्दै अस्पताल धाउने बिरामीको संख्या बढ्दै गयो भने परीक्षण गर्दा डेंगु पाजेटिभ हुने बिरामीहरू पनि दिन–प्रतिदिन बढ्दै गए। डेंगुका बिरामी कुनै एउटा वडामा सीमित रहेन, वडा १५ मा देखिएको डेंगु संक्रमण अन्य वडामा पनि फैलियो।

निरन्तर फगिङ गरिए पनि डेंगु नियन्त्रणमा आउन नसकेपछि बिपी प्रतिष्ठान र उपमहानगरपालिका गम्भीर बन्यो। फगिङले मात्र नियन्त्रण सम्भव नहुने निष्कर्ष निकाल्दै प्रतिष्ठान र उपमहानगरको सहकार्यमा प्रतिष्ठानका विज्ञ चिकित्सकसहितको ‘¥यापिड रेस्पोन्स टिम फर डेंगु आउट–ब्रेक कन्ट्रोल’ समिति गठन भयो। जेठ १५ गते गठन भएको यो समितिले बृहत् जनपरिचालन गरेर मच्छरका लार्भा नष्ट गर्नुपर्ने भन्दै निरन्तर जनप्रतिनिधिहरूलाई झक्झकाउने काम ग¥यो। ‘धरानमा सन् २०१६ र २०१८ मा पनि डेंगुको केस फाट्टफुट्ट देखिएको थियो। अहिलेभन्दा अघि पनि एक–दुईवटा केस देखियो तर चासोको विषय बनेन,’ ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनाल भन्छन्, ‘यसपालि भने प्रकोपकै रूपमा देखियो र यसप्रति हामी गम्भीर भयौं।’

बिपी प्रतिष्ठानको अस्पताल प्रशासनको वैशाख ३१ गतेयताको तथ्यांक हेर्दा पनि डेंगुले धरानमा महामारीको रूप लिइसकेको छ। अस्पताल प्रशासनका अनुसार शनिबार १२ बजेसम्म आठ सय ५२ जनामा परीक्षण हुँदा दुई सय ८१ जनामा डेंगु पोजेटिभ भएको रिपोर्ट आएको छ। ‘डेंगु नियन्त्रणमा आइराखेको छैन, यो चिन्ताको विषय हो,’ सहायक अस्पताल निर्देशक डा. विकास साहले भने, ‘मानिसहरूलाई अझै जागरुक बनाएर जमेको पानी फाल्न लगाउने र लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ।’

चिकित्सकहरूकै सुझावअनुसार सबैभन्दा बढी प्रभावित वडा १५ र ८ लाई धरान उपमहानगरपालिकाले डेंगु संकटग्रस्त वडा घोषणा गरिएको छ। अहिले ती वडासँगै अन्यमा पनि लार्भा नष्ट गर्ने अभियान चलिरहेको छ। सामान्यतया डेंगु मनसुन (वर्षयाम) पछिको समयमा देखिने गर्छ। वर्षा भएर जम्मा भएको पानीमा लामखुट्टेले पारेको अण्डा परेपछि उसको जीवन–चक्रले निरन्तरता पाउँछ। डेंगु संक्रमित लामखुट्टेले अण्डा परेको भए स्वतः लार्भा, प्युँपा हँुदै लामखुट्टेमा पनि डेंगुको भाइरस हुन्छ। धरानमा भने मनसुन सुरु हुनुभन्दा अगावै (प्रि–मनसुन) मा डेंगु महामारीको रूपमा फैलिएपछि स्वास्थ्य सेवा विभाग, महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखा, स्थानीय तथा प्रदेश सरकारका पदाधिकारी चिन्तित बनेका छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, महाशाखाका शाखा प्रमुख डा.समीर अधिकारीमात्र होइन, प्रदेश १ को सामाजिक विकास समिति, सभामुख र सामाजिक विकासमन्त्रीले पनि गम्भीर चासो देखाउँदै स्थलगत अवलोकनसमेत गरिसकेका छन्। महाशाखाका डा. अधिकारीका अनुसार मनसुनअघि नै डेंगुको प्रकोप देखिएकाले अहिल्यै अण्डा र लार्भा नष्ट नगरिए मनसुनपछि झन् विकराल रूपम लिनसक्नेछ। ‘धरानमा प्रि–मनसुनमा डेंगुको प्रकोप देखिएकाले हामीलाई बढी चिन्ता भएको छ। डेंगुको अण्डा र लार्भा अहिले धेरै छ भन्ने भइसक्यो, यसलाई अहिल्यै नष्ट नगरिए मनसुनपछि अवस्था झन् भयावह हुनसक्छ,’ डेंगुको अवस्था बुझ्न धरान आएको बेला उनले भने।

