coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भीरबाट लडेर एकको मृत्यु

ओखलढुंगा – जिल्लाको ओदेखोला भीरबाट लडेर एकजनाको ज्यान गएको छ। चम्पादेवी गाउँपालिका–२ पलापुको नवलपुरस्थित एक होटलबाट राति नै भागेका सोही गाउँपालिका–७ का ४६ वर्षीय रुद्रबहादुर थापाको बुधबार राति ज्यान गएको हो।

उनीसँगै रहेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने लडेर सामान्य घाइते भएका छन्। उनीहरू काठमाडौंबाट खसी बिक्री गरेर गाउँ फर्किने क्रममा पलापुको नवलपुरमा बास बसेका थिए। सुनकोसी नदीकिनारबाट केही मानिस टर्च बालेर आएको देखेपछि आफूहरूसँग रहेको पैसा लुट्न आएका होलान् भनेर होटलबाट राति नै भागेको घाइते बुढाथोकीले बताए।

मृतक थापाका साथमा १ लाख ५० हजारभन्दा बढी नगद थियो। थापा र बुढाथोकी साइनोले मामा–भन्जा हुन्। भीरबाट दुवैजना लडेको भनिए पनि एउटाको ज्यान जानु र अर्का एकजना सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको स्थानीयले जनाए। चम्पादेवीका अध्यक्ष नवराज केसीले घटनाको प्रकृति हेर्दा असामान्य लाग्ने बताए। ‘घटना सुनियोजित जस्तो देखिन्छ।

थप विवरण प्रहरीको अनुसन्धानबाट खुल्ला,’ अध्यक्ष केसीले भने। घटनाको विषयमा अनुसन्धानका लागि थापासँगै रहेका बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको ओखलढुंगा प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए।

प्रकाशित: २५ जेष्ठ २०७६ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App