८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा आउने पर्यटकको बसाई लम्ब्याउनु पर्नेमा जोड

सुझाव संकलन कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी ।

भक्तपुर– भक्तपुरका उद्योगी व्यवसायी तथा व्यापारीहरुले भक्तपुरमा आउने पर्यटकहरुको बसाई लम्ब्याउन कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्। भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा बिहिबार उद्योगी व्यवसायी तथा ब्यापारीहरुबीच गरेको सुझाव संकलन कार्यक्रममा सहभागीहरुले पर्यटकीय नगर भक्तपुरलाई त्यही अनुसार अगाडि वढाउनुपर्ने आवश्यकता औंल्याए।

भक्तपुर आउने अधिकांश पर्यटक रात नविताई एकैदिनमा फर्कने गरेको बताउँंदै उनीहरुलाई त्यही रात विताउन लगाउन सके पर्यटन व्यवसाय प्रबद्र्धन हुने बताए। सहभागी उद्योगी व्यवसायी तथा व्यापारीहरुले त्यसका लागि नियमित सांस्कृतिक नाचगान प्रदर्शन गर्नुपर्ने सुझाए । साथसाथै उनीहरुले साँंस्कृतिक सम्पदाहरुको संरक्षणमा पनि जोड दिए।

उनीहरुले नगर प्रवेश गर्ने प्रवेशद्वारमा सफा वातावरण तयार गर्नुपर्ने, गःहिटीको नरसिंह मन्दिर जीर्णोद्धार गर्नुपर्ने, भक्तपुर दुधपाटीस्थित नःपुखुको वातावरण सुधार गरी आयआर्जन हुने गरी सदुपयोग गर्नुपर्ने, मल कारखाना खोल्नुपर्ने, बाराही पुल जीर्णोद्धार गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले व्यापारी, उद्योगी र व्यवसायीहरुले नाफामा मात्र केन्द्रित नभई सामाजिक र नागरिक भावना राखेर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताए। नगरका सबै उद्योगी व्यापारीहरु करको दायरामा आएर नगरपालिकालाई सहयोग गरेमा नगरपालिकाको आर्थिक क्षमता वृद्धि भई नगरबासीलाई सेवा सुविधा प्रदान गर्न सजिलो हुने उनले उनले नगरपालिकाले  २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भैरवनाथ मन्दिर जीर्णोद्धार गरिरहेको जनाए। उनले यो सम्पन्न हुनेबित्तिकै पाँचतल्ले मन्दिर पनि जीर्णोद्धार गर्ने बताए। उनले अग्रजहरुले राम्रो मनसायबाट सरसफाइ, पर्यटन, सम्पदा संरक्षण, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा कार्य सुरु गरेकोले अहिले भक्तपुरले उदाहरणीय सफलता प्राप्त गरेको बताए।

नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले अनुसन्धानमूलक शिक्षामा जोड दिंदै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरिरहेको बताइन्। नगरको वर्तमान प्रमुख चुनौतीहरुको सम्बोधन हुने गरी व्यवसायीहरुबाट राय सुझाव प्राप्त हुने अपेक्षा राख्दै उनले व्यवसायीहरुले पनि आ–आफ्नोतर्फबाट सहयोग गर्न आग्रह गरिन्।

नगरपालिकाले झण्डै एक हप्तादेखि प्रत्येक दिन फरकफरक पेशा व्यवसायीहरुसँंग छुुटाछुटै रुपमा बजेट सुझाब संकलन गरिरहेको छ। यस क्रममा विहीबार उद्योगी, व्यवसायी, व्यापारीहरुसँंग सुझाब संकलन गरेको हो।

प्रकाशित: २३ जेष्ठ २०७६ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App