७ वैशाख २०८१ शुक्रबार
समाज

नेपालगञ्जमा राष्ट्रपतिको व्यस्तताः पुजादेखि वृक्षरोपणसम्म

नेपालगन्ज– राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दिनभर बाँकेका विभिन्न कार्यक्रममा व्यस्त भएकी छन्। भण्डारीले बुधबार बिहान नेपालगन्जस्थित बागेश्वरी मन्दिरको पुजा अर्चना गरिन्। मन्दिरका मुल महन्त चन्द्रनाथ योगीका अनुसार पुजा अर्चना गरेर उनले प्रसाद ग्रहण गरेकी थिइन्। योगीका अनुसार राष्ट्रपति भण्डारी बिहान साढे ७ बजेतिर मन्दिरमा प्रवेश गरेकी थिईन्। ‘राष्ट्रपति ज्यूले मन्दिरमा रहेर करिव १५ मिनेट जति पुजा अर्चना गर्नुभयो,’ योगीले भने। भण्डारी राष्ट्रपति भएर पटक–पटक नेपालगन्ज आएपनि उनले यसपटक मात्र मन्दिरमा पुगेर पुजा गरेकी हुन्। सो क्रममा मुल महन्त योगीले मन्दिरको अवस्था, भौतिक संरचनाबारे राष्ट्रपतिलाई अवगत गराए।

मन्दिरमा पुर्जा अर्चना पश्चात राष्ट्रपति भण्डारी बाँकेको बैजनाथ गाउँपालिकामा रहेको प्रभात माध्यामिक विद्यालयको ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्ती समारोहमा पुगिन्। उक्त समारोहलाई सम्बोधन गर्दै उनले शिक्षालाई व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन बिद्यालय र अभिभावकको महत्वपुर्ण भूमिका रहेको बताइन्। मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको उनको भनाई छ।

उनले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्न शिक्षक र अभिभावकको भुमिका महत्वपुर्ण हुने भन्दै सक्रिय भएर लाग्न आग्रह गरिन्। ‘शैक्षिक चेतनाविना सामाजिक विकृतिलाई चिर्न सकिदैन, सामाजिक विकृति र विसंगति अन्त्य गर्न गुणस्तरीय शिक्षा अपरिहार्य छ,’ भण्डारीले भनिन्। उनले राष्ट्रिय गौरवका आयोजना सिक्टा सिँचाइ, भेरी बबई डाईभर्सनलाई पूर्णता दिन सरकारको ध्यानाकर्षण गराइन्। दुबै आयोजना सम्पन्न भएमा बाँके र बर्दियाको कृषि क्षेत्रले फड्को मार्ने उनको विश्वास छ।

विश्व वातावरण दिवस २०७६ को अवसरमा नेपालगन्जमा बुधबारबाट सुरु भएको ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको प्रत्यक्ष असर जेष्ठ नागरिक, बालबालिका, सिमान्तकृत, गरिव तथा विपन्न समुदायमा पर्न गएको बताइन्। हरित गृह ग्याँस उत्र्सजनले पृथ्वीको तापक्रम बढ्न गई बाढी पहिरो, सितलहर, हिउँ, हुरीबतास, असिना पानी, चट्यांक जस्ता प्राकृतिक विपती बेहोर्न बाध्य हुनु परेको राष्ट्रपति भण्डारीको भनाई छ।

कार्यशालाले स्थानीय समुदायलाई वातावरणका बारेमा चेतना अभिवृद्धि गर्न र जलवायु अनुकुलनका क्षेत्रमा काम गर्न थप प्रेरणा प्रदान गर्ने राष्ट्रपति भण्डारीले विश्वास गरिन्। उनले भनिन्, ‘हामी वातावरण संरक्षणका आर्कषक नीति बनाउँछौं, त्यसमा छलफल पनि गर्छौ, तर कार्यान्वयनकावे पक्षमा बढी ध्यान दिनुपर्ने कुरा मैले महसुस गरेको छु।’ मानव जाति लगायत सबै प्राणीलाई श्वास प्रश्वासका अनिवार्य रहेको भन्दै स्वच्छ वातावरण बनाउने सबैको साझा दायित्व भएको उनले जोड दिइन्।

नेपाल उच्च हिम श्रृंखलासहित भुपरिवेष्टित राष्ट्र भएकाले जलवायु परिवर्तनको असरहरुको जोखिम ठुलो मात्रामा बढ्दै आएको भण्डारीले बताइन्। विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भण्डारीले नेपालगन्जस्थित डिभिजन वन कार्यालय परिसरमा वृक्षारोपण गरिन्। राष्ट्रपति भण्डारीले आँपको विरुवा रोपेको कार्यालयका सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए। यसअघि मंगलबार बेलुका राष्ट्रपति भण्डारी मुस्लिम समुदायको रोजा ईफ्तार कार्यक्रममा सहभागी भएकी थिइन्। उनी बिहीबार विहान काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: २२ जेष्ठ २०७६ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App