प्रि–मनसुनमा डेंगु फैलिनुको कारण
धरानमा प्रि–मनसुनमा डेंगुको प्रकोपले महामारीकै रूप लिएपछि सरकारी निकायहरूको पनि ध्यान केन्द्रित भयो। प्रि–मनसुनमै धरानमा डेंगुको प्रकोप किन फैलियो भनी बुझ्न उनीहरूलाई धेरै समय लागेन।

धरानमा खानेपानीको चरम अभाव छ। त्यसैले हरेक घरमा ड्रम, ट्यांक र भाडाहरूमा खानेपानीको जोहो गरेर राखेका हुन्छन् भने होटलहरूले पनि जम्मा गरेर राख्छन्। मोटरसाइकल तथा गाडीका पम्चर बनाउनेहरूले पुराना टायर चाङ लगाएर राख्छन्। तिनमा वर्षको पानी जम्मा भएका हुन्छन्। त्यसरी जम्मा भएको÷गरिएको पानी अधिकतर खुला अवस्थामै हुन्छ। लामखुट्टेको अण्डाले तिनै जमेको सफा पानीमा लार्भाको रूप धारण गरिरहेको हुन्छ। ‘खानेपानी वितरण राम्रो नभएर नै हो, धरानमा घरघरमा पानी जम्मा गरेर राख्ने चलन रहेछ। त्यही नै लामखुट्टेको अण्डाले लार्भा रूप लिइरहेको हुन्छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलले भने, ‘पानी नियमित वितरण गर्ने सिस्टम भए, मानिसले जोहो गर्न नै छोड्छन् र अहिलेको जस्तो परिस्थिति पनि बन्दैन। यो पानी अभावले नै भएको हो।’

समस्या घरमा पानी खुलारूपमा जम्मा गरेर राख्नु मात्र होइन। ¥यापिड रेस्पोन्स टिमले स्थलगत रूपमा हेर्दा थुप्रै ग्यारेज तथा मोटरसाइकल वर्कसपमा राखिएको गाडीका टायर, घरको गमला, एक्युरियम, फुटेको गिलास, बोतलहरूमा पनि पानी जमेर लार्भा बनिरहेको भेटिएको थियो। ‘प्रत्येक घरमा लामखुट्टेको लार्भा लाखौंको संख्यामा भेटिए। मानिसहरूलाई अझै जनचेतनाको खाँचो छ,’ -यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले भने, ‘पानी अभाव छ, जोहो गरेर राखेको पानी फाल्नलाई पनि गाह्रो मान्छन् तर त्यही लामखुट्टेको हजारौं लार्भा भइरहेको हुन्छ।’

मानिसमा यसरी सर्छ डेंगु भाइरस
चिकित्सकहरूका अनुसार लामखुट्टे डेंगुको भाइरस सार्ने माध्यममात्र हो। एडिज लामखुट्टेको नेपालमा दुई प्रजाति देखिएको छ। एउटा एडिज एजिप्टाई र अर्को एडिज अल्वोपिक्टस। एडिज एजिप्टाई नामको पोथी लामखुट्टेको माध्यमबाट डेंगु भाइरस मानिसमा संक्रमण हुन्छ। एडिजको भाले लामखुट्टेले फलफूलको रस मात्र खान्छ भने पोथीलाई अण्डा पार्न मानव शरीरको रगत चाहिन्छ। त्यसैले उसले मानिसको रगत चुस्छ। मान्छे डेंगु संक्रमित छ भने रगतसँगै भाइरस लामखुट्टेमा सर्छ।

