४ वैशाख २०८१ मंगलबार
समाज

विवाह गर्ने उम्मेरमा सम्बन्ध विच्छेद

महिला हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रमका सहभागीहरू। तस्बिर: लोकेन्द्र/नागरिक

रुकुम -  भुमे गाउँपालिका–८ की सपना (नाम परिवर्तन) अहिले २१ वर्षकी भइन्। १६ वर्षकै उमेरमा उनले परिवारको स्वीकृतिमा विवाह गरिन्। विवाहपछि अनेक किसिमका बाध्यता सुरु हुन थाले। विवाहको एक वर्षमै उनको पहिलो सन्तान छोरी जन्मिइन्। १९ वर्षमा दोस्रो सन्तान छोरी नै जन्मिइन्। अहिले उनी सम्बन्ध विच्छेदको माग गर्दै अदालत पुगेकी छिन्।

श्रीमान्ले लामो सयमदेखि ‘तुरुन्त घर छोड्’ भन्ने गालीगलोज गर्नुका साथै कुटपिट गर्न थालेपछि बाध्य भएर अदालत पुगेको उनको भनाइ छ। उनको सम्बन्ध विच्छेदको मुद्दा अहिले जिल्ला अदालतमा विचाराधीन छ। त्यस्तै जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१० की दीपा घर्तीमगरले ८ वर्षपहिले १५ वर्षको कलिलो उमेरमै प्रेम विवाह गरेकी थिइन्। १६ वर्षको उमेरमा आमा बनेकी घर्तीका पछिल्ला दिन निकै कष्टकर बन्दै गए। दिनभरि काम गर्दा पनि श्रीमान्ले पेटभर खान नदिएको, रातदिन कुटपिट गर्ने गरेको, वैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको बेवास्ता गरेको तथा विभिन्न किसिमका घरेलु हिंसा गरेको भन्दै उनी पटकपटक प्रहरी चौकी पुगिन्। प्रहरीले श्रीमान्–श्रीमतीबीच मेलमिलाप गराएर पठायो। तर उनीहरूको सुमधुर सम्बन्ध भने स्थायी हुन सकेन। अन्त्यमा घर्ती पनि सम्बन्ध विच्छेदका लागि रुकुमकोट जिल्ला अदालत पुगिन्।

त्यसैगरी सिस्ने गाउँपालिका–२ की २१ वर्षीया कमला बुढाका दुई छोरी छन्। १६ वर्षकै उम्मेरमा विवाह गरेकी उनी छोरी च्यापेर अदालत धाउन थालेकी छिन्। श्रीमान्ले अर्की ल्याएपछि अंशसहित सम्बन्ध विच्छेका लागि अदालतमा मुद्दा दर्ता गरेको उनले बताइन्। विवाह गरेको २ वर्षसम्म राम्रो सम्बन्ध भए पनि विस्तारै आफूलाई श्रीमान्ले वास्ता नगरेको उनको भनाइ छ। ‘सुरुमा राम्रै सम्बन्ध थियो, जेठी छोरी १ वर्षकी भएपछि हामीबीच विवाद हुन थाल्यो,’ बुढाले भनिन्, ‘यस्तै झमलाबीच अर्की छोरी जन्मिई, त्यसपछि भने बेवास्ता गर्ने, दैनिक गाली गर्ने, कुटपिट गर्ने, अहिले त अर्को विवाहसमेत गरेका छन्।’

चालु आवमा जिल्ला अदालतमा दर्ता भएका १ सय २६ वटामध्ये ४० वटा मुद्दा सम्बन्ध विच्छेदका छन्। तीमध्ये ६ वटा पुरुषले गरेका उजुरी छन् भने बाँकी ३४ वटा महिलाले हालेका मुद्दा रहेका छन्।

श्रीमान्का साथै परिवार अन्य सदस्यले समेत शारीरिक तथा मानसिक यातना दिन थालेपछि आफूले बाध्य भई अदालतमा मुद्दा दर्ता गरेको उनको भनाइ छ। जिल्लामा यसरी विवाह गर्ने उम्मेरमा सम्बन्ध विच्छेद गर्ने यी त प्रतिनिधि पात्र मात्र हुन्। यहाँका धेरै महिलाले बालविवाहका कारण दुःख पाएको बताउने गरेका छन्। सानै उम्मेरमा विवाह गर्दा विभिन्न हिंसा सहनुपर्ने बाध्यता रहेको भुमे गाउँपालिका–७ की ममता पुनको भनाइ छ। कलिलै उमेरमा विवाह गरेकाले यहाँका थुप्रै महिलाको जीवन दुःखदायी बन्ने गरेको छ। अहिले पनि रुकुममा बालविवाह हुने गरेको छ। बालविवाहका कारण महिलाको शारीरिक तथा मानसिक विकास अवरुद्ध हुने गरेको महिला अधिकारकर्मी अधिवक्ता रचना मल्लको भनाइ छ। उनका अनुसार अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ। बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यानसमेत जाने गरेको उनले बताइन्।

रुकुमकोट जिल्ला अदालतमा चालु आवमा जम्मा दर्ता भएका १ सय २६ वटा मुद्दामध्ये ४० वटा सम्बन्ध विच्छेदका रहेको स्रेस्तेदार सुशीलकुमार यादवले जानकारी दिए। त्यसमा पनि ६ वटा पुरुषले सम्बन्ध विच्छेदको माग गरेका छन् भने बाँकी ३४ वटा महिलाले हालेका मुद्दा रहेका छन्। स्रेस्तेदार यादवका अनुसार मुद्दा दर्ता गर्नेमा धेरैजसो १९ देखि २६ वर्षसम्मका महिला रहेका छन्। विशेषगरी बालविवाहका कारण विवाह गर्ने उमेरका किशोरकिशोरीले सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App