संक्रमित लामखुट्टेको अण्डामा स्वतः डेंगु भाइरस संक्रमित भएको हुन्छ। एक महिने जीवनकालमा पोथी लामखुट्टेले आठ सयदेखि हजारवटा अण्डा पार्नसक्छ। ‘डेंगु संक्रमित लामखुट्टेले पार्ने सयौंको संख्यामा अण्डामा पनि स्वतः भाइरस हुन्छ र लार्भा, प्यँुपा हुँदै त्यो लामखुट्टे डेंगु संक्रमित बन्छ। त्यस्तो पोथी लामखुट्टेले फेरि अण्डा पार्ने बेला तागत चाहिन्छ र रगत चुस्दा मानिसमा भाइरस सारिदिन्छ,’ ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. खनालले भने।

धरानमा अहिले महामारीकोरूपमा फैलिएको डेंगुको भाइरस टाइप टु (डेन–२) मात्र भएको पुष्टि भएको छ। बिपी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले नमुना परीक्षण गर्दा टाइप टु भइरसमात्र भएको फेला परेको हो। एकै प्रकारको मात्र भाइरस भेटिएकाले खतरा कम भएको विभागका एसिस्नल प्रोफेसर डा.नारायण भट्टराईले बताए। उनका अनुसार डेंगुको चार प्रकारका भाइरस हुन्छन्। एउटा मात्र प्रकारको भाइरसको संक्रमण हुँदा खासै खतरा हुँदैन। ‘एउटा मात्र भाइरस संक्रमण हुँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र अर्को पटक त्यही प्रकारको भाइरस संक्रमण हुँदा मानिसलाई केही हुँदैन,’ डा. भट्टराईले भने, ‘तर अर्को पटक अर्को प्रकारको डेंगु भाइरसको संक्रमण भयो भने खतरा हुन्छ, सिभियर डेंगु हुन्छ।’

चिकित्सकहरूका अनुसार डेंगुको डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारको भाइरस हुन्छ। अहिले धरानमा डेन–२ भाइरस संक्रमण देखिएको हो। अर्को पटक डेन–२ बाहेकको भाइरस संक्रमण भयो भने खतरा हुने चिकित्सकहरूले औंल्याएका छन्। ‘अहिले देखिएको टाइप–२ भाइरस अर्को पटक हुँदा केही हुँदैन, ज्वरो पनि आउँदैन,’ डा.भट्टराईले भने, ‘तर टाइप–१, टाइप–३ वा ४ आयो भने खतरा हुन्छ।’

‘सर्च एन्ड डिस्ट्र्रोय’ अभियान
धरानमा डेंगुको संक्रमण देखिएलगत्तै फगिङ गर्न थालिए पनि नियन्त्रणमा आउन सकेन। फगिङले वयस्क लामखुट्टेमात्र मार्ने भएकाले ¥यापिड रेस्पोन्स टिम र चिकित्सकहरूले लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्नु नै प्रभावकारी र उचित उपाय हुने बताउँदै आएका छन्। विज्ञ टोलीकै सुझावअनुसार अहिले उपमहानगरपालिका र जनप्रतिनिधिहरूले लामखुट्टेको लार्भा नष्ट गर्न ‘सर्च एन्ड डिस्ट्रोय’ (खोज्ने र नष्ट गर्ने) अभियान अघि बढाइरहेका छन्।

अभियानअन्तर्गत वडास्तरमा जनप्रतिनिधिहरूले टोल विकास संस्था, विभिन्न सामाजिक अगुवाहरूको भेला गर्छन्। त्यो भेलालाई ¥यापिड रेस्पोन्स टिमले लामखुट्टेको बासस्थान र लार्भा पत्ता लगाएर नष्ट गर्ने तरिका सिकाउँछ। त्यसपछि उनीहरू हरेक घरमा पुगेर लार्भा नष्ट गर्ने काम गरिरहेका छन्। बिपी प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीहरूलाई पनि सहज रूपमा उपचार गराउने व्यवस्था गरिएको छ। बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा अलग्गै डेस्क राखिएको छ। कसैलाई डेंगुको लक्षण देखिए ट्रपिकल वार्डमा पठाइन्छ। त्यहीं रगत परीक्षणदेखि उपचारको व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। डेंगु बिरामीको सम्पूर्ण उपचार निःशुल्क गर्न उपमहानगरपालिकाले प्रतिष्ठानलाई पत्राचार गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०७६ